सुप्रिमो प्रचण्डलाई छाडेर गणेश भण्डारीले भने : आई लभ यू ओली बा !
प्रचण्डले आफूलाई उपयोग मात्रै गरेको आरोप

जनयुद्धको समयमा चर्चित सुर्खेत जेल ब्रेकर कान्डका प्रमुख योजनाकार गणेश भण्डारीले पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर केपी ओलीतिर लागेका छन्। दुई पटकसम्म चलचित्र विकास बोर्डका अध्यक्ष भइसकेका साहित्यकारसमेत रहेका भण्डारीले
 शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। 

तत्कालीन एकीकृत नेकपा (माओवादी) को घटक संगठन एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्षसमेत भइसकेका भण्डारी शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीसँगको फोटो हाल्दै लेखेका छन्, 'आई लभ यू ओली बा!'

सशस्त्र युद्धमा संलग्न अग्रज सांस्कृतिककर्मी भण्डारी २०६५ र २०६८ मा दुईपटक चलचित्र विकास बोर्डको अध्यक्ष भइसकेका व्यक्ति हुन्। उनलाई माओवादी केन्द्रले प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि उम्मेदवार सिफारिस पनि गरेको थियो। तर तत्कालीन नेकपा एमालेसँग चुनावी गठबन्धन भएपछि उनले चुनाव लड्न पाएका थिएनन्। 

किन छाडे प्रचण्डलाई 

भण्डारीले पुष्पकमल दाहाल प्रचण्डसँगको २३ वर्ष लामो सहकार्य शुक्रबारबाटै अन्त्य भएको जानकारी फरकधारलाई दिएका छन्। उनले लामो समयदेखि प्रचण्डसँग सैद्धान्तिक मतभेद रहेकाले उनलाई छाडेर ओलीतिर लागेको बताएका छन्।

'कहिलेकाहीँ इतिहास बनाउनुपर्ने हुन्छ। प्रचण्डसँग मेरा कयौँ सैद्धान्तिक मतभेद थिए। २३ वर्ष लामो राजनीतिक संघर्षपछि प्रचण्डलाई छाडेको छु', उनले भने, 'मैले प्रचण्डलाई छाडेर प्रधानमन्त्री ओलीले लिनु भएको राष्ट्रियताको पक्षमा उभिने निर्णय लिएको हुँ।'



भण्डारीले आफूहरुलाई प्रचण्डले पटक पटक ढाँटेको पनि आरोप लगाएका छन्। 'उहाँ (प्रचण्ड) ले हामीलाई पटक पटक ढाँट्नु भयो। बाहिर त उहाँले ढाँट्नु भयो भित्र पनि ढाँट्नुभयो त्यहीकारण उहाँसँग मोहभङ्ग भयो', उनले थपे, 'उहाँले हामी जनयुद्धका लडाकुहरुलाई आफ्नो स्वार्थका लागि प्रयोग मात्रै गर्नु भयो। त्यही कुरा बुझेर मैले ओलीलाई समर्थन गर्ने निर्णय लिएको हुँ।'



आफूले प्रचण्डसँग एक महिनाअघि विकसित घटनाक्रमबारे संवाद गरेको उनले जानकारी दिए। 'एक महिनाअघि उहाँसँग भेट भएको थियो। प्रचण्डले फेरि भेटौँला आउनु भन्नुभएको थियो', उनले अगाडि भने, 'इस्युहरु मनभेद हुन्छ, त्यसलाई मतभेद बनाइन्छ। हामीले यसबारेमा धेरै बहस गर्न सकिन्छ।'

प्रचण्डभन्दा ओली ठीक

राजनीतिक हिसाबमा आफूले लामो समय संगत गरेका प्रचण्डभन्दा कयौँ गुणा ठीक ओली लागेको उनले बताए। 'राजनीतिक हिसाबले मलाई प्रचण्डभन्दा ओलीको विचार ठीक लाग्यो। संगठनको मामिलामा पनि  न्याय गर्ने परिपार्टी प्रचण्डभन्दा ओलीमा रहेछ', उनले  भने, 'प्रचण्डले हामीलाई गौरवशाली पार्टीका मान्छे भनेका थिए। तर उनले हामीलाई उनको स्वार्थका लागि निरन्तर प्रयोग मात्रै गरिरहे।'
 
जनयुद्धका दिन गौरवशाली र रोमाञ्चक रहेका बताउँदै उनले तर नेताहरुले कार्यकर्ताले प्रयोग मात्रै गरेको गुनासो गरे। 'जनयुद्धले जनतामा जागरण पैदा गर्यो, परिवर्तनका लागि ठूलो योगदान गरेको छ', उनले भने, 'प्रचण्ड, बाबुराम, किरणजीहरुले हामीलाई केबल सत्ताको भर्‍याङ मात्रै बनाए।'

उनले आफूसँग देशभरकै सांस्कृतिककर्मी र युवा साथीहरु रहेको बताए। 'मसँग देशभरको सांस्कृतिक मोर्चा र टिम छ', उनले भने, 'म एक्लै ओलीतिर लागेको होइन, ठूलो टिम पनि छ।' भण्डारीले ओलीबाट आफूलाई पार्टी विस्तारका क्रममा पोलिटब्युरो सदस्य बनाउने आश्वासन मिलेको पनि बताएका छन्। 

माघ १७ कै भेलामा सहभागी

भण्डारी प्रचण्डलाई छाडेर ओली समूहतिर लागेपछि खानेपानी मन्त्री बनेका मणि थापा प्रमुख अतिथि भएर सुर्खेतमा गरिएको भेलामा सहभागी भएका थिए। मणि थापाले झुक्किएर श्री ५ को सरकार भनेको उक्त भेलामा पुगेर उनले फोटो समेत खिचाएका थिए।

मणिले सम्बोधन गरेको उक्त भेलामा सहभागी भएको र मन्तव्य दिएको फोटोसमेत भण्डारीले फेसबुकमा वालमा अपडेट गरेका थिए।

पुस १ सम्म प्रचण्डसँगै

ओली समूहमा लागेका भण्डारी पुस १ गतेसम्म प्रचण्ड समूहमै थिए। उनले प्रतिनिधिसभा विघटन हुनुअघि गत पुस १ गते प्रचण्डलाई सम्बोधन गर्दै फेसबुक पोस्ट लेखेका थिए। जहाँ उनले प्रचण्डलाई सुप्रिमो भनेर सम्बोधन गरेका छन्।

'हामी हजुरसँगै छौँ प्रचण्ड, जनता हजुरसँगै छन् सुप्रिमो', भनेर उनले अन्य कार्यकर्तासहितको फोटो पनि हालेका थिए। तर पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा देखिएको ध्रुवीकरणले अन्तत: भण्डारीलाई पनि सुप्रिमो प्रचण्ड छाडेर ओली समूहमा लाग्ने बनाएको हो।  

I love u oli ba .

Posted by Ganesh Bhandari on Friday, February 12, 2021
  • प्रकाशित मिति : माघ ३०, २०७७ शुक्रबार १९:२५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया