आयोगको आचारसंहिता : उम्मेदवारले हेलिकोप्टर चढेर चुनाव प्रचार गर्न पाउने

काठमाडौं : सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन मिति तोकेसँगै निर्वाचन आयोगले आचारसंहिता तयार गरेको छ। निर्वाचन प्रचारका लागि आयोगले आचारसंहिता तयार गरेको हो।  त्यही आचारसंहितालाई लिएर आयोगले आइतवार १४ वटा राजनीतिक दलसँग छलफल गरेको छ।

आयोगले दलहरूसँग गरेको छलफलका क्रममा उम्मेदवारलाई हेलिकोप्टर चार्टर्ड गर्न दिने गरी आचारसंहिता तयार गरिएको जानकारी दिइएको छ। आयोगले आचारसंहितालाई  अन्तिम रुप दिएपछि दलहरूसँग छलफल गरेको हो। आयोगले तयार गरेको आचारसंहितामा निर्वाचन प्रचारका लागि हेलिकोप्टर चार्टर्ड गर्न पाइने व्यवस्था गरेको हो।

उम्मेदवारले हेलिकोप्टर चढेर चुनाव प्रचार गरेपछि अघिल्लो निर्वाचनमा विरोध भएको थियो। आयोगले उम्मेदवारका लागि हेलिकोप्टर चार्टर्ड सुविधा दिन लागिएको जानकारी दिएको नेकपा दाहाल-नेपाल समूहका नेता लीलामणि पोखरेलले बताए। 

'आयोगले आचारसंहिता पटक पटक फेरिरहनु नपरोस् सबै किसिमको कुरा समेटेर नयाँ आचारसंहिता ल्याइएको आयोगका पदाधिकारीले बताएका छन्,' उनले भने, 'प्रचार सामाग्री नियन्त्रण, खर्च व्यवस्था नियन्त्रण गर्न खोजिएको छ। तर यो पटक पनि हेलिकोप्टर चढेर चुनाव प्रचार गर्न पाउने व्यवस्था गरिएको रहेछ।' 

आयोगले यस पटक आचारसंहिता उल्लंघन भएमा एक लाख रुपैयाँ जरिवाना र उम्मेदवारी खारेजीसम्मको व्यवस्था पनि गरेको छ। आयोगले दलहरूसँगको छलफलमा दिएको जानकारी अनुसार पाँच लाख रुपैयाँभन्दा धेरै चन्दा लिनु परेमा बैंक वा वित्तीय संस्था उपयोग गर्नुपर्ने नियम बनाइएको छ। 





  • प्रकाशित मिति : फागुन २, २०७७ आइतबार १४:४६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया