वामदेवको एकता अभियान घोषणा कार्यक्रममा नेता कम कार्यकर्ता धेरै
दुई पक्ष भएर चुनावमा गए बहिष्कार गर्न मतदातालाई आह्वान गर्ने चेतावनी

विभाजनपूर्वको नेकपाका उपाध्यक्ष वामदेव गौतमले बुधबार (आज)बाट पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रमको आयोजना गरी अभियानको घोषणा गरिएको हो । 

अभियानको घोषणा कार्यक्रममा नेता गौतमको पक्षमा विभाजनपूर्वका नेकपाका एकजना केन्द्रीय कमिटीका सदस्यबाहेक अन्य शीर्ष नेता मञ्चमा देखिएनन् । तर, कार्यक्रममा केही जनप्रतिनिधि, विश्वविद्यालयका पूर्वउपकुलपतिलगायत व्यक्ति सहभागी भए । 

नेता गौतमको पार्टी एकता अभियानलाई नेकपा केन्द्रीय सदस्य हरि कार्की, बागमती प्रदेशसभा सदस्य विनोद खड्का, पूर्वसांसद माया ज्ञवालीलगायतले साथ दिएका छन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हिराबहादुर महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्कासहित विभिन्न जिल्लाका जनप्रतिनिधि गौतमको अभियानमा सहभागी भएका छन् । अभियानको संयोजकमा वाामदेव गौतम स्वयं रहेका छन् भने सह–संयोजकमा केन्द्रीय सदस्य हरि पराजुली र  सचिवमा बाबुराम थापा रहेका छन् ।

विवादित कार्की पनि गौतमको अभियानमा

यसैबीच केही समयअघि नेता वामदेव गौतमको नाम लिएर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै घुस लिएका कारण पक्राउ परेका डिबी कार्की पनि यो अभियानमा जोडिएका छन् । पूर्वसंविधानसभा सदस्य समेत रहेका कार्की केही समय जेलसमेत बसेर छुटेका थिए । 

एकता अभियान केन्द्रदेखि प्रत्येक स्थानीय तह र वडासम्म लैजाने गरी एकता समन्वय समिति गठन गरिएको छ । त्यस अवसरमा बोल्दै नेता गौतमले एकता अभियान लामो समयसम्म चल्ने बताए । तर, अहिलेका लागि ६ महिनाको समयावधि राखेर गतिविधि सञ्चालन गरिने उनले बताए । 



त्यस अवसरमा बोल्दै नेता गौतमले दुईतिहाइ बहुमत भएको छँदाखाँदाको पार्टी फुटाउनुमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै पक्षको बराबरी हात रहेको औँल्याए । प्रधानमन्त्री ओलीका केही व्यक्तिवादी, निरंकुश, एकात्मक शैलीसँग आफू पनि सहमत नभएको भन्दै उनले तर पार्टी फुटाएर जाने कार्य उत्तम विकल्प नभएको बताए । 

पार्टीभित्रै बसेर त्यस्ता प्रवृत्तिसँग लड्नुपर्ने उनको धारणा थियो । ‘उहाँहरुले फुटे फुट्छ भनेर अविश्वासको प्रस्ताव अगाडि सार्नुभयो । (प्रधानमन्त्रीले) प्रतिनिधिसभाको कार्यकाल २ वर्ष बाँकी रहँदै प्रतिनिधिसभा भंग गर्नुभयो,’ नेता गौतमले भने, ‘पार्टीमा अल्पमतमा परेको अवस्थामा राष्ट्रपतिकहाँ राजीनामा लगेर गएको भए केपी ओली कति महान् नेता बन्नुहुन्थ्यो । पार्टी एकताका निम्ति ओलीले किन त्याग गर्न नसकेको ?’



त्यस्तै, एकता अभियान घोषणासभालाई सम्बोधन गर्दै पराजुलीले दुवै पक्ष गएमा आउने चुनावमा दुवैलाई बहिष्कार गर्न मतदातालाई आह्वान गर्ने चेतावनी दिए । पार्टी दुई टुक्रा भएको अवस्थामा कुनै पनि समूहले चुनाव जित्ने अवस्था नरहेको उनको भनाइ थियो । 

अभियानको केन्द्रीय समन्वय समितिको बैठक ६ महिनामा र प्रदेश समन्वय समितिको बैठक ३ महिनामा बस्ने भनिएको छ । यसले गर्दा पनि तत्काल गौतम समूह दुवै पक्षमा नखुल्ने देखिएको छ । अभियान घोषणा कार्यक्रममा सभाहलमा सहभागी खचाखच थिए । तर, मञ्चमा भने नेताहरु थिएनन् । 

नेता गौतम, कार्कीलगायत वामदेवपत्नी तथा पूर्व सांसद तुलसा थापा, जीवराज आश्रितपत्नी पूर्वसांसद माया ज्ञवालीबाहेक अन्य नेता कार्यक्रममा सहभागी भएनन् । तर, सभाहलमा कार्यकर्ताको उपस्थिति भने बाक्लो देखिन्थ्यो । रोस्टर्मबाट वामदेवले केही समयमै ओली समूहका ओलीबाहेक बाँकी सबै नेता र प्रचण्ड समूहका केही नेताबाहेक सबै नेता आफ्नो अभियानमा आउने दाबी गरिरहँदा उपस्थित सहभागीले तालीको वर्षा गरिरहेका थिए । त्यसो त गौतमले दाबी गरेको जस्तो अभियानले सार्थकता पाउन सकेन भने स्वयं गौतमकै अवस्था के रहन्छ भन्न सकिँदैन । 

अभियान घोषणा गर्दै गर्दा गौतमले भनेका छन्, ‘म बाँच्दासम्म पार्टी एकता गराउने र सानो भए पनि समाजवादको विरुवा रोप्न सकियो भने, शान्तिको सास फेर्न सकिनेछ ।’ उनले सर्वोच्च अदालतमा सुनुवाइको क्रममा रहेको प्रतिनिधिसभा पुनर्गठनसम्बन्धी मुद्दाको फैसला हुनेबित्तिकै ओली र प्रचण्डको समूहमा भएका धेरै नेता आफ्नो अभियानमा आउने दाबी गरे । 

‘उहाँहरुले सर्वोच्चको फैसला कुरिदिनका निम्ति आग्रह पनि गर्नुभएको छ । प्रचण्डको नेतृत्वमा भएका केहीबाहेक ठूलो पंक्ति र ओलीको नेतृत्वमा भएका उहाँबाहेक सबै शक्ति एकताको पक्षमा छ,’ गौतमले भने, ‘हामीलाई विश्वास छ, आज १ जना केन्द्रीय सदस्य हाम्रो पक्षमा छन् । तर, विस्तारै ठूलो पंक्ति हाम्रो अभियानमा आउनेछन् ।’

  • प्रकाशित मिति : माघ १४, २०७७ बुधबार २३:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया