टेलिमेडिसिन सेवाले दुर्गमका नागरिकलाई राहत
टेलिमेडिसिन सेवाबाट बिरामीको उपचार गर्दै दैलेखको महावु गाउँपालिकाका स्वास्थ्यकर्मी ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाले सोमबारबाट टेलिमेडिसिन (दूर–चिकित्सा) सेवा सुरु गरेको छ । अस्पतालमा आउने बिरामीलाई जतिसक्दो जिल्लामा नै विशेषज्ञ सेवा दिने उद्देश्यका साथ यसको सुरुवात भएको हो । यो सुविधापछि डोल्पा जिल्ला अस्पतालका चिकित्सकहरूले प्रदेश अस्पताल सुर्खेतका चिकित्सकहरूसँग परामर्श गरी बिरामीको उपचार गर्न सक्नेछन् ।

डोल्पामा गत वर्षबाटै टेलिमेडिसिनको सेवा सुरु भए पनि कोरोनाको महामारीका कारण लामो समयदेखि बन्द रहेको थियो । नयाँ व्यवस्थापनका साथ सोमबारबाट सेवाको पुनः सुरुवात गरिएको र त्यसलाई निरन्तरता दिने स्वास्थ्य सेवा कार्यालय डोल्पाका जनस्वास्थ्य निरीक्षक अमरसिंह शाहीले बताए ।

‘स्वास्थ्यकर्मीको अभावबाट गुज्रिरहेको डोल्पा अस्पताल टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीको उपचारमा सहज हुनेछ,’ निरीक्षक शाहीले भने, ‘यसले डोल्पा जस्तो दुर्गम जिल्लाका नागरिकलाई राहत प्रदान गर्नेछ ।’  

केही दिन अघि दैलेखको महावु गाउँपालिकाले पनि टेलिमेडिसिन सेवाको सुरुवात गरेको छ । प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसियन सेवा जोडिएपछि महावुका नागरिकले विशेषज्ञ सहितको स्वास्थ्य सेवा पाएका छन् । गाउँपालिकामा १० शय्या अस्पताल सञ्चालनको तयारी भइरहेको अवस्थामा चिकित्सकका लागि दरखास्त नपरेपछि प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज केसीको पहलमा टेलिमेडिसियन सेवा सुरु गरिएको हो ।

चिकित्सकहरूको चरम अभाव झेलिरहेको कर्णाली प्रदेशमा टेलिमेडिसिन सेवालाई एकदमै महत्त्वपूर्ण र प्रभावकारी सेवाका रूपमा हेरिएको छ । विशेष गरी दुर्गमका नागरिकलाई राहत प्रदान भएको छ । टेलिमेडिसिन सेवा सुरु भएसँगै जिल्लामा नै जटिल खालका बिरामीको उपचार हुने भन्दै स्थानीय खुसी समेत भएका छन् । 

गाउँ घरमा नै विशेषज्ञ सहितको टेलिमेडिसिन सेवा सुरु भएपछि अनावश्यक खर्च पनि कम हुने दैलेखको महावु गाउँपालिकाका स्थानीय नन्द सुनारले बताए । ‘मेरो शरीर दुखिरहेको थियो । आज डाक्टरसँग आफ्नै गाउँमा भिडियो हेरेर स्वास्थ्य जाँच गर्न पाउँदा भाग्यमानी ठानेको छु ।’ ७७ वर्षका सुनारले भने, ‘गाउँबाट उपचार गर्न गरिब नागरिकलाई सजिलो हुने महसुस गरेको छु ।’



गत वर्ष नै कर्णालीका विभिन्न क्षेत्रबाट टेलिमेडिसिन सेवाको सुरुवात भए पनि कोरोना भाइरसको माहामारीका कारण धेरैजसो ठाउँमा बन्द अवस्थामा रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ । तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा दरबन्दीको ६७ प्रतिशत स्थायी स्वास्थ्यकर्मीको पद रिक्त रहेको छ । यस्तो अवस्थामा प्रदेश सरकार र केन्द्र सरकारले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउने कुरामा जोड दिएको छ । 

कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाबाट उचित व्यवस्थापनका साथ टेलिमेडिसिन सेवाको पुनः सुरुवात गर्न लागिरहेको बताएको छ ।



मन्त्रालयको चिकित्सक शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले टेलिमेडिसिनको हबका रूपमा प्रदेश अस्पताललाई बनाउने र स्याट्यालाइटका रूपमा जिल्ला र स्थानीय तहमा रहेका अस्पताललाई जोड्ने बताए । प्रदेश अस्पतालमा टेलिमेडिसिन सेवा बिस्तारको लागि यस वर्ष केन्द्र सरकारबाट ४० लाखभन्दा बढी बजेट प्राप्त भएको उनले बताए । 

‘प्रदेश अस्पताल टेलिमेडिसिनको एउटा हवका रूपमा विकास हुनेछ,’ उनले भने, ‘अन्य जिल्ला अस्पताल र स्थानीय तहमा रहेका अस्पतालले प्रदेश अस्पतालबाट विशेषज्ञ डाक्टरको सुझाव सल्लाह परामर्श लिनेछन् ।’ स्थानीय तह आवश्यकता अनुसार जिल्ला अस्पताल र प्रदेश अस्पताल जोडिन सक्ने डा. तिवारीको भनाइ छ ।  

स्वास्थ्य सेवा कार्यालय डोल्पामा टेलिमेडिसिनको सुरुवात गर्दै स्वास्थ्यकर्मी ।​
 

  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १३:३१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया