'निर्वाचन आयोगले चुनावी कार्यतालिका ल्याओस्, सर्वोच्चलाई कुर्ने होइन'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले चुनावी कार्यतालिका नल्याएकोमा आपत्ति जनाएका छन्। सरकारले पुस ५  मा प्रतिनिधिसभा विघटन गरेपछि वैशाख १७ र २७ गतेका लागि निर्वाचन मिति तोकेको अवस्थामा आयोगले अहिलेसम्म तालिका नल्याएकाले आशंका बढेको देउवाले बताएका छन्।

रुपन्देहीको भैरहवामा सोमबार गरिएको विरोधसभालाई सम्बोधनका क्रममा देउवाले सर्वोच्च अदालतले भन्दा निर्वाचन आयोगले गडबडी गर्ने सम्भावना रहेको बताए। 

‘निर्वाचन आयोग अहिलेसम्म किन कार्यक्रम प्रकाशित गर्दैन?', उनले सोधे, 'चुनाव नगराउने हो भने भनियोस्, गराउने भए किन अझै पनि प्रक्रिया सुरू नगरिएको? संसद विघटनको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्छ तर हाम्रो निर्वाचन आयोग चुनावका लागि तत्पर नै देखिएन।’

देउवाले पुसमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा आगामी जेठसम्ममा निर्वाचन गराइसक्नुपर्ने उल्लेख गरे। ‘जेठ मसान्तसम्म ओली सरकारले चुनाव गराउनैपर्छ। तर निर्वाचन आयोगले अझै पनि कार्यतालिका निकालेको छैन', उनले भने, 'निर्वाचन आयोगले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ, निर्वाचन आयोगले यो कुरा बुझ्नुपर्छ।’

सरकारले वैशाखमै निर्वाचन गराउने भने पनि निर्वाचन आयोगलाई तातो नलागेकोमा आपत्ति जनाए। ‘अहिलेका गतिविधिले निर्वाचन आयोगलाई शंका गर्ने अवस्था आयो। आयोगले अहिलेसम्म किन निर्वाचन तालिका ननिकालेको?', उनले भने, 'अझै पनि चुनावी कार्यक्रम किन सार्वजनिक गर्न नसकेको हो? आयोगले सर्वोच्च अदालतलाई पर्खिने होइन। आयोगले तयारी गर्नुपर्छ। जुन दिन अदालतले रोक्छ त्यही दिन रोके हुन्छ। तर आयोगले संसद विघटनको ६ महिनाभित्र निर्वाचन गराउने कुरा भन्न सक्नुपर्यो।'





  • प्रकाशित मिति : फागुन ३, २०७७ साेमबार १६:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया