उद्योग पीडितको प्रश्न
‘धुलोधुवाँ कति खाने ?’
फाइल तस्बिर

‘बारीमा लगाएका तरकारी धुलोले छपक्कै छोपिन्छ । सुत्ने ओछ्यानदेखि खाने भान्सासम्म चारैतिर धुलैधुलो छ । दिनमा दुईपटक पेटी पखाल्नु पर्छ । उद्योगले चौबीसै घण्टा धुलोधुँवा उडाइ रहन्छ । तरकारी खाँदा किलिङ्कर धुलो भेटिन्छ । खोक्दा मुखबाट धुलै मिसिएको खकार आउँछ । हाम्रा यी पीडा न उद्योगले सुन्छ, न सरकारले । धुलोधुँवा खाएर कतिदिन बाँचिन्छ ?’ यो भनाइ, तुलसीपुर उपमहानगरपालिका १८ दूधरासकी धुलोधुवाँ पीडित याम पन्थीको हो ।

पन्थीको घर सिमेन्ट उद्योगको करिब दुई सय मिटरभित्र पर्छ । कतिपय घरहरू अझ सय मिटरभित्रै छन् । जहाँ बसोबास गर्नेहरूको दैनिकी निकै कष्टकर बनिरहेको छ । उद्योगको लापरबाहीका कारण पीडितको स्वास्थ्य नाजुक बनिरहेको छ । पन्थीले भनिन्, ‘हाम्रा घर, बारी मात्रै होइन किलिङ्करले स्वास्थ्य पनि बिगारी दिएको छ ।’ तर पीडितहरूको स्वास्थ्यप्रति कसैले ख्याल नगर्दा थप पीडित बन्नु परिरहेको उनको भनाइ छ ।

सरकार र स्थानीय जनता बीच उद्योग सञ्चालनका लागि केही सहमति भए पनि त्यसअनुरुप काम नहुँदा धुलोधुवाँको सिकार बन्नु परिरहेको उनले बताइन् । उद्योग सञ्चालनका निश्चित मापदण्ड सरकारले तय गरेको छ । तर सिमेन्ट उद्योगले मापदण्ड विपरीत धुलोधुवाँ उडाउँदै आइरहे पनि सरकार बेखबर बनिरहेको उनको भनाइ छ ।

‘स्वास्थ्यमा खेलवाड’

‘उद्योग स्थापना गाउँका ठूलाबडाहरूको बलजफ्तीले भयो । डाँडालाई करोडौंमा बेचे, उद्योगले पीडितहरूको जग्गा किने दिने सहमति पनि भएको थियो । हाम्रा घर कोही सय, कोही दुई सय, कोही तीन सय मिटर भित्रै छन् । अहिले न उद्योगले घरबास खान्छ, न धुवाँधुलो उडाउन कम गर्छ ।’ स्थानीय पीडित बलदेव डाँगीले भने, ‘आन्दोलन ग¥यो, गाउँका ठूलाबडा माग पूरा हुने आश्वासन दिन्छन्, उद्योगले त्यो कहिले गर्दैन । किलिङ्करकै धुलोले मार्ने भयो । घरबास छोडेर जाऔं भने कहाँ जाने ? उद्योगले डुबाउनु डुबायो ।’ 

उद्योगको धुलोधुवाँका कारण स्थानीयको स्वास्थ्य मात्रै होइन खेतबारीमा उब्जनी पनि ह्रास हुँदै गइरहेको छ । प्रलोभनमा परेर साथ छोड्नेहरूका कारण कहिलेकाहीँ आन्दोलन तुहिने गरेको उनको भनाइ छ ।



मौन सरकार र स्थानीय 

स्थानीय पीडित बाबुराम चौधरीले भने, ‘पीडितको सवालमा आश्वासन पाएका र सरकारी पक्ष तैं चुप मै चुप छन् । पीडा हामीले सहनु परेको छ, स्वास्थ्य नाजुक हाम्रै बनेको छ ।’ स्थानीय अगुवा र सरकारको मौनताको चपेटामा परेर धुलोधुँवाको सिकार बन्न पुगेका विपन्न थारु, दलित समुदायको स्वास्थ्यप्रति संवेदनशील भइदिन उनले आग्रह गरे । उनले थपे, ‘उद्योगले कि बस्ती उठाओस् कि धुलो उडाउन कम गरोस् ।’



सिमेन्ट उद्योगको धुवाँधुलोको प्रभाव दुधरासको थारु गाउँमा मात्रै होइन । घोराही–११ नयाँबस्ती, अक्कासी, धमरपुर, पेरनी लगायतका गाउँमा पनि उस्तै छ । 

कागजी रुपमा उद्योगले मान्यता प्राप्त गरे पनि मापदण्ड पालना अझै गर्न सकेको छैन । जसका कारण उद्योगले वरिपरिका बस्तीलाई नाजुक पारेको छ । मापदण्डविपरीत उद्योग चल्दै आइरहँदा स्थानीय पीडितको स्वास्थ्य अवस्थासँगै दैनिकी कष्टकर बन्दै गइरहे पनि उद्योगको मनोमानीमा सरोकारवालाहरू मौन रहँदा पीडित थप पीडित बन्नु परिरहेको छ ।

  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार १९:५३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया