प्रिपेड कार्डबाट सिधै विदेशी वस्तु तथा सेवा किन्न सकिने
वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न पाइने

विदेशी वस्तु वा सेवा खरिद गरी प्रिपेड कार्ड वा अनलाइनमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था लागु हुने भएको छ । आगामी एक महिनाभित्र यो व्यवस्था लागु गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले जनाएको हो । 

पछिल्लो समय व्यवसायीले उक्त विषय लागु गर्नुपर्ने भन्दै पहल गरिरहँदा राष्ट्र बैंकले यसमा ध्यानाकर्षण गरेको छ । राष्ट्र बैंकको अनुसार प्रतिव्यक्ति वार्षिक ५ सय अमेरिकी डलर खर्च गरी विदेशी वस्तु तथा सेवा खरिद गर्न सकिने व्यवस्था चाँडै लागु हुने भएको हो । नयाँ व्यवस्था लागु भएपछि विदेशी वस्तु तथा सेवा खरिद गर्न सहज हुने नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्था विभागका निर्देशक गुरुप्रसाद पौडेलको ठम्याई छ ।

सहजै अनलाइन गेम तथा एप खरिद गर्न सकिने

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकको प्रिपेड डलर कार्डको सुविधा प्रयोग गरी वस्तु तथा सेवा खरिद गर्नका लागि विदेशी वेवसाइटमा अनलाइन भुक्तानी गर्न सकिनेछ । यो व्यवस्था लागु भएपश्चात नेपालबाट सहजै नेटफ्लीक्स, अनलाइन गेम खरिद गर्न सकिन्छ । त्यसैगरी, अनलाइनमार्फत इलेक्ट्रोनिक्स ग्याजेट वा अन्य सामान खरिद तथा फेसबुक विज्ञापन वा मोबाइल एप खरिद गर्न सकिने राष्ट्र बैंकले जानकारी गराएको हो । 

हाल उक्त व्यवस्था लागु गर्न आन्तरिक रुपमा सुझाव लिने कार्य सम्पन्न भइसकेको र त्यसमा प्राप्त भएका सुझाव समावेश गरेर सर्कुलर जारी गर्ने तयारी भइरहेको निर्देशक पौडेलले बताए । राष्ट्र बैंकको व्यवस्थापन समितिमा छलफल भई अघि बढाइएको विषय राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गरेपछि सर्कुलर जारी हुने व्यवस्था रहेको उनेले थप स्पष्ट पारे ।

हाल वाणिज्य बैंकमार्फत विदेशी वस्तु तथा सेवा खरिद गर्दा भुक्तानीका लागि ३ हजार डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था छ । त्यसैगरी, केन्द्रीय बैंकको स्वीकृतिमा १० हजार डलरसम्मको भुक्तानी दिन सकिन्छ । १० हजार डलरभन्दा बढीको हकमा भने राष्ट्र बैंकमा गएर स्वीकृति लिनुपर्ने व्यवस्था छ । निर्देशक पौडेलका अनुसार नेपालमा हाल होटेल र विप्रेषणसम्बन्धी सेवा दिइरहेका कम्पनीलगायत अन्य विभिन्न क्षेत्र गरी करिब ३५ सय संस्थाले विदेशी मुद्रामा कारोबार गर्नका लागि राष्ट्र बैंकसँग अनुमति लिएका छन् । 



कसरी गर्न सकिन्छ त भुक्तानी ?

नयाँ व्यवस्था लागु भएपछि अनलाइन माध्यमबाट वा प्रिपेड कार्डमार्फत पनि भुक्तानी गर्न पाइने पौडेलले बताए । तर, त्यसका लागि बैंकबाट छुट्टै प्रिपेड कार्ड लिनुपर्ने उनको भनाइ छ । यो सुविधा प्रयोग गर्न चाहने हरेक नेपालीले प्रिपेडकार्ड प्रयोग गरी वार्षिक ५ सय अमेरिकी डलर बराबरको वस्तु तथा सेवा खरिद गर्न पाउनेछन् । 
किन नयाँ व्यवस्था लागु गर्दै केन्द्रीय बैंक ?



पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा आउटर्सोसिङ गर्ने प्रचलन बढ्दै गएको र संसारको कुनै पनि स्थानमा बसेर अर्को स्थानमा सेवा तथा सुविधा प्रदान गर्न सकिने प्रविधिको विकास भएको अवस्थामा केन्द्रीय बैंकले भुक्तानी सहजीकरणका लागि उक्त व्यवस्था लागु गर्न लागेको जानकारी गराएको छ । सो व्यवस्थाबाट सामजिक सञ्जालका विज्ञापनको भुक्तानीका लागि समेत सहज गर्ने बैंकको ठम्याइ छ ।

राष्ट्र बैंकले लागु गर्ने यस व्यवस्थाबाट अनलाइनमार्फत गरिने साना भुक्तानी होस् वा ठूला सबैलाई सहयोग पु¥याउने देखिन्छ । यसबाहेक हाल नेपालबाट फेसबुकजस्ता विभिन्न माध्यममा विज्ञापन भइरहेको तर त्यसको हिसाबकिताब भने नदेखिने अवस्था रहेकाले त्यसको अन्त्य गर्नका लागि पनि सीमा तोकेर कारोबार गर्न व्यवस्था लागु गर्न लागिएको पौडलले जानकारी गराए । 

सेवाग्राहीको जिम्मेवारी के ?

स–साना कारोबार गर्न पाइने गरी विदेशी मुद्रामा भुक्तानी खुला गर्ने भए पनि नेपालको कानुनअनुसार गर्न नपाइने कारोबारबारे भने सेवाग्राही सजक हुनुपर्ने पौडेलको भनाइ छ । सेवाग्राहीले नेपाल सरकारको कानुन बमोजिम प्रतिबन्ध लगाएका वस्तु तथा सेवा खरिद गरे कानुनी कारवाही गरिने व्यवस्था रहेको उनले बताए । 
अश्लिल भिडियो राखिएका वेबसाइट, आतंकबाद वा त्यससँग जोडिएका विषयसँग सम्बन्धित वेबसाइट तथा नेपालले पहिलेदेखि नै कडाइ गरिएका देशसँग कारोबार गर्न नपाउने प्रावधानको सेवाग्राहीले पालना गर्नुपर्नेछ । 

‘अन्तर्राष्ट्रिय स्तरमा गएर कारोबार गर्छु भन्ने व्यक्तिले कानुनबारे थाहा छैन भन्न पाइँदैन,’ पौडेलल् भने, ‘बैंकहरुले सेवा दिने बेला हस्ताक्षर गराउने पत्रमा पनि यी विषयमा सजग बनाउने पत्र उपलब्ध गराउने व्यवस्था गरिनेछ ।’ उनका अनुसार यो व्यवस्था लागु भएपश्चात् नेपालको व्यवसायमा समेत केही सकारात्मक प्रभाव पर्न सक्छ । यसले मुलुकभित्र व्यवसाय विस्तार गरेर बसेका थुप्रैलाई सहयोग पु¥याउने उनको ठम्याइ छ ।  

  • प्रकाशित मिति : माघ १८, २०७७ आइतबार १४:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया