प्रधानमन्त्री भन्छन् : अब नेपालमा कोरोना बढ्दैन, सबैलाई तीन महिनामा नि:शुल्क खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अबको तीन महिनाभित्र सबै नेपालीलाई नि:शुल्क कोरोना खोप लगाइसक्ने बताएका छन्। ‘स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड–१९ खोपले गर्छ रक्षा’ भन्ने नारासहित मुलुकभर कोभिड–१९ विरुद्धको खोप अभियान प्रारम्भ कार्यक्रममा बालुवाटारबाट बोल्दै उनले यस्तो बताएका हुन। उनले खरीद गरेरै भए पनि तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप लगाइसक्ने बताए। 

'कोही पनि खोप लगाउनबाट बञ्चित हुनुहुन्न, खरिद गरेरै भए पनि संवेदनशीलताको आधारमा निःशुल्क वितरण गरिनेछ', प्रधानमन्त्री ओलीले भने, 'त्यसका लागि आवश्यक बजेटको तर्जुमासमेत भइसकेको छ।' शुभारम्भ भएसँगै सातै प्रदेशमा रहेका ६२ अस्पताल, काठमाडौँ उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकैसाथ खोप लगाउन थालिएको छ। 

यस्तै ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिनेछ। ती सबै अस्पताल प्रधानमन्त्री ओलीको शुभारम्भ कार्यक्रममा भर्चुअल विधिबाट जोडिएका थिए। कार्यक्रमको प्रारम्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले खोप अभियानबारे दिएको शुभकामना सन्देश प्रस्तुत गरिएको थियो। प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सन्देशलाई मार्गनिर्देशनका रुपमा लिएर कार्यान्वयन गर्दै जाने बताए। उनले नेपालमा कोभिडविरुद्ध सक्रिय सबैप्रति आभार प्रकट गरे। 

उक्त समारोहमा प्रधानमन्त्री ओलीले नेपालीको जीवन रक्षाका लागि यथाशीघ्र खोप उपलब्ध गराइने प्रतिवद्धतासमेत व्यक्त  गरे। कोरोनाविरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्दै प्रधानमन्त्री ओलीले खोपले नागरिकको प्रतिरोध क्षमता बढोस् भनी कामना गरे। उनले खोप खेर जान नहुनेमा पनि जोड दिए। 

प्रधानमन्त्रीले छिट्टै  खोप लगाउन शुरुआत गर्न पाएकामा खुशी व्यक्त गर्दै आफूले शुरु गरेको हप्ता दिनभित्रै १० लाख मात्रा उपलब्ध गराएकामा भारत सरकार, भारतीय जनता र मुख्य गरी भारतीय समकक्षी नरेन्द्र मोदी तथा खोप निर्माणमा लाग्ने वैज्ञानिक लगायतलाई धन्यवाद दिए।  

उनले अहिले प्राप्त खोप अपुग हुने भएकाले अन्य देश र  अन्तरराष्ट्रिय संस्थासँग खोपका लागि समन्वय भइरहेको जानकारी दिँदै भारत सरकारसँग उचित मूल्यमा थप खोप ल्याउने विषयमा कुराकानी भइरहेको बताए। प्रधानमन्त्री ओलीले शुरुमा एक ठाउँमा पनि परीक्षणस्थल नभएकामा अहिले ८२ स्थानमा २५ हजारभन्दा बढीलाई दैनिक सेवा दिन सक्ने बन्नु महत्वपूर्ण उपलब्धि भएको बताए। 'अहिलेसम्म कोभिड अस्पताल निर्माणमा लागेका थियौँ, अब त्यसलाई रोक्नुपर्नेछ, अब विगतमा झैँ कोभिड-१९ बढ्दैन तर सावधानी अपनाउने कुरामा भने ध्यान दिनैपर्छ,' उनले भने। 



प्रधानमन्त्री ओलीले नेपालका पूर्वजले रोगका सम्बन्धमा वैज्ञानिकस्तरकै जैविक प्रचलन अघि बढाएको स्मरण गरे। कोरोनाकालमा जीवनसँग प्रकृति, वन्यजन्तु तथा चराचर जगतसँगको सम्बन्धलाई पुनः परिभाषित गरेको बताउँदै प्रधानमन्त्री ओलीले यसले प्राकृतिक चिकित्सा पद्धति र जडीबुटीको प्रयोगतर्फ समाजलाई सचेत गराउने र फर्काउने काम गरेको स्मरण गरे। 

प्रधानमन्त्री ओलीले कोरोनाले सङ्कटमा कसरी जोगिने भनेर अमूल्य शिक्षा दिएको समेत बताउँदै भने, 'अर्थतन्त्रलाई धक्का लाग्दा पुनः निर्माणलगायतका काम कसरी गर्न सकिन्छ भन्ने पनि यसले सिकाएको छ।'



उनले रोग र भोगबाट मानिसलाई बचाउन सकियो भने सिर्जनशील मानिसले पुनरउत्थान त आफैँले गर्ने बताउँदै पहिलो कुरा जनताको जीवन बचाउनु नै महत्वपूर्ण रहेको र सरकार जीवन जोगाउने कुरामा गम्भीर रहेको स्पष्ट गरे। 

उनले नेपालीमा रोगसँग लड्ने क्षमता उच्च रहेकाले नै मृत्युदर कम भएको जिकिर गरे। नेपालमा हाल शून्य दशमलव ७ प्रतिशत मृत्युदर  छ। निको हुने दर भने ९८ प्रतिशत पुगेको छ। लाखौँ बिरामी भए पनि धेरै देशका तुलनामा नेपालमा प्रभावकारी काम भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।  त्यसो भन्दैमा स्वास्थ्य मापदण्डलाई भने विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए। 

उनले रोगसँग लडिरहेकाको स्वास्थ्यलाभको कामना गर्दै निधन भएका परिवारप्रति समवेदना प्रकट गरे। उनले हिजो सावधानीभन्दा त्रास बढी रहेको तथा परिवार र साथीभाइ पनि कोभिडको संवाहक देखिने गरेकामा परिस्थिति फेरिएर अहिले नेपाली बढी सतर्क रहेको र भयावह स्थिति नरहेको प्रष्ट्याए।  खोपमा मात्रै भर नपर्न पनि प्रधानमन्त्री ओलीले  सुझाव दिए।  

  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार १३:५१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया