नारायण वाग्लेको घोषणा : फागुन ७ मा टुँडिखेलको काँडेतार हटाउँछौँ

नागरिक अगुवा एवम् पत्रकार नारायण वाग्लेले फागुन ७ मा टुँडिखेल घेरेर लगाइएको काँडेतार हटाउने घोषणा गरेका छन्। आज शोभा भगवतीमा आयोजित कार्यक्रममा वाग्लेले यस्तो घोषणा गरेका हुन्। 

वाग्लेले पुस ५ मा भएको प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलन कार्यक्रमको घोषणा पनि त्यही दिन टुँडिखेलबाट गरिने जानकारी दिए। 'आगामी फागुन ७ गते नागरिक आन्दोलनका कार्यक्रम घोषणापत्र मार्फत सार्वजनिक गर्दैछौँ', उनले भने, 'हामी त्यही  दिन टुँडिखेलको बीचमा लगाइएको काँडेतार पनि हटाउने छौँ।'

वाग्लेले टुँडिखेलको जुन ठाउँबाट प्रजातन्त्र घोषणा भएको त्यही ठाउँमा उभिएर प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन चर्काइने बताए। 'जुन ठाउँबाट प्रजातन्त्र घोषणा भएको थियो, त्यही ठाउँमा हामी उभिएर नागरिक आन्दोलनका आगामी कार्यक्रम ल्याउँदैछौँ', उनले दोहोर्‍याए, 'बृहत् आन्दोलन घोषणासँगै त्यहाँको काँडेतार पनि हटाइनेछ।'

कुनै बेला दशरथ रंगशालादेखि रानीपोखरीसम्म फैलिएको टुँडिखेल अहिले टुक्रा टुक्रा भएको छ। टुँडिखेलको बीचमा नेपाली सेनाले काँडेतार लगाएर सैनिक मञ्च बनाएको छ। सैनिक मञ्चभन्दा दक्षिणतर्फ टुँडिखेलको क्षेत्र छ भने उत्तरतर्फ खुलामञ्च र रत्नपार्क रहेको छ। खुलामञ्च पनि अहिले मासिएर अनेक टहरा र अस्थायी बसपार्कमा परिणत भएको छ। 

सरकारले यसअघि नै पटक पटक रानीपोखरीदेखि जंगी अड्डासम्मको क्षेत्रलाई बृहत् टुँडिखेल बनाउने बताउँदै आएको छ। तर अझै कार्यान्वयनमा आएको छैन। खुलामञ्च तत्काललाई मासिएको छ भने सैनिक मञ्च जोडिएकाले टुँडिखेलमा राजनीतिक दलले कार्यक्रम गर्दैनन्। 

पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै दुई भागमा विभाजित नेकपाले सडकमै कार्यक्रम गर्दै आएका छन्। दाहाल-नेपाल नेकपाले भृकुटीमण्डप र रत्नपार्कको सडक ओगटेर कार्यक्रम गरेको छ। अर्कातिर ओली नेकपाले नारायणहिटी अगाडिको सडकमा यही माघ २३ गते कार्यक्रम गर्दैछ ।





  • प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार १६:३२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया