२१ वर्षपछि पक्राउ परे ज्यान मुद्दाका अभियुक्त
एकै दिन ६ फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पछिल्लो समय धमाधम फरार प्रतिवादी पक्राउ गर्दै आइरहेको छ । मिसनको रुपमा प्रहरीले फरार अपराधी पक्राउ गरिरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमन्द्र सिंह राठौरले बताए । 

यसै क्रममा जिल्ला अदालत मकवानपुरको मिति ०५६  असार १६ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय तोकिएका एक वृद्धलाई सोमबार प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका ८ बस्ने वर्ष ७३ का फरार प्रतिवादी देवलाल रुम्बालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । 

एकै दिन ६ पक्राउ

रुम्बासहित विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भएका र प्रहरीसँग लुकेर बसेका ६ जनालाई मकवानपुर प्रहरीले माघ १९ गते सोमबार पक्राउ गरेको छ । विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ७३ वर्षीय रुम्बासहित मनहरी गाउँपालिका–९ का ४८ वर्षीय चेपाङ माइला भन्ने भोजबहादुर प्रजा, मनहरी गाउँपालिका–६ का ४३ वर्षीय रामसिंह लोप्चन, सोही ठाउँ बस्ने ३२ वर्षीय कान्छा भन्ने राजकुमार तामाङ, २९ वर्षीय छिरिङ मोक्तान र ३८ वर्षीय प्रतापसिंह जिम्बा छन् । 

देवलाललाई ०५६ असार १६ गते जिल्ला अदालत मकवानपुरले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो भने भोजबहादुरलाई ०७५ जेठ २२ गते मकवानपुर जिल्ला अदालतले लागुऔषध मुद्दामा १० महिना कैद सुनाएको थियो । रामसिंह लोप्चन, राजकुमार, छिरिङ र प्रतापलाई भने जिल्ला अदालत चितवनले ०७४ साल असार २० गते लेवन मुद्दामा १०–१० हजार जरिवाना सुनाएको थियो । 



पक्राउ परेकाहरुलाई बाँकी कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइने जिल्ला प्रहरी प्रवक्ता रानाले बताए ।



  • प्रकाशित मिति : माघ १९, २०७७ साेमबार २०:२९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया