कर्णालीका फ्रन्टलाइनर भन्छन्–ढुक्क भएर खोप लगाउनुस्

माघ १४ गतेबाट सुरु गरिएको खोप अभियानअन्तर्गत शुक्रबारसम्म कर्णालीका १२ सय ८९ जना फ्रन्टलाइनरले खोप लगाएका छन् ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले पहिलो पटक कोरोनाविरुद्धको खोप लगाएर कर्णालीमा खोपको सुरुवात गरे । डा. खड्कासँगै प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्का, बालरोग विशेषज्ञ डा. नवराज केसीलगायत स्वास्थ्यकर्मीले खोप लगाएका थिए ।

खोपको सुरुवात गरेका निर्देशक डा. खड्काले खोप लगाएको दिन केही सामान्य समस्या देखिए पनि अन्य कुनै समस्या नदेखिएको बताए । ‘अहिले खोप लगाएका सबैको अवस्था सामान्य छ,’ डा. खड्काले भने । कोरोना खोप लगाएको आधादेखि २ घण्टाभित्र कसैलाई गम्भीर समस्यासमेत देखिन सक्ने भन्दै उनले यदि त्यो समयमा नदेखिएको अवस्थामा ठूला खालका कुनै समस्या नदेखिने बताए । 

खोप लगाइसकेपछि देखिन सक्ने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर आफूहरूले सबै स्वास्थ्य संस्थामा व्यवस्थापकीय कामसमेत मिलाएको उनको भनाइ छ । खोप लगाएका केहीलाई टाउको दुख्ने, ज्वरो आउने, वाकवाक हुनेजस्ता समस्या देखिएको प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. केसीले बताए । ‘खोप लगाउँदा मलाई पनि यस्ता समस्या देखिएका थिए,’ डा. केसीले भने, ‘त्यो समस्या लामो समयसम्म रहँदैन । स्वास्थ्यकर्मीको सल्लाह बमोजिम गर्दै गएपछि सबै समस्या समाधान हुन्छ ।’

खोप लगाउँदा आफूलाई केही भइहाल्छ कि भनेर डराउनुपर्ने अवस्था नरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए । ‘नेपालको लागि कोभिशिल्ड नै सबै भन्दा उपयुक्त खोप हो,’ उनले भने, ‘यो ७० देखि ९० प्रतिशत प्रभावकारी छ ।’ 

कोरोना भाइरस (कोभिड–१९)को माहामारी सुरु भएको एक वर्षभित्रमै नेपालमा कोरोनाको खोप आउनु खुसीको कुरा भएकाले यसलाई एउटा अवसरका लिँदै रुपमा ढुक्क भएर खोप लगाउन सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका शिक्षा स्वास्थ्य अधिकृत नवराज कँडेलले आग्रह गरे । 



भारत सरकारबाट अनुदानमा प्राप्त भएको १० लाख डोज खोपमध्ये कर्णालीमा पहिलो चरणमा ११ हजार ७ सय ८० डोज लगाइँदै छ । पहिलो चरणमा कोरोना नियन्त्रण तथा उपचारका लागि खटिएका फ्रन्टलाइनर (स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविका)लाई यो खोप लगाइनेछ । 



  • प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार १७:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया