निर्मला हत्याको झल्को दिने भागरथी घटना

कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्षभन्दा बढी भयो । तर, घटनाको दोषी को थियो ? अझै पत्ता लाग्न सकेको छैन ।

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको समाचार तत्कालीन अवस्थामा बाहिर आएको थियो । साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

अपराधीलाई कारबाही माग गर्दै महिनौँ प्रदर्शन भए । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर कञ्चनपुर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गयो । प्रहरीले अनुसन्धानको नाममा दुई वर्ष कटायो, तर अपराधीलाई अझै हत्कडी लगाउन सकेको छैन ।

के थियो बैतडी घटना ?

ठीक यस्तै प्रकृतिको घटना बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा भागरथी भट्ट हत्यामा देखिएको छ । १७ वर्षीया किशोरी भागरथी भट्ट यही माघ २१ गते दिउँसो २ बजेसम्म साथीहरूसँगै रमाइलो गर्दै थिइन् । २ बजेपछि भागरथी कता गइन् कसैलाई पत्तो भएन । स्कुलका साथीहरूले घर गएको ठाने । घरमा आमा भने छोरी आउने बाटो कुरेर बसिरहिन् ।

साँझ छिप्पिसक्दा पनि छोरी घर नआएपछि आमाको मन आत्तियो । दोस्रो दिन गाउँभरि भागरथी हराएको हल्ला फैलियो । अनेक थरिका शंका उपशंका पैदा भए । गाउँलेहरू खोज्न जुटे । नभन्दै माघ २२ गते बिहीबार साँझ ५ बजे विद्यालयबाट घर फर्किने बाटोको जंगलमा भागरथीको शव भेटियो । शव विभत्स अवस्थामा थियो । अनुहार र घाँटीमा चोट थियो । योनीबाट रगत बगेको भेटिएको प्रहरीले जनाएको छ ।



के भन्छिन् निर्मलाकी आमा ?

कञ्चनपुर बलात्कारपछि हत्या गरिएकी निर्मलाको आमा दुर्गादेवी पन्त बैतडी घटनाले आफूलाई दुःखी तुल्याएको बताइन् । निर्मला प्रकरणको २ वर्ष बितिसक्दा समेत हत्यारा पत्ता नलागेपछि भागरथी हत्याकाण्ड पनि निर्मला प्रकरण जस्तै नहोस् भन्दै उनले सुझाव दिइन् ।



छोरीको हत्यारा पत्ता लाग्छ भन्ने आशा नरहेको र आफूले एउटा छोरी गुमाउनुको पीडा हुँदाहुँदै बैतडीमा अर्की आमाले पनि निर्मला जस्तै छोरी गुमाएको देख्दा आफ्नै छोरीको सम्झना आउने गरेको उनले सुनाइन् । ‘गरिबका छोरी माथि नै अपराधीको आँखा लाग्ने गरेको छ’, उनले भनिन्, ‘सरकारले गरिबको आवाजलाई गम्भीर रूपमा नलिने हुँदा यस प्रकारका घटना भइरहेका छन् ।’ भागरथीको हत्यारा पत्ता लगाई दिन दुर्गादेवी पन्तले पनि आग्रह गरेकी छन् । 

बलात्कारका घटना बढ्दै 

प्रहरीका अनुसार सुदूरपश्चिममा बलात्कारका घटना बढ्दै गएका छन् । चालु आर्थिक वर्ष ०७७/७८ मा १२१ वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार प्रदेशमा औसतमा हरेक दुई दिनमा एउटा बलात्कारको घटना हुने गरेको छ। प्रदेशमा जबरजस्ती करणीको प्रयासका घटना पनि बढ्दै गएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह बलात्कारका घटना न्यूनीकरण प्रहरीका लागि चुनौतीको विषय बनेको बताउँछन् ।

प्रदेशमा बलात्कारका घटना सबैभन्दा बढी कैलाली र कञ्चनपुरमा भएको उनले बताए । जनसंख्याको चाप बढी हुनुले तराईका यी दुई जिल्लामा बलात्कार, बलात्कारको प्रयास, बहुविवाहका घटना बढी देखिएको प्रहरीको दाबी छ। 

दोषीलाई उन्मुक्तिले बढायो बलात्कार : अधिकारकर्मी

दोषीलाई कानुनी दायराभित्र ल्याउन नसक्दा बलात्कारका घटनाले प्रश्रय पाएको महिला अधिकारकर्मीको भनाइ छ । महिला अधिकारकर्मी पुष्पा भट्टले दोषीलाई कारबाहीको दायरामा ल्याउन नसक्नुले पनि बलात्कारका घटनाले प्रश्रय पाइरहेको बताइन्। कतिपय ठाउँमा जनप्रतिनिधिले नै बलात्कारका घटना गाउँमै मिलाउने गरेको पाइएकाले बलात्कारमा संलग्नको आत्मबल बढेको उनको भनाइ छ । 

‘धेरैजसो घटनामा दोषीलाई कारबाही हुँदैन। जनप्रतिनिधिले पनि बलात्कारका घटना गाउँमै मिलाउने गरेका समाचार सार्वजनिक हुँदै आएका छन्,’ उनी भन्छिन्, ‘बलात्कारी र मिलापत्र गराउनेलाई कारबाही गरे मात्र घटनामा कमी आउँछ ।’ पहुँचवाला जोडिएको घटनामा प्रहरी अनुसन्धान पनि पीडकको पक्षमा देखिने गरेको उनीहरूको भनाइ छ ।

निरन्तर प्रदर्शन

भागरथी घटनामा पनि एक सातादेखि बैतडी लगायत विभिन्न जिल्लामा प्रदर्शन भइरहेका छन् । यस घटना पनि विभिन्न संघसंगठन, विद्यार्थी, नागरिक समाज लगायतले भागरथीका हत्यारा पत्ता लगाउन दबाब दिनका लागि प्रदर्शन जारी राखेका छन् । 

भागरथीका हत्यारा पत्ता नलाग्दासम्म आफूहरूले आन्दोलन जारी राख्ने भागरथी न्याय संघर्ष समितिले जनाएको छ । भागरथीको परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन् । निरन्तर भइरहेको प्रदर्शनले गर्दा कहिले निर्मला घटना जस्तै त भागरथी घटना हुने त होइन भन्ने शंका उब्जाएको छ ।

भागरथी घटनाको नजिक पुगेका छौं : प्रहरी 

भागरथी भट्टको अनुसन्धान निष्कर्ष केन्द्रित भएको प्रहरीले दाबी गरेको छ ।

दर्जनभन्दा बढी व्यक्तिहरूमाथि सोधपुछ गरेको प्रहरीले पछिल्लो अनुसन्धान निष्कर्ष केन्द्रित भएकाले चाँडै टुङ्गोमा पुग्ने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले दाबी गरे ।

मृतक भट्टसँग कुनै न कुनै किसिमले प्रत्यक्ष वा अप्रत्यक्ष नजिकिएका व्यक्ति र सम्भावित सबै व्यक्तिलाई निगरानीमै राखिएको बताउँदै छिट्टै अन्तिम निष्कर्षमा पुगिने उनले बताए । घटनाको अनुसन्धानका लागि एसएसपी र केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली १० दिनदेखि बैतडीमा छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी पनि ७ दिनदेखि बैतडी नै रहेका छन् ।

  • प्रकाशित मिति : फागुन १, २०७७ शनिबार १८:२६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया