पत्रकारलाई मेयरले भने : धेरै लेपन गरेर समाचार बंग्याउँदा गलत सन्देश जान्छ
पत्रकार महासंघ काठमाडौंलाई महानगरको १५ लाख

काठमाडौं महानगरपालिकाले पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले जेष्ठ, अशक्त र गम्भीर रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरेको कोषका लागि १५ लाख सहयोग गरेको छ। 

शनिबार काठमाडौं जिल्ला शाखाको २२ औँ साधारणसभामा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले त्यो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरणपछि सभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख शाक्यले व्यवसायिक पत्रकारिता अहिलेको आवश्यकता भएको बताए। उनले सञ्चारकर्मीलाई निष्पक्ष भएर कलम चलाउन आग्रह गरे।

‘चाहिने भन्दा बढी लेपन गरेर समाचारलाई बङ्ग्याइयो भने त्यसले गलत सन्देश दिन्छ,’ शाक्यले भने, ‘व्यवसायिक रुपमा पत्रकारिता गर्नुस्। रोजगारी जोगाउने मात्रै उद्देश्यले गलत सन्देश दिने गरी समाचार लेखियो भने सिङ्गो समाज, राष्ट्र र राष्ट्रियता नै खतरामा पर्न सक्छ।'

सही सूचना दिनु पत्रकारहरुको दायित्व र जिम्मेवारी भित्र पर्ने तर्क उनले गरे। शाक्यले कतिपय अवस्थामा सामाजिक सञ्जाल र मिसन पत्रकारिताका नाममा समाजलाई दिग्गभ्रमित पार्ने काम भएको बताउँदै आफू पनि त्यसको मारमा परेको गुनासो गरे।

उनले जति धेरै गाली गर्यो त्यति धेरै चर्चामा आउने भन्दै त्यस्ता समाचारले बढी स्थान पाएकाले यसको न्यूनीकरणतर्फ लाग्नु पर्नेमा सचेत गराए । ‘नरम बोल्यो भने कम प्राथमिकता पाउँछ,’ शाक्यले भने, ‘विशिष्ठ जिम्मेवारीका व्यक्तिलाई गाली गर्न सक्यो भने बढी प्राथमिकता पाउने गरेका छन्। त्यो प्रवृत्तिलाई करेक्सन गर्नुपर्ने अपेक्षा छ।’ 



उहाँले शीर्षक बिकाउ बनाउन गलत सन्देश प्रवाह हुने गरेको तर्फ सञ्चारकर्मीहरुको ध्यानाकर्षण गराए। ‘हामी सबै मिलेर यो देश बनाउनु छ । नेता र कर्मचारी मात्रै होइन हामी सबै त्यत्तिकै जिम्मेवार छौँ,’ उनले भने, ‘एकले अर्कालाई पन्छाएर र दोष थुपार्दै जाँदा हामी राष्ट्र बनाउने दायित्वबाट टाढा हुन्छौँ । राष्ट्र र राष्ट्रियतामा आँच आउने काम म पनि गर्दिनँ, तपाईँहरूबाट पनि नहोस्।'
  
नेकपा विवादबारे बोल्दै उनले दुई अध्यक्षको झगडाका कारण कार्यकर्ताको बिजोग भएको बताए। 'मैले पनि यही समस्या भोगिरहेको छु । आम कार्यकर्ता र जनताले पनि यही समस्या भोगिरहनु भएको छ', उनले भने, 'उहाँहरुको झगडाको मार हामीले खेपिरहेका छौँ।'



  • प्रकाशित मिति : माघ २४, २०७७ शनिबार २१:१९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया