अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन्। संवैधानिक सुनुवाइ समितिको सुनुवाइबिना विवादबीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले अख्तियारबाट राजीनामा दिएका हुन्।
जोशीले बुधबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए। जोशीले राजीनामा दिएपछि अख्तियारमा एउटा पद खाली भएको छ।
बुधबार बिहान मात्रै राष्ट्रपतिको कार्यालय शीतल निवासमा अख्तियारको नयाँ प्रमुखमा प्रेम कुमारले पद तथा गोपनीयताको सपथ लिइसकेका छन्।
अख्तियार प्रमुखमा राई तथा किशोर कुमार सिलवाल र जयबहादुर चन्द आयुक्तलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी छन्। राई, चन्द र सिलवालले टंगालस्थित अख्तियारको कार्यालय पुगेर पदभार सम्हालेका छन्। राईले पदभार गरेको समयमा कार्यवाहक आयुक्त जोशी सहभागी समेत भएनन्।
यसअघि नवीनकुमार घिमिरेले अवकाश पाएपछि कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी जोशीले सम्हालिरहेका थिए। आफू आयुक्त हुँदा सचिवको हैसियतले काम गरेका व्यक्ति नै प्रमुख नियुक्त भएर आएपछि जोशीले पदबाट राजीनामा दिएका हुन्।
२०७१ चैत १९ गते अख्तियार आयुक्त भएका जोशी ६ वर्षे पदावधिका कारण यही चैत १९ गते अवकाशमा जाँदै थिए। प्रमुख आयुक्तमा सिफारिस राई २०७१ साउन ९ देखि फागुन २७ गतेसम्म अख्तियार सचिव भएका थिए। त्यहीबेला जोशी अख्तियार बनेका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।