सर्वोच्चमा शम्भु थापाको प्रश्न : प्रधानमन्त्रीसँग अर्कै संविधान छ र?
प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जिकिर

काठमाडौं : पुस ५ मा भएको प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथि सोमबार पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ। करिब ३ सय वकिलले वकालतनामा लेखाएको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज वरिष्ठ अधिवक्ता शम्भु थापाले सुरुमै बहस गरेका छन्। 

उनले प्रधानमन्त्रीले यही संविधानलाई टेकेर प्रतिनिधिसभा विघटन गरेको भए त्यस्तो कुनै प्रावधान नरहेको व्याख्या गरे। थापाले प्रधानमन्त्रीसँग अर्को संविधान भए मात्रै प्रतिनिधिसभा विघटन सम्भव हुने तर्क गरेका छन्।  

'म नयाँ कुरा गर्छु भन्ने होइन, यत्रो इजलासबाट संविधान पल्टाएर श्रीमानहरूबाट जिज्ञासा आइरहेको छ। संविधान त त्यही हो नि', उनले भने, 'प्रधानमन्त्रीसँग अर्कै संविधान छ र? संविधानसभाका अध्यक्षसँग अर्कै संविधान छ र?'

थापाले बहसका क्रममा नेपालमा एउटै संविधान भए पनि पद र सत्तामा पुगेपछि आफूखुसी व्याख्या हुने गरेको भन्दै व्यंग्य गरे। 'हामीसँग संविधान एउटै छ। तर फरक फरक व्याख्या भइरहेको छ। संविधान एउटै भएपनि पदमा पुगेपछि फरक फरक व्याख्या भइरहेको छ', उनले व्यङ्ग्य गर्दै भने, 'एउटै संविधान हो । मैले भन्ने चाहिँ संविधानले बेला बेला बोली फेर्नु भएन भन्ने मात्र हो।'

थापाले बहसका क्रममा महान्यायाधिवक्ता अग्नि खरेलमाथि पनि कटाक्ष गरे। उनले महान्यायाधिवक्ता हुँदा एउटा र कानुन मन्त्री हुँदा संविधानको अर्को व्याख्या गर्न नहुने सुझाव दिए। 

'कानुन मन्त्री हुदा एउटा व्याख्या गर्नु भएको छ', उनले खरेललाई इंगित गर्दै भने, 'महान्यायाधिवक्ता हुँदा अर्को व्याख्या हुनु भएन। एउटा संविधानबारे फरक फरक व्याख्या गर्नु ठीक भएन।'





  • प्रकाशित मिति : माघ १२, २०७७ साेमबार १४:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया