आकर्षक जागिरको नाममा ठग्दै रोजगार केन्द्र, सरकार बेखबर

अहिलेसम्म ऋण खोजीखोजी कयौं ठाउँमा फाराम भरेँ । पहिल्यै पैसा तिर्नुस् हामी काम दिन्छौं भन्छन् । पैसा नभएर काम खोजिरहेको हो भन्ने कहिले बुझ्ने ? काठमाडौंमा काम खोजिरहेकी कञ्चनपुरकी कान्ति शर्माको दुखेसो हो यो । 

यस्ता ठाउँबाट पढाइको पनि कुनै औचित्य नराखी जथाभावी कुरा गर्ने, ५÷६ हजार तलबको अफर गर्ने गर्दा आफूलाई निकै दुःख लाग्ने गरेको कान्ति बताउँछिन् ।
स्नातकोत्तरको पढाइ गरिरहेकी कान्ति भन्छिन्, ‘केही समय आफ्नो पढाइको खर्च जुटाउन काम खोजिरहेकी थिए । फेसबुकमा देखिएका सयौं विज्ञापन र पत्रिकाका वर्गीकृत विज्ञापन देख्दा काठमाडौंमा त यति धेरै अवसर छ जस्तो लाग्थ्यो । यो सरकारी आडमा हामी जस्तामाथिको ठगी पो रहेछ ।’

काठमाडौंमै लामो समयदेखि काम खोजिरहेकी गोरखाकी रोजिना काप्रीको गुनासो पनि उस्तै छ । ‘अहिलेसम्म ‘जब’ पाइन्छ भन्दै कम्तीमा १० हजार तिरिसकेँ,’ उनी भन्छिन्, ‘तर, फोन गर्छु भनेर फाराम भराएका ‘जब सेन्टर’ले न फोन गरे न त काम पाइयो ।’

रोजिनाले आफूमाथि के भइरहेको हो भन्ने भेउसम्म पनि पाउन सकेकी छैनन् । ‘फेसबुक र अन्य सामाजिक सञ्जालमा भेटिएका कम्तीमा २५ वटा ‘जब’ को लागि अप्लाइ गरेँ,’ उनी भन्छिन्, ‘धेरैजसोले फोन गरेर पैसा तिर्न लगाए तर काम दिएनन् । खोइ यो के भइरहेको म बुझ्नै सक्दिन ।’

शिक्षितहरू नै ठगीको सिकार

माथिका दुइवटै घटना पढ्नकै लागि काठमाडौं आउने युवतीको हो । यी प्रतिनिधिमूलक पात्र मात्रै हुन् । दिनहुँ अवसरका लागि विभिन्न ग्रामीण भेगबाट काठमाडौं आउने शिक्षित बेरोजगार अर्थात् विद्यार्थी नै अधिकांश यस्तो ठगीमा पर्ने गरेका छन् । देशमा शैक्षिक बेरोजगारीको संख्या दिन प्रतिदिन बढिरहेको छ । भर्खरै लोकसेवा आयोगले सार्वजनिक गरेको स्थानीय तहको विज्ञापनमा सोमबारसम्म ७० हजारभन्दा बढीले फारम भरिसकेका छन् । 



निम्न तथा मध्यम वर्गीय परिवारबाट भविष्यका मीठा सपना बुन्दै काठमाडौं हान्निने युवा सामाजिक सञ्जाल र पत्रपत्रिकाको विज्ञापनको पछाडि लागेर फसिरहेका सहजै छन् । युवायुवतीलाई ठग्नका लागि आकर्षक तलब विज्ञापनमै लेखिएको हुन्छ । आफ्नो कयौं पैसा ठगी भइसक्दा पनि युवायुवती थाहा नै पाउँदैनन् ।

यसरी हुन्छ ठगी



काठमाडौं उपत्यकाका विभिन्न कलंकी, कोटेश्वर, सातदोबाटो, रत्नपार्क, नयाँ बसपार्क, चावहिललगायत मुख्य चोकमा ‘अर्जेन्ट कर्मचारी आवश्यक,’ ‘अन्तरवार्ता विना जव फिक्स,’ ‘घरमै बसिबसी आकर्षक कमाइ’जस्ता विज्ञापन यत्रतत्र टाँसिएका भेटिन्छन् । यति मात्रै होइन, पछिल्लो समय अधिकांश युवायुवतीको आकर्षक ‘प्लेटफर्म’ फेसबुक र पत्रपत्रिकामा पनि आकर्षक तलबसहितका कामका अवसर प्रशस्त भेटिन्छन् । 

कामको खोजीमा भौतारिरहेका यस्ता प्रचार सामग्रीबाट आकर्षित नहुने कुरै भएन । विज्ञापनसँगै दिएको फोन नम्बरमा फोन गर्दा अफिसमा आएर फारम भरे जागिर पक्का भन्ने आश्वासन पाएपछि अधिकांश युवा राजी हुन्छन् । 

फारम भरेर रकम बुझाइसकेका युवाहरूलाई ‘जबसेन्टर’ छिट्टै कामसहित फोन गर्ने आश्वासन दिएर फर्काउने गरे पनि कयौंलाई फोन नै आउँदैन भने कयौंलाई अन्तरवार्ताका लागि बोलाएर ‘पफर्मेन्स’ नै भएन भनेर फर्काइन्छ ।

यसरी बाटोघाटोतिर टाँसेका पर्चा पम्प्लेट, पत्रपत्रिकामा आएका विज्ञापन र सामाजिक सञ्जालतिर भेटिएका विज्ञापनका आधारमा दैनिक हजारौं युवा आर्थिक शोषण र मानसिक ‘टर्चर’मा पर्ने गरेका छन् । 

दर्तावाल कम्पनी नै ठगी धन्दामा

नेपालमा बेरोजगारीको तथ्यांक नै हेर्ने हो भने यतिबेला ५० लाखको हारहारीमा युवा बेरोजगारको संख्या नेपालमा रहेको अनुमानित तथ्यांक छ । यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् २५ लाखको हाराहारीका युवा बेरोजगार काठमाडौं लगायतका सहरी क्षेत्रमा छन् । उनीहरूले स्वभावतः आफ्नो दैनिकीका लागि क्षमताअनुसारको काम खोजी नै गरिरहेका छन् । हो, तिनै युवाहरूमध्ये कयौं दिनहुँ रोजगार केन्द्रका नाममा खुलेका ‘ठग’हरूको सम्पर्कमा पुग्ने गर्छन् । 
नेपालमा आधिकारिक रुपमा दर्ता भएका ‘जब सेन्टर’ पनि ५ सय नाघेको कम्पनी रजिस्ट्रारको कार्यालयको तथ्यांकले देखाउँछन् । तर, आधिकारिक रूपमा दर्ता भएकै कम्पनीमध्ये पनि कयौंले ठगी गरिरहेको भेटिएको छ । 

मूकदर्शक बन्दै सरकार 

नेपालको श्रम ऐन २०७४ ले पनि श्रमिकबाट काममा लगाएवापत कुनै शुल्क वा कमिसन लिन नपाउने स्पष्ट व्यवस्था गरेको छ । यति मात्रै होइन, नेपाल पक्ष राष्ट्र रहेको अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मापदण्डले पनि कामदारबाट शुल्क वा कमिसन लिनुलाई अपराध मानेको छ । 

नियामक निकायले भने यसबारे अहिलेसम्म आँखा चिम्लेको पाइन्छ । दिनहुँ रोजगारीको नाममा ठगी भइरहँदा पनि उजुरीको स्पष्ट व्यवस्था नै सरकारले गरेको छैन । उसो ठगीको उजुरी सामान्यतया प्रहरी कार्यालयमा दर्ता हुने गरेको पाइन्छ । तर, यस्ता ठगीलाई प्रहरीले उल्टै सानोतिनो भन्दै ठगहरूको मनोबल बढाउने गरेको युवाहरूको गुनासो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभागका यसबारे उजुरी नआउँदा जानकारी नभएको जनाएको छ ।  

 

  • प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार १४:९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया