logo-img

'जनता नजागेसम्म प्रतिगामीले सताइरहन्छन्'
प्रेमको कविता लेख्‍ने समय होइन यो

सञ्जीव उप्रेती। नेपाली साहित्यमा परिचित नाम हो यो। लेखनको फरक शैलीका कारण पाठकमाझ उनको छुट्टै छवि बनेको छ। स्वैरकल्पनामा उडान भर्न रुचाउने उनी समकालीन नेपाली साहित्यका प्रयोगवादी लेखक हुन्। आफ्ना दुई कृति ‘घनचक्कर’ र ‘हंस’ दुवैमा उनले नयाँ प्रयोग गरेका छन्। 

त्यसो त स्वैरकल्पना र प्रयोगवादमा आधारित भएर सिर्जना गर्नेलाई आरोप लागिरहन्छ–यस्ता लेखक र उनीहरुका कृतिले समाज रुपान्तरणमा तात्विक असर पार्दैन। 

साहित्य र समाज

केही दिनअघि मालीगाउँस्थित उनकै निवासमा भेट्दा हामीले पहिलो प्रश्न यही राख्यौँ– यथार्थवादी साहित्यले मात्रै समाजलाई परिवर्तन गर्न सक्छ त ?

‘हो, हाम्रो समाजमा यही विश्वास छ, स्वैरकल्पना र प्रयोगवादमा आधारित भएर लेखिएका साहित्यले समाजलाई परिवर्तन गर्दैन। यस्ता साहित्य मनोविनोदका लागि मात्रै हुन्,’ उप्रेतीले खण्डन गर्दै भने, ‘तर, म भने समाजमा प्रचलित यो विश्वासमा पूर्ण असहमत छु। घनचक्कर र हंस दुवै पुस्तक प्रयोगवादमा आधारित छन्। तर, यी पुस्तकमा सामाजिक र राजनीतिक मुद्दा उठाइएका छन्।’

यथार्थवादी साहित्यले मात्रै सामाजिक मुद्दा बोक्छ भन्ने कुरामा किञ्चित् सहमत छैनन्। उनले अगाडि भने, ‘घनचक्कर त झन् २०६२–६३ को जनआन्दोलनकै परिप्रेक्ष्यमा लेखिएको पुस्तक हो। प्रिफेसमै लेखेको छु, यो पुस्तक सामाजिक न्याय र लोकतन्त्रका लागि समर्पित छ।’



हंसमा पनि छुट्टै किसिमले सम्पत्तिको हक, वैवाहिक सम्बन्ध, भिसा–राहदानी, सीमा आदि–इत्यादी विषयमाथि आलोचना गरेको बताउँछन् उनी। उनी बरु यस्ता साहित्यले समाज र राजनीतिलाई जोडेर त्यहाँका समस्या समाधान गर्न धेरै सहयोग पुग्ने ठान्छन्। 

‘प्रयोगवादी साहित्यले नयाँ–नयाँ सामाजिक, आर्थिक तथा राजनीतिक संरचना र व्यवस्थाको कल्पनामात्र गर्दैन’ उनी भन्छन्, ‘यस्ता संरचना र व्यवस्था समाजका लागि कतिको प्रभावकारी होलान् भन्नेसमेत सोच्न सहयोग गर्छ।’ 



सडकको मोर्चा

उप्रेती आफ्ना सिर्जनामा मात्रै सामाजिक र राजनीतिक कुरा गर्दैनन् । सामाजिक र राजनीतिक मुद्दामा बोल्न सडकमै पनि उत्रिन्छन्।  

चाहे त्यो २०६२–०६३ को जनआन्दोलनमा होस् या पहिलो संविधानसभाबाट संविधान तुहिँदा। चाहे निर्मला पन्त बलात्कार काण्ड या गुठी विधेयकविरुद्ध। चाहे रुकुम हत्याकाण्ड होस् या ताजा संसद विघटन प्रकरण। उनी हरेक पटक सडकको मोर्चामा अग्रपंक्तिमा उभिन्छन्। हरेक पटक उनले विरोधका स्वर बुलन्द गरेकै छन्। जब जब देशमा प्रतिगामी सक्रिय हुन्छन्, तब उनी सडकमा आइहाल्छन्।

अहिले उनी संसद विघटनविरुद्ध सडकमा छन्। नागरिक समाजको एक सशक्त सदस्यका रुपमा विरोध जनाइरहेका छन्। विरोधकै स्वर उठाउने क्रममा माघ १२ गते बालुवाटारमा भएको नागरिक समाजको आन्दोलनमा उनले पानीको फोहरा सामना गरेको फोटो अहिले भाइरल छ। पानीको फोहरासँगै सञ्जीवको अर्को फोटो पनि भाइरल भएको छ। जुन २०६२–०६३ को जनआन्दोलन ताकाको हो। त्यो फोटोमा उनीमाथि प्रहरीले लाठी हानिरहेको देख्न सकिन्छ। 

लक्की दिस टाइम

यसपालि त पानीको फोहरा मात्रै खाइयो। ०६२/६३ को आन्दोलनमा लाठी नै खाएको थिएँ,’ उनी ठट्टा गर्छन्, ‘आई एम लक्की दिस टाइम।’ तर उनको मुहारमा देखिएको मुस्कान निमेषभरमै विलीन भयो। संसद विघटनयता उनी निकै बेचैन छन्। 

‘संसद नरहनु संविधान विघटन हुनु हो। संविधान विघटन हुनु भनेको न्याय र सुशासनको अवसान हो,’ उनी गम्भीर भए, ‘संसद विघटनले सिंगो लोकतन्त्रमाथि नै प्रहार भएको छ।’

२०७२ को संविधानमा प्रष्ट लेखिएको छ, कस्तो अवस्थामा संसद विघटन गर्न पाइने कुरा। संविधानमा नभएको व्यवस्थालाई टेकेर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन गैरकानुनी भएको उनले ठानेका छन्। ‘होइन भने उनले के का आधारमा संसद विघटन गरे?,’ उनले अझै यो प्रश्नको उत्तर पाएका छैनन्।

२०६२/०६३ को जनआन्दोलनका दुइटा आदर्श थिए। पहिलो लोकतन्त्र र दोस्रो सामाजिक न्याय। संसद् विघटनले यी दुवै आदर्श धरापमा परेको उनले ठानेका छन्। 
‘जनताको ज्यान कोरोनाले लगिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गरेर चुनावमा जान किन मन लागेको होला?’ उनी फेरि सत्तासामु प्रश्न तेर्स्याउँछन्। 

अनि हामीले सोध्यौँ 

यस्तै अवस्था रहिरहे देशले निकास पाउँदैन भन्दै प्रम ओलीले संविधान विघटन गरेर चुनावमा जाने निर्णय गरे। फेरि पछिल्लो समयको राजनीतिक दृष्य–परिदृष्य पनि अन्यौलपूर्ण छ। यस अर्थमा उनले चालेको कदम ठीक होइन र ?

‘होइन, चुनावमा जानु गलत होइन,’ उनले भने, ‘तर, संविधान मिचेर चुनावमा जानु  त भएन नि ! चुनाव गर्न संविधानमा लेखिएका प्रक्रिया पूरा गरेर मात्रै जानुपर्ने हो।’ 
सामान्यतः संसारभरको अभ्यास र बुझाइ भनेको लेखक, पत्रकारले सरकारको विरोध लेखेर वा अभिव्यक्तिबाट गर्छन्, गरिनुपर्छ। तपाईंहरु सडकमै आउनुभयो नि?
तर उनले सुरुमै अहिलेको आन्दोलन कुनै नेता वा पार्टी कसैलाई विस्थापित र अर्कोलाई स्थापित गर्न नभएको स्पष्टीकरण दिए।

‘हाम्रो आन्दोलन त विधिको शासन, लोकतन्त्र र सामाजिक न्यायको रक्षाका लागि हो,’ उनले थपे, ‘अहिले ओली प्रतिगामी भूमिकामा छन्। त्यसैले आज उनको विरोध गर्दैछौँ। भोलि अर्को कोही प्रतिगामी आए उसको पनि गर्छौँ।’

अहिले देश कठिन मोडमा आएकाले आफूहरु सडकमा पुगेको उनी बताउँछन्। ओलीको कदमले देशका मुख्य अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका विखण्डित भएर अस्तित्व नै नरहने खतरा देखेका छन्, उनले। 

नेपाली कांग्रेससहितका दलले प्रतिपक्षीको भूमिका राम्ररी निर्वाह गर्न नसक्दा पनि नागरिक अगुवाहरु सडकमै ओर्लिन बाध्य भएको उनले बताए। 

तर, केही लेखक केपी ओलीको कदमलाई ठीक भनिरहेका छन् नि?

अहिले केही लेखक ओलीको कदम सही हो भन्दै स्तुति गानमा व्यस्त छन्। तर, सबै लेखकहरू अझ भनौँ प्रगतिशील तथा संवेदनशील लेखकहरू सुरुदेखि नै संसद विघटनविरुद्ध बोलिरहेका उनको तर्क छ।

‘विभिन्न सरकारी ओहदाका केही लेखक मात्रै अहिले चुपचाप छन्। उनीहरुलाई बोल्न मन भए पनि सरकारी पदका कारण सकिरहेका छैनन्,’ उनले भने, ‘कतिसम्म भने प्रज्ञा प्रतिष्ठानमा आवद्ध लेखकहरू पनि बोल्न सकिरहेका छैनन्।’

उनी अगाडि भन्छन्, ‘त्यस्तै केही लेखकहरू लेखनमै व्यस्त हुनु भएकाले सडकमा आउन सक्नु भएको छैन।’ आन्दोलनमा सरिक नभए पनि अधिकांश लेखक संसद् विघटनको विरोधमा रहेको उनले बुझेका छन्। 

लेखक पनि यही समाजका सदस्य हुन्। देशमा प्रतिगामी सक्रिय भइरहँदा त्यसको विरोध र सडकमै उत्रेर प्रदर्शन गर्नु लेखकको एक जिम्मेवारी हुने उनको बुझाइ छ। यस्तो विषम परिस्थितिमा लेखक एकदमै सजग र संवेदनशील हुनुपर्ने सञ्जीव बताउँछन्। 

अब बसेर हुँदैन

उनी यो समय माया प्रेमका मात्रै कविता लेखेर बस्न नसकिने मान्छन्। त्यसो त उनी प्रेम र भावनाका साहित्यकारको विरोध गर्दैनन्। बरु उनी त प्रेम र भावनालाई विषय बनाएर लेखिएका धेरै साहित्य संसारकै उत्कृष्ट मान्छन्। सबैभन्दा बढी उनी मान्छन्– प्रेम र भावना उच्चतम अभिव्यक्ति नै हो। 

तर, देश कठिन मोडमा हुँदा हरेक लेखकले समाजप्रति संवेदनशील र राजनीतिक रुपमा सचेत हुनुपर्ने मान्छन्, उनी। 

‘लेखक प्रेमको सागरमा डुबेर लेखिरहँदा उसले आफू वरपर कतै हिंसा–हत्या, बलात्कार, भ्रष्टाचार, लुटपाट, आदि–इत्यादि त भइरहेको छैन भन्ने कुरामा पनि सचेत र चनाखो हुनुपर्छ,’ उनी थप्छन्, ‘ऊ मन्त्रमुघ्द भएर प्रेमको सागरमा डुबेर लेख्न एउटा संरचना र माहोल चाहिन्छ। आफूलाई त्यो संरचना कसले प्रदान गरेको हो र अहिले कस्तो छ भन्ने कुरामा ऊ सधैँ सचेत हुनुपर्छ।’

शान्त र अन्तर्मुखी स्वभावका उप्रेती प्रकृतिप्रेमी पनि हुन्। प्रकृतिमा पनि उनलाई चराचुरुङ्गीप्रति विशेष लगाव छ। चराचुरुङ्गीसँग निकटता मात्रै छैन, चरालाई आफ्नो उपन्यासमा पात्र नै बनाएका छन्। लेखनबाट फुर्सद मिल्यो कि हातमा दूरबिन लिएर डाँडातिर निस्किहाल्छन्। 

पछिल्लो समयको राजनीतिक घटनाक्रमले उनले न त निस्फिक्री भएर लेख्न सकेका छन् न त दुरविन लिएर घुम्नै पाएका छन्। 

‘यस्ता कुरा हुँदै गर्छन्, हुँदै गर्नेछन्। म किन बेकारमा यिनमा अल्झिनु भनेर पन्छिन सक्दिनँ,’ यी कुरा भनिरहँदा उनका हात कापिरहेका थिए, ‘प्रतिगमनले दलित, महिला, सीमान्तकृत लगायतको अधिकार खोस्दै गएको छ। सबैले न्याय त पाउनुपर्यो नि !’

उनको निवासमा केही रुख छन्। रुखबाट चराचुरुङ्गीको चिरबिर चिरबिर आवाज आइरहन्छ। तर, पछिल्लो समय ती मनमोहक आवाजले उनलाई रोमाञ्चित बनाउन सकेका छैनन्। मन एकतमासको भएको छ। देशको अवस्थाले दुखिरहेको छ मन।

कुरा नागरिक समाजका

अहिले नागरिक समाज नै विभाजित देखिन्छ। यसलाई कसरी हेर्छन् उनी ?

‘नागरिक समाज एउटा मात्रै हुँदैन,’ उनको सहज उत्तर छ, ‘वास्तवमा भन्ने हो भने नागरिक समाज होइन, नागरिक समाजहरु हुन्। नागरिक समाजहरु आ–आफ्नो विचार र आदर्शबाट प्रेरित भएर आन्दोलनमा उत्रिन्छन्।’

विभिन्न नागरिक समाजले विभिन्न ब्यानर बोकेर भिन्दाभिन्दै ठाउँमा प्रदर्शन गर्नुलाई गलत रुपमा बुझ्न नहुने उनको बताए। यसलाई एकदमै स्वभाविक रुपमा लिनुपर्ने उनको तर्क छ। 

‘विभिन्न नागरिक समूहहरु विभिन्न ब्यानर लिएर विभिन्न स्थानमा प्रदर्शन गरे पनि सबैको ध्येय एउटै हुन्छ,’ उनी भन्छन्, ‘संसद विघटनविरुद्ध अहिले फरक ठाउँमा आन्दोलित विभिन्न समूह अन्ततः एकै गन्तव्यमा पुग्ने हुन्। उनीहरुका पाइला एउटा गन्तव्यमा पुगेर अवश्य मिल्नेछन्।’

लोकतन्त्र र सामाजिक न्यायको पक्षमा उभिने विभिन्न नागरिक समूह अन्तिममा एकै ठाउँमा आउने उनको तर्क छ। एजेन्डा नमिल्ने समूह छुट्टिँदै जाने पनि उनी बताउँछन्।

प्रतिगामीहरु विभिन्न समयमा विभिन्न भेषमा आउने हुनाले निरन्तर त्यसको विरोध गरिरहनुपर्ने तर्क सञ्जीवले सुनाए।

संसद् विघटन मात्रै प्रतिगमन होइन। खोकना र कमलपोखरीमा डोजर चल्नु, निर्मलाले न्याय नपाउनु, रुकुममा जातकै कारण मान्छे मारिनु, आदि–इत्यादिका सबै घटना प्रतिगमनका संकेत भएको उनले बुझेका छन्। 

तर, उनी प्रतिगमनविरुद्धको आन्दोलनले निरन्तरता नपाउँदा साह्रै दुःखी छन्। नागरिकहरु पानीको भेल जसरी आएर त्यसरी नै मत्थर हुने गरेको उनले देखेका छन्। 

‘सबै प्रकारका प्रतिगमनविरुद्ध नागरिक आन्दोलनले निरन्तरता पाउनुपर्ने हो, तर त्यस्तो भइरहेको छैन। उद्धेश्य प्राप्तिसँगै आन्दोलन पनि विलीन हुन्छन्,’ उनी भन्छन्, ‘नेपाल मात्रै होइन, विश्वकै परिप्रेक्ष्यमा नागरिक आन्दोलनले निरन्तरता पाउँदैनन्।’

आखिर किन त?

समाजमा त सधैँ समस्या आइरहन्छन्। ती सबैसँग लड्ने नागरिक समाजको कुनै ठोस संरचना हुँदैन। न यसमा कसैको पद हुन्छ, न त तलब। यो चल्ने पनि सडककै फन्डिङबाट हो। ‘लुज नेटवर्क’ भएकाले यसले निरन्तरता नपाउने उनले बुझेका छन्।

‘निरन्तरता दिन या त एउटा निश्चित गैर सरकारी संस्था बनाउनुपर्यो, जुन हामी विल्कुलै चाहँदैनौँ,’ उनले खण्डनसहित भने, ‘गैसस बनाउँदा दाता र उनीहरुको स्वार्थ अनुसार चल्नुपर्छ। हामी दाताको फन्डबाट चल्न थाल्यौँ भने स्वतन्त्र रहन सक्दैनौँ।’

संसद विघटन सही या गलत भन्ने निधो गर्न अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ। अदालतले दुइटा कुरा गर्छ, संसद विघटन सदर वा पुनस्र्थापना। उनले आफूहरुलाई संसद विघटनको निर्णयले कुनै फरक नपार्ने उनले उद्घोष गरे। तर प्रतिगमनविरुद्ध निरन्तर आन्दोलन गरिरहने उनले बताए। 

‘मैले अघि नै भनिसकेँ, फेरि पनि भन्छु, यो कुनै एक नेता हटाएर अर्कोलाई स्थापित गर्ने आन्दोलन होइन’, उनले भने, ‘यो त लोकतन्त्र र सामाजिक न्यायको रक्षाका लागि भइरहेको आन्दोलन हो। 

जसरी हुन्छ, संसद् पुनस्र्थापना हुनुपर्ने उनको मत छ। ‘यसो हुँदा देशमा संविधान रहेछ, देशमा विधिको शासन रहेछ भन्ने नजिर बस्छ’, उनले भने। नेपालमा किन प्रतिगमन आइरहन्छ ? नेतृत्वले किन जनताको आकांक्षाअनुसार काम गर्दैनन् त?

यसमा मुख्य दुई कारण देखेका छन् उनले।

पहिलो, हाम्रा संस्थाहरु कमजोर, र दोस्रो, नेतृत्वमा आउटडेटेट नेता छन्। देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू पनि स्वतन्त्र छैनन्। विश्वविद्यालय जस्तो संस्था पनि राजनीतिक भागबण्डाको सिकार भएको प्रत्यक्ष देखेको अनुभव उनीसँग छ। 

‘विश्वविद्यालयसँगै न्यायालय, कर्मचारीतन्त्र लगायतका संस्था पनि स्वतन्त्र छैनन्। यी ठाउँमा पनि राजनीतिक भागबण्डा चल्छ,’ उनले देखेका छन्, ‘हरेक क्षेत्रमा माफिया, राजनीतिक कार्यकर्ता र विचौलियाहरुको हालीमुहाली छ, कब्जा छ।’

अब उनी दोस्रो कारणको खण्डनमा जुटे। मूलधारका पार्टीलाई जसले नेतृत्व गरिरहेका छन्, उनीहरु आउटडेटेट भइसके। उनीहरु आफू पनि केही गर्न नसक्ने गरिरहेका छन् र नयाँ पुस्तालाई रोकिरहेका छन्। 

‘केही युवा नेताहरुले गद्दी गुमाएर बसेर ती नेतासँग विद्रोह गर्न खोज्छन्। तर, उनीहरु सुध्रिने छाँटकाँट नदेखेपछि थाक्छन्। अन्ततः युवाहरु पनि उनीहरुलाई ‘बा’ मान्दै उनीहरुको चाकडीमा तल्लिन हुन थाल्छन्,’ उनी भन्छन्।

तथापि नयाँ पुस्ताले पार्टीका अलोकतान्त्रिक र नराम्रा गतिविधिमाथि निगरानी गर्न छाड्न हुन्न। पार्टीभित्रको आन्तरिक लोकतन्त्रका लागि निरन्तर वकालत गर्न छाड्नु हुँदैन। नयाँ पुस्ताका युवाहरुलाई थाक्ने सुविधा नहुने उनको बुझाइ छ। 

बोली र व्यवहार फरक

लेखक सञ्जीव उप्रेती  नेतृत्वहरुमा बोली र व्यवहारको समानता पाउँदैनन्। मुखले समाजवाद, लोकतन्त्र, समानता, उत्कृष्टता आदिको कुरा गर्छन्, तर व्यवहार ठ्याक्कै उल्टो छ।

उनी भन्छन्, ‘पार्टीभित्र त उनीहरु आन्तरिक लोकतन्त्रको अभ्यास गर्न सक्दैनन्।’ त्यसो त उनी जनतालाई पनि उत्तिकै दोषी देख्छन्। नागरिकमा सहीलाई सही र गलतलाई गलत भन्न नसक्ने प्रवृत्तिले प्रतिगामीलाई हुर्किन बल पुगेको उनले बताए।

‘जसले जे भन्यो त्यही अनुसार पर्फम गर्छौँ, हामी। हामीले आफ्नो विवेक प्रयोग गरेर सही नेता सही र गलतलाई गलत भन्न सक्नुपर्छ’, उनले थपे, ‘संस्थाहरु बलियो भएर राजनीतिमा नयाँ पुस्ता स्थापित नभएसम्म देशमा प्रतिगामीहरु आइरहने छन्।’

  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया