बैतडी किशोरी मृत्यु प्रकरण : हत्यारा पत्ता नलगाएसम्म शव उठाउन नदिने आफन्तको अडान

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा हत्या गरिएकी १७ वर्षीया किशोरी भागिरथी भट्टको हत्यारा पत्ता लगाएर कारबाही गर्न उनका आफन्तले माग गरेका छन् । दोषी पत्ता लगाई कारबाहीको दायरमा नल्याउँदासम्म शव उठाउन नदिने आफन्तले बताएका छन् । 

सो मृत्युबारे अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । बुधबार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा नजिकैको लबलेक जङ्गलमा शव फेला परेको थियो ।
 
शव वीभत्स अवस्थामा फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुनसक्ने मृतक किशोरीका आफन्तले बताएका छन् । प्रहरीले भने मृतक किशोरीको शव परीक्षण गरेपछि मात्रै बलात्कार भए–नभएको बारेमा थाहा हुने जनाएको छ । 

मृतक किशोरी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविका कक्षा १२ मा अध्ययनरत थिइन् । 

घटनाको अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छुट्टै प्रहरी टोली जिल्ला पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटना अनुसन्धानका लागि छुट्टै प्रहरी टोली पुगेको हो । 

टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब उपरीक्षकलाई खटाइएको छ । जिल्लाले गरिरहेको अनुसन्धानमा प्राविधिक सहयोग गर्न छुट्टै टोली खटाइएको हो ।  





  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार १६:४७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया