बागमती प्रदेश अनिर्णयको बन्दी
प्रतिपक्षको भूमिका गौण

बागमती प्रदेशसभा बैठक शुभकामना मन्तव्य राखेर अनिश्चितकालका लागि स्थगित भएको छ । ६ महिनापछि बुधबार सञ्चालन भएको बैठक केही मिनेट मात्रै सञ्चालन भएर स्थगित भयो । ७औँ अधिवेशनमा सर्वाधिक चर्चाको विषय थियो, ‘अविश्वास प्रस्ताव’ । तर, प्रदेशसभा बैठक औपचारिकतामै सीमित भएर स्थगित भयो । 

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दाहाल–नेपाल समूहले  पुस १० गते ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । सभामुख सानुकुमार श्रेष्ठले संसद स्थगित गरेसँगै दाहाल–नेपाल समूहले प्रदेशसभामा दर्ता गराएको अविश्वासको प्रस्ताव अन्योलमा परेको छ । बागमती प्रदेशसभा अहिले अनिर्णयको बन्दी बनेको छ ।

‘अविश्वासको प्रस्ताव’को वैधानिकतामै प्रश्न

बिहीबार सभामुख सानुकुमार श्रेष्ठले बोलाएको कार्यव्यवस्था समिति बैैठकमा नेकपाका ओली पक्षका सदस्यहरुले अविश्वासको प्रस्तावको वैधानिकतामै प्रश्न उठाएका छन् । नेकपा संसदीय दलका मुख्य सचेतक केशव पाण्डेले कार्यव्यवस्थामा प्रश्न गरे, ‘अविश्वासको प्रस्ताव भनेर दर्ता गराइएको दस्तावेजमा कहाँनेर मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव भनेर लेखिएको छ ? यसलाई कसरी वैधानिक भन्ने ?’  

उनले अविश्वासको प्रस्तावको सूचना मात्रै आएको दाबी गरेका थिए । उनको प्रश्नपछि दाहाल–नेपाल पक्षले प्रतिप्रश्न गरेको थियो– वैधानिक नभए सभामुखले तोक लगाएर अविश्वासको प्रस्ताव भन्दै प्रदेश सभा सचिवालयमा दर्ता गरेर किन पिजन होलमा हालेको ? 

कार्यव्यवस्था परामर्श समितिमा यसको निष्कर्ष ननिस्केपछि निर्णयको जिम्मा सभामुख सानुकुमार श्रेष्ठले लिनुपर्ने भन्दै समितिको बैठक टुंगिएको थियो । 



सभामुखले टार्न खोजेकाे आराेप  



बिहीबार भएको कार्यव्यवस्था समिति बैठकमा सभामुख सानुकुमार श्रेष्ठलाई ओली समूहबाहेकका प्रदेशसभा सदस्यहरुले र्याख–र्याख पारे । दाहाल–नेपाल समूह र नेपाली कांग्रेसले सभामुखले टार्न खोजेको भन्दै आरोप लगाउनसमेत भ्याएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावका प्रस्तावकसमेत रहेका प्रदेशका पूर्वमन्त्री शालिकराम जमरकट्टेलले सभामुखलार्ई मुख्यमन्त्रीबाट प्रेसर आएको दाबी गर्दै उनको भूमिकामाथि नै प्रश्न उठाएका थिए । 

प्रदेशसभाको अर्को बैठक शुक्रबार बिहान बोलाउन अनुरोध गरेता पनि सभामुखले टार्न खोजेको नेपाली कांग्रेसका सचेतक  छिरिङदोर्जे लामाले बताए । ‘पर्याप्त छलफल नगरी निर्णय नगर्न भन्दै टारेका हुन्, हामी सबै दलले बैठक बोलाउनुभन्दा पनि वास्ता गरेनन्,’ लामाले भने ।  

प्रदेशमा प्रतिपक्षको भूमिका गौण 
 
बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भूमिका देखिएको छैन । बुधबारको संसद बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले नेकपा मिल्नुपर्ने बताएका थिए । बानियाँले भनेका थिए, ‘हामी बोल्ने अवस्थामा छैनौँ, नेकपाले नै सरकार चलाओस्, स्थायित्व देओस् भन्नेमा कांग्रेस छ ।’  

प्रदेशकै सर्वाधिक चर्चाको विषय रहेको विषयमा कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले अहिलेसम्म कुनै पनि निर्णय नगरेको संसदीय दलका सचिव निमा लामा बताउँछन् । दलको बैठक पछिल्लो हप्ता काठमाडौंमा बसेको थियो ।

प्रदेश राजधानी हेटौँडामा अहिलेसम्म कांग्रेसको भूमिकाबारे कुनै पनि औपचारिक छलफल नभएको कांग्रेस सांसद विजया श्रेष्ठ केसी बताउँछिन् । बागमती प्रदेश र १ नम्बर प्रदेशमा सत्ता समीकरणका विषयमा कांग्रेसको केन्द्रीय समितिले टुंगो नदिँदा प्रदेशमा कांग्रेस अहिले मौन देखिएको कांग्रेस सांसद बताउँछन् । 
 

  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार २०:१२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया