राणाकालीन प्रमुख प्रशासनिक केन्द्रमा अब प्रधानमन्त्रीको कार्यालय
सिंहदरबारका तीन मोहडा पुनःनिर्माण सकियो

वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण पूरा भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण सकेपछि पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका हुन्। 

उद्‍घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ। भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरणमार्फत भवनलाई भूकम्पबाट सुरक्षितरूपमा पुनःनिर्माण गरिएको बताए। 'हामीले मौलिक संरचना तथा शैलीलाई कायम राखी भूकम्प प्रतिरोधी हुने गरी पुनःनिर्माण गरेका छौँ', उनले भने, 'अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा रहनेगरी हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मौजुदा सङ्गठन संरचना अनुरूप कार्यकक्ष तथा बैठक कक्ष निर्माण गरिएको छ।'

पुनःनिर्माण सकिएर उद्घाटन भएका मोहडा वि.सं. २०३० को आगलागीमा परेपछि वि.सं. २०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको थियो। 

भौतिक प्रबलीकरणपछि अत्याधुनिक सुविधा सम्पन्न बनाउन भवनमा आपत्कालीन तथा अग्नि नियन्त्रक संयन्त्रका अतिरिक्त कार्यालयमा २४ सै घन्टा उपलब्ध हुने ताजा हावासहितको वातानुकूलित प्रणाली जडान गरिएको छ ।



सिंहदरबार पुनःनिर्माण कार्यान्वयन गराइरहेको प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहका अनुसार दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत यी मोहडाको पुनः निर्माणमा हालसम्म मूल्य अभिवृद्धि करबाहेक ८७ करोड खर्च भएको छ। 

उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीजस्तै सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको उनले बताए।



राणा प्रधानमन्त्री चन्द्र शमशेर जबराले निर्माण गर्न लगाएको सिंहदरबारको पश्चिमी मोहडा वि.सं. २०३० मा लागेको आगोमा जोगिएको। उत्तर, दक्षिण र पूर्वी मोहडामा भने जलेर नष्ट भएका थिए। २०३७ सालमा पुन:निर्माण भए पनि २०७२ सालको भुकम्पमा सबै मोहडा भत्किएका थिए। 

सिंहदरबार वि.सं. १९६० मा चन्द्र शमशेरले निर्माण गर्न लगाएका थिए। वि.सं. १९५८ मा सत्तामा आएपछि उनले लाल दरबार र सेतो दरबार किन्न  खोजेका थिए। तर ती दरबार किन्न नसकेपछि चन्द्र शमशेरले सिंहदरबार बनाउन प्रतिरोपनी ९० रुपैयाँका दरले करिब ३५० रोपनी जग्गा किनेका थिए। 

यो कुरा पुरुषोतम शमशेर जबराले ‘राणाकालीन ऐतिहासिक दरबारहरू’ किताबमा उल्लेख गरेका छन्। नियो क्लासिकल शैलीमा निर्मित यो दरबारका लागि त्यसबेला करिब ५० लाख खर्च भएको बताइएको छ।

  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १२:३०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया