‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ का अगुवा तथा लेखक नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलमा बृहत् भेला गर्ने उद्घोष गरेका छन्।
मंगलबार सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानिएको शोभाभगवतीमा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले यस्तो उद्घोष गरेका हुन्। वाग्लेले गणतन्त्र र राणातन्त्रका शासकबीच फरक नभएको पनि बताए।
हिजो र आज शासक उस्तै
‘राणा शासनमा सिंहदरबार वरपर हिँड्न पाइँदैनथ्यो, कर्फ्यु लगाइन्थ्यो’, अबका कार्यक्रमबारे जानकारी दिँदै वाग्लेले भने, ‘साथीहरु, अहिले निषेधाज्ञा छ। शासकहरु बस्ने महत्वपूर्ण ठाउँमा काँडेतार लगाइएका छन्। साथीहरु भन्नुस् फरक कहाँ छ ?’
वाग्लेले नागरिक समाजले शासकसँग उनीहरुका हरेक गलत कदमको उत्तर माग्ने बताए। ‘हामी फागुन ७ गते टुँडिखेलमा जम्मा भएर शासकसँग एक–एक हिसाब माग्नुपर्छ’, उनले भने।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नागरिक समाज आन्दोलित छ। नागरिक समाजले संसद विघटन भएको एक सातादेखि प्रदर्शन गरिरहेको छ।
नागरिक समाज माघ १६ गते अर्थात् सहिद दिवसदेखि सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै संसद विघटनको विरोधमा कार्यक्रम गरिरहेको छ। २ घण्टा चलेको कार्यक्रममा विभिन्न वक्ता, कवि र कलाकारले मन्तव्य, कविता वाचनसहित प्रस्तुति दिए।
गुन्जिए मातृभाषा
कार्यक्रम प्रस्तोता राजेन्द्र महर्जनले सुरुमा युवा गायक सुजन आङदेम्बेलाई आमन्त्रण गरे। सुजनले लिम्बु भाषाको स्वागत गीत गाए। ‘तपाईंहरुसामु मातृभाषाको गीत गाउन पाउँदा खुसी लागेको छ,’ सुजनले थपे, ‘यसको श्रेय वीर सहिदहरुलाई जान्छ। उहाँहरूकै कारण हामीले मातृभाषामा गीत गाउन पाएका छौँ।’
सुजनको प्रस्तुतिपछि अभियन्ता तथा कवि अरुणदेव जोशीले डोटेली भाषाको कविता वाचन गरे। जोशीले देशलाई ज्यानै अपिर्ने दशरथ चन्दको जिल्लावासी भन्न पाउँदा आनन्दबोध हुने बताए।
‘तर डोटीले आफ्नो भाषा केन्द्रलाई सुनाउनै सकिरहेको छैन,’ उनले दुखेसो पोखे, ‘डोटेली कला संस्कृतिले अझै पहिचान पाउन सकिरहेको छैन।’
कार्यक्रममा अनि पालो आयो नाटकको। शिल्पी थिएटरका कलाकारले ‘जनता जागे’ नाटक मञ्चन गरे। नाटकमा राणा शासनविरुद्ध बोल्दा दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मारिएको कथा देखाइयो।
ढल्यो ढल्यो वीरहरूको शरीर
तानाशाले गोलीले ढाल्यो
जाग अब जनता हेर
नेपाल आमाको वीर सपूत
फाल्नुछ सत्ता अब तानाशाही शासनको
दलितलाई इतिहासमै विभेद
कलाकारहरु यो गीत गाउँदै मञ्चबाट बिदा भए। नाट्य प्रस्तुतिपछि झुल्किएका अभियन्ता सन्तोष परियारले दलित समुदायको योगदानको गाथा कतै उल्लेख नभएकोमा दुःख व्यक्त गरे। देशलाई राणाहरूबाट स्वतन्त्र गराउन राममाया च्यामिनीको उत्तिकै योगदान भएको बताउँदै उनले दलित भएकै कारण उनलाई सहिदको सूचीमा नराखेको तर्क गरे।
‘जबसम्म शक्ति र सत्ता हुनेसँग मात्र आफ्नो इतिहास लेखिदिने इतिहासकार हुनेछन् तबसम्म पीडितहरुको होइन पीडकहरुको इतिहास लेखिनेछ,’ परियारले भने, ‘यो देशमा जनजाति, आदिवासी, मधेसी तामाङ तथा राममाया च्यामिनीहरुको इतिहास लेखिएन। इतिहास आफैँमा विभेदकारी छ। इतिहास लेखनमा पनि प्रतिगामीहरुको हालिमुहाली छ।’
उनले यो आन्दोलन पुस ५ को संसद विघटनविरुद्ध मात्रै नभएर इतिहासका तमाम प्रतिगमनविरुद्धको निरन्तर जारी हुने बताए।
साहित्यकार दुर्गालाल श्रेष्ठ शारीरिक अशक्तताका कारण उपस्थित हुन सकेनन्। त्यसैले उनको आवाजमा रेकर्ड गरिएको कविता सुनाइयो। सहभागीको सुविधाका लागि नेपाल भाषाको यो कविताबारे प्रस्तोता महर्जनले व्याख्या गरे।
नेपाल भाषाको उक्त कवितामा सहिद गंगालाल श्रेष्ठलाई मारिनु एक दिनअघि उनी र राममाया च्यामिनीबीचको कुराकानी छ।
गंगालालले राममाया च्यामिनीलाई भनेको एक हरफ
एक थोपा नै सही तिम्रो आँसुले मेरो साहदतलाई खुलाउँछ
तिम्रो मायाले मुक्तिको बाटोमा सुवास फैल्याउँछ
महर्जनले गंगालाल एक निडर नागरिकसँगै राम्रो कवि भएको कुरा अवगत गराउँदै उनले लेखेको एक कविता वाचन गरे।
त्यसपछि आएका युवा अभियन्ता हिमांशुले सहिदको सपना पूरा नहुञ्जेल आन्दोलन नरोकिने भन्दै सत्तालाई चुनौती दिए।
इतिहास पुनर्लेखन गरौँ
अब मञ्चमा लेखक तथा अभियन्ता कैलाश राई आइन्। उनले नेपालको इतिहासमा महिलाहरुको महत्वपूर्ण भूमिका भएपनि नसमेटेको आरोप लगाइन्।
‘राणा शासन ढाल्न राममाया च्यामिनीको पनि त्यतिकै हात छ, जति अरुको। योगमाया न्यौपाने ब्राह्मणवाद र लैङ्गिक विभेदविरुद्ध लडेकी थिइन्, तर इतिहासमा नामसमेत छैन,’ उनले आक्रोशित मुद्रामा इतिहास पुनर्लेखन मागसहित भनिन्, ‘जुँगे र ढाका टोपी लगाउनेले महिलालाई विभेद गरिरहे।’
त्यसपछि कविता वाचनका लागि महर्जनले उर्मिला गम्वा थारुलाई बोलाए। उनले थारु भाषाको कविता सुनाइन्।
त्यसपछि प्रस्तुति दिन गितारसहित गायक प्रदीप देवान देखिँदै सबैको ध्यान ताने।
उनी गाउन थाले...........
खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
मन सबको दुख्यो कि दुःख बिसाउँदा
प्रदीप देवानपछि कविता बाचन गर्न आइपुगेका थिए प्रतीक घिमिरे। उनको कविता वाचनपछि आइपुगे अन्तिम वक्ताका रुपमा नरेश ताम्राकार।
विकासका नाममा रैथानेमाथि दमन
कार्यक्रमको अन्तिमतिर वक्ताका रुपमा आए, अभियन्ता नरेश ताम्रकार। उनले नेपालका शासक जातीवादी भएको आरोप लगाए।
‘विं.सं १९९७ मा मारिने चार सहिदमध्ये तीन नेवार र एक ठकुरी समुदायका थिए। उनीहरु ब्राह्मण नभएकैले मारिए,’ ताम्रकारले भने, ‘ब्राह्मणलाई सुँगुरका पाठा बोकाएर क्षमा दिइयो।’
ताम्रकारले विकासका नाउँमा रैथानेमाथि दमन गरिरहेको बताए। ‘विकासका नाउँमा नेवारका घरमा डोजर चल्दा हाम्रो बिचल्ली भयो। कतिले आत्महत्या गरे, कति डिप्रेशनको सिकार भए,’ ताम्रकारले भने। उनले रैथाने नेवार र उनीहरुको संस्कृति रक्षामा बोल्नुपर्ने बताए।
नागरिक समाजले कार्यक्रममा चन्दा पनि बटुल्यो। कार्यक्रमको अन्त्यमा प्रस्तोता महर्जनले ९ हजार तीन सय ९५ संकलन भएको बताए।
अन्त्यमा मञ्चमा आएका अगुवा नारायण वाग्लेले आगामी कार्यक्रमबारे जानकारी दिए। वाग्लेले फागुन ७ गते प्रजातन्त्र दिवसका दिन टुँडिखेलमा आउन सबैलाई अपिल गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।