दुई नेकपाको तानातानमा कांग्रेस, रामचन्द्रलाई भेट्न पुगे विष्णु पौडेल
फाइल फोटो

काठमाडौं : प्रतिनिधिसभा विघटनसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएपछि केन्द्रदेखि प्रदेशसम्म निर्णायक बनेको कांग्रेस तानातानमा परेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका दुवै समूह अहिले कांग्रेसलाई आफ्नो पक्षमा पार्न जोडतोडले लागिरहेका छन्। 

यस्तोमा ओली समूहसँग निकट सभापति शेरबहादुर देउवा र दाहाल समूहसँग निकट वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउने अभियानमा दुवै समूह छन्। ओलीसँग आक्रोशित र आक्रमक वरिष्ठ नेता पौडेललाई फकाउने अभियानमा अहिले ओली समूह लागेको छ। 

सभापति देउवाले यदि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था भएमा प्रधानमन्त्रीका रुपमा वरिष्ठ नेता पौडेललाई अघि सारेको समाचार आइरहेका बेला ओली समूहका महासचिव विष्णु पौडेल उनको निवास बोहोराटार पुगेका छन्।

शुक्रबार साँझ बोहोराटार पुगेका अर्थमन्त्री र वरिष्ठ नेता पौडैलबीच एक घण्टाभन्दा धेरै कुरा भएको स्रोतले जनाएको छ। एक्ला एक्लै भएको उक्ता वार्तामा भएको कुराबारे विस्तृत केही आइसकेको छैन। तर दाहाल समूहसँग निकट पौडेललाई अर्थमन्त्रीले आफ्नो पक्षमा लचक बनाउन प्रयास गरेको स्रोतको दाबी छ। 

प्रदेश १ र बागमतीमा मुख्मन्त्रीविरुद्ध दाहाल-नेपाल समूहले अविश्वास प्रस्ताव गरेका छन्। बागमतीमा आज संसदमै यो प्रस्ताव सांसद अरुण नेपालले टेबुल गरिसकेका छन्। यस्तोमा यी दुवै प्रदेशमा ओली र दाहाल दुवै समूहलाई सरकार टिकाउन र बनाउन कांग्रेसको साथ चाहिएको छ।

यी दुवै प्रदेशको कांग्रेस नेतृत्व केन्द्रको इशारा कुरेर बसिरहेको छ। सभापति देउवाले बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँलाई शुक्रबार काठमाडौं झिकाएका छन्। दुवै प्रदेशका सकेसम्म आफैँ सरकार बनाउने दाउमा रहेको कांग्रेसका वरिष्ठ नेतालाई प्रधानमन्त्री ओलीका विश्ववास पात्र विष्णु पौडेलले भेट्नुलाई अर्थपूर्ण मानिएको छ।





  • प्रकाशित मिति : माघ ९, २०७७ शुक्रबार १९:३१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया