अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्दा प्रधानमन्त्री ओलीका ३ विकल्प

५ पुसमा प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाली राजनीति तरंगित भएको छ । तरंगित मात्र होइन, यसका कारण नेपालमा राजनीतिक अस्थिरता पनि बढेको छ । 

संसद विघटन अब दुई महिना पुग्दै छ । योबीचमा काठमाडौं र नेपालका विभिन्न ठाउँमा दिनहुँ प्रदर्शन भइरहेका छन् । आम मानिसको जनजीवन फेरि एक पटक अस्तव्यस्त हुन थालेको छ । 

संसद विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयमा अहिले सर्वोच्च अदालतको संवैधानिक परिषद्मा बहस भइरहेको छ । अदालतले आफ्नो फैसला अब केही दिनमा सुनाउला । 

योबीचमा अदालतले प्रधानमन्त्री ओलीको यो कदमलाई असंवैधानिक भन्दै संसद पुनस्र्थापना गर्न सक्ने सम्भावना बढेको अनुमानहरु बढ्न थालेका छन् । अर्कोतिर ओली पक्षका नेताहरु तथा उनका समर्थकहरु देशमा चुनाव हुने निश्चित भएको दाबी गरेका छन् । 

केही दिन यता प्रधानमन्त्री ओलीले आफ्ना भेटघाट र छलफलहरु बढाएका छन् । निर्वाचन आयोगका आयुक्तहरु, राष्ट्रपति तथा विभिन्न दलका नेताहरुसँग उनको परामर्श बढ्न थालेको छ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि प्रधानमन्त्री ओलीले छलफललाई बढाएका छन् ।

संसद असंवैधानिक कदम भएको भन्दै कांग्रेस, नेकपाकै प्रचण्ड–माधव समूह, नागरिक अभियन्ताहरु अहिले दिनहुँ सडकमा ओर्लिएका छन् ।



सँगसँगै चुनावमा जाने दाबी गरिरहेका प्रधानमन्त्री ओली संसद पुनस्र्थापना हुँदा के गर्लान् भन्ने प्रश्न पनि जन्मिएको छ । आउनुहोस्, यसबारे केही चर्चा गरौँ । 

प्रधानमन्त्री ओलीले पछिल्लो समय संसद पुनस्र्थापना होला भन्ने कल्पना पनि गर्न नहुने विभिन्न सार्वजनिक मन्चहरुमा भनिरहेका छन् । यसको अर्थ हो, उनी अदालतले पनि संसद पुनस्र्थापना गर्दैन भन्नेमा ढुक्क छन् । त्यसो त केहीले उनले सेटिङ मिलाइसकेर संसद विघटन गरेको आरोप पनि लगाउँदै आएका छन् । 



तर, उनले सोचेजस्तो भएन र संसद पुनस्र्थापना भयो भने उनी के गर्र्लान् ? 

संसद पुनस्र्थापना हुँदा, ओलीसँग तीन विकल्प बच्नेछन् । ती तीन विकल्पबारे चर्चा गरौँ । 

पहिलो हो, राजीनामा दिने । अदालतले संसद पुनस्र्थापना गरेको खण्डमा प्रधानमन्त्री ओलीलाई सबैभन्दा सेफ साइड हुनेछ, राजीनामा दिने । उनले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिन सक्छन् । प्रधानमन्त्री ओलीले राजीनामा दिएको खण्डमा सरकार बनाउन नेकपाको प्रचण्ड–माधव समूह अगाडि बढ्न सक्छ । उनीहरुले पनि सरकार बनाउन नसकेको खण्डमा मात्र राष्ट्रपतिले संसद विघटन गरेर नयाँ मितिमा निर्वाचन घोषणा गर्न सक्नेछिन् ।

प्रधानमन्त्री ओलीका लागि दोस्रो विकल्प पनि नभएको होइन । उनी दोस्रो विकल्पमा सफल भएमा कम्तिमा पनि आउँदो निर्वाचनसम्मका लागि उनी ‘पावर’मा नै रहिरहनेछन् । नेकपामा विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग बारम्बार सघन छलफल गरेका थिए । उनको यो छलफलको अन्तर्य थियो, कांग्रेसले सत्ता समीकरणमा ओलीलाई समर्थन गर्ने ।

अदालतले संसद पुन:स्थापनाको फैसला गरेमा प्रधानमन्त्री ओलीले फेरि पनि यसलाई आफू शक्तिमा रहिरहनका लागि प्रयोग गर्न सक्छन् । त्यसका लागि उनले कांग्रेस सभापति देउवालाई अबको प्रधानमन्त्रीका रुपमा अगाडि सार्न सक्छन् । यस्तो सत्ता समीकरण बन्दा प्रधानमन्त्री ओलीले आफ्ना लागि राष्ट्रपति पदमा बार्गेनिङ गर्न सक्छन् । अर्थात् राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उनले निरन्तरता दिनेछन् । यो विकल्पमा प्रधानमन्त्री ओली गएको खण्डमा सत्तामा उनको पकड कायम नै रहनेछ । 

त्यस्तै, प्रधानमन्त्री ओलीका लागि अर्को विकल्प हुनसक्छ, राजीनामा नदिने अविश्वासको प्रस्ताव फेस गर्ने । 

यो निश्चित छ, संसद पुनस्र्थापना भएर प्रतिनिधि सभाको अधिवेशन बोलाइएकै दिन प्रचण्ड–माधव पक्षले नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेछन् । प्रधानमन्त्री ओलीविरुद्ध आउने अविश्वासको प्रस्ताव सँगसँगै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग पनि लाग्ने सम्भावना बढेको छ । यस्तो भएको खण्डमा प्रधानमन्त्री ओलीसँगको यो विकल्पमा उनले अन्य दलहरुलाई कसरी समायोजन गर्नेछन्, त्यो हेर्न बाँकी हुनेछ ।

  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार २०:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया