तरुण दल कार्यकर्ता सिंहका हत्याआरोपी वडाध्यक्षसहित ४ जनालाई प्रहरीले गर्‍याे सार्वजनिक

बझाङ छबिसपाथिभेरा गाउँपालिका–३ का तरुण दल कार्यकर्ता २३ वर्षीय अमृत सिंहको हत्याका आरोपी प्रहरीले सार्वजनिक गरेको छ । बझाङ प्रहरीले युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहित ४ जनालाई सार्वजनिक गरेको हो । 

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई सार्वजनिक गरेको छ । 

उनीहरुलाई मंगलबार अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो । छबिसपाथिभेरा गाउँपालिका–३ को बान्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो । खुँडा प्रहार गरेर सिंहको हत्या गरिएको प्रहरीले जनाएको छ ।

सिंहको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि  उनलाई समेत पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए । 

कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । हत्या गरिएका युवक सिंह तरुण दलका छबिसपाथिभेरा गाउँपालिकाका स्थानीय नेता हुन् । 





  • प्रकाशित मिति : माघ १५, २०७७ बिहीबार १९:९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया