मुख्यमन्त्री राईको दाबी : अस्थिरता बढाउन विधि मिचेर अविश्वास आयो, सम्झौता गर्दिनँ

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वासको प्रस्ताव विधि र विधान मिचेर ल्याइएको बताएका छन्।  

७१ औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा प्रदेश १ मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन उनले त्यस्तो कुरामा कसैसँग सम्झौता नहुने बताएका हुन्।

प्रदेशमा अस्थिरता र अराजकता ल्याउने, संघीयताको मुटुका रुपमा रहेको प्रदेश संरचनालाई कमजोर बनाउने र जनताको विकास-समृद्धिको चाहनालाई समाप्त गर्ने उद्धेश्यका साथ अविश्वासको प्रस्ताव आएको पनि दाबी गरेका छन्। राईले विधिसम्मत रुपमा आएका सबै प्रस्ताव सामना गर्न सरकार तयार रहेको पनि जिकिर गरे।

‘विधिसम्मत रुपमा आउने जुनसुकै प्रस्तावको सामना गर्न तयार छौँ। सरकार भाग्न खोजेको होइन। तर्किन र पन्छिन खोजेको छैन। तर हामीले केही वैधानिक प्रश्नहरु उठाएका छौं,’ मुख्यमन्त्री राईले भने, ‘ती हाम्रा पद र कार्यकालसँग सम्बन्धित छैनन् नितान्त, संविधान, कानुन, र त्यसबाट निर्देशित दलीय कानुन, र दलीय वैधानिक व्यवस्थासँग सम्बन्धित छन्।'

उनले ती कुरामा आफूहरु लचिलो नहुने पनि जिकिर गरे। 'ती कुरामा हामी लचिलो हुन सक्दैनौँ, किनभने हामी प्रणाली स्थापित गर्न आएका हौँ', उनले भने, संविधान, कानुन, नियम र विधि विधान मिच्नेसँग हाम्रो सम्झौता हुन सक्दैन।’

मुख्यमन्त्री मन्तव्यको पूर्ण पाठ



७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को अवसरमा आयोजना गरिएको यस विशेष समारोहमा यहाँहरु सबैमा म प्रदेश सरकारको तर्फबाट हार्दिक स्वागत एवम् अभिवादन व्यक्त गर्दछु।

७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ को यस अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। आजको यस ऐतिहासिक घडीमा एकतन्त्रीय जहानियाँ राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्रको बीजारोपण गर्नका लागि हौसी हाँसी छातीमा गोली थापी मृत्युवरण गर्ने चार शहीद लगायत त्यस प्रजातान्त्रिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिको जगमा उभिएर निरन्तर प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि भएको संघर्ष र आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सबै महान वीर शहीदहरुलाई स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली सहित श्रद्धा सुमन अर्पण गर्दछु।



साथसाथै ती महान शहिदहरुका अधुरा सपनाहरुलाई पूरा गर्ने वाचा र प्रतिवद्धता समेत ब्यक्त गर्न चाहन्छु। २००७ साल फागुन ७ गतेका दिन निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भइ जनताले राजनीतिक स्वतन्त्रता प्राप्ति गरेको ऐतिहासिक दिनको सम्झनामा ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवश मनाइरहेका छौं।

आजको दिन देशलाई लामो समयसम्म निरङ्कुश, जहानियाँ, एकतन्त्रीय शासन व्यवस्थाबाट मुक्त गरी प्रजातान्त्रिक शासन व्यवस्थाको शुभारम्भ भएको दिन हो। यो समान्य दिन होइन। १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गरी नेपाललाई प्रजातन्त्र, खुलापन सहितको नागरिक शासनको दिशामा उन्मुख गराउने पहिलो पाइलाका रुपमा २००७ सालको क्रान्तिलाई एउटा ऐतिहासिक परिघटनाको दिनको रुपमा हामीले स्मरण गर्नुपर्दछ।

आज हामी संविधानसभाबाट लोकतान्त्रिक तथा प्रगतिशील संविधान निर्माण गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै, मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवादका बलिया आधारहरू निर्माण गर्दै राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको झण्डालाई अझ माथी उठाउँदै, अझ त्यसलाई सबल र सुदृढ गर्दै नव नेपाल निर्माणको ऐतिहासिक अभिभारा बोकेर, विशाल एवम् फराकिलो यात्रामा सहभागी भइरहेका छौँ।

मुलुक यतिबेला विकास र आर्थिक समृद्धिको नयाँ युगमा छ। समृद्धिको यात्रा फराकिलो बनेको छ। 'समृद्ध नेपाल सुखी नेपाली' नेपाली जनताको साझा राष्ट्रिय आकांक्षा र लक्ष्य तय भएको छ। हामी यस प्रदेशमा प्रदेश आवधिक योजनाको तर्जुमा गरी स्वच्छ, सुखी र समुन्नत प्रदेशको अवधारणा सहित राष्ट्रिय आकांक्षामा आबद्ध भएका छौँ।

समृद्धिको स्पष्ट र फराकिलो यात्रामा प्रदेशवासीहरू मात्र होइन सम्पूर्ण नेपाली जनताहरु त्यस यात्रामा जोडिनु भएको छ।

तीन तहका सरकारहरु नेपाली जनताको राष्ट्रिय आकांक्षामा आबद्ध भएर सहकार्य, समन्वय गर्दै अगाडि बढिरहेका छन। आजको दिनले हाम्रा साझा राष्ट्रिय आकाँक्षा प्राप्तिको गन्तव्यमा पुग्नका लागि थप उर्जा र प्रेरणा मिल्ने मैले विश्वास लिएको छु।

तीन वर्ष अगाडि गठन भएको प्रदेश सरकार हाम्रा वीर शहीदहरुले देखेको अधुरा सपना साकार पार्न क्रियाशिल छ। मैले प्रदेश सरकार गठन भएको तीन वर्षको अवसरमा यही मञ्चमा २०७७ फागुन ३ गते आयोजित कार्यक्रममा सरकारले तीन वर्षमा गरेका प्रमुख उपलब्धिलाई २३२ बुँदामा समाबेश गरी सार्वजानिक गरिसकिएको जानकारी यस समारोहमा अवगत गराउन चाहन्छु। गोजी पुस्तिकाको रुपमा प्रकाशन गरिएको सामग्रीलाई समय मिलाएर हेरिदिन सबैमा आग्रह गर्न चाहन्छु।

नेपालमा सञ्चालित पटक पटकका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर पहिलो पटक संघीय ढाँचामा आधारित शासन प्रणाली हामीले अवलम्बन गरेर सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहसम्म पुर्‍याउन हामी सफल भएका छौ। आज जनताको अधिकार जनताकै घरदैलोमा पुगेको छ।

यतिबेला हामी स्मरण गरिरहेका छौं , पहिलो पटक संघीय प्रणालीको अभ्यास गर्दै गर्दा, त्यस प्रणालीको अनुभव, प्रयोग र अभ्यास गर्दै गर्दा शुरूका दिनहरू असाध्यै कठिन थिए। पहिलो र नितान्त नयाँ संरचना थियो प्रदेश संरचना।

पहिलो अनुभव, प्रयोग र अभ्यासका साथ शुन्य विन्दुबाट काम थालेर, कानुनी संरचना तयार गर्नु, प्रशासनिक संरचना गर्नु, जनशक्तिको बन्दोबस्त गर्नु र जनताका असिमित चाहनाहरूलाई स धन एकैसाथ गर्दै जानु सजिलो थिएन।

तर हामी व्यवस्थित सोचबाट जिम्मेवारीमा आएका थियौं। जिम्मेवारी त्यसरी सम्हालेका थियौं त्यसैले सबै खाले चुनौती, अप्ठ्यारा र असहजताहरुलाई सहज ढंगबाट केलाउँदै, बुझ्दै स्वाभाविक गति र सिलसिलामा पाइला चाल्दै हामी अगाडी बढ्यौं बढिरहेका छौं।

हामीले विगत तीन वर्षलाई महत्वपूर्ण कानुनी, प्रशासनिक एबम् बिकास र निर्माणका आधार र संरचनाहरु तयार गर्दै भरपूर अवसरको रुपमा प्रयोग गयौं। हाम्रा प्रत्येक सेकेन्ड समय, ध्यान दृष्टिलाई त्यही कुरामा खर्च गर्यौ।

कुहिएका फल र सुकेका पातहरू झरे नै तर हामी कही चुकेका छैनौं। कही झुकेका छैनौं सिंगो प्रदेश र प्रदेशवासी जनताको शिर झुक्ने कुनै काम गरेका छैनौं यो कुरा पनि शिर ठाडो पारेर यस समारोहमा भन्न चाहन्छु।

संघीयता कार्यान्वयनको आधारभूत महत्वपूर्ण आधार संरचना प्रादेशिक संरचना भएकोले प्रदेश संरचनालाई बलियो बनाउन सक्दा मात्र संघीयता बलियो र प्रभावकारी हुनसक्दछ। यही बुझाइका साथ हामी प्रदेश संरचनालाई संस्थागत गर्दै जनतामा बिकास र समृद्धिका प्रतिफलहरु पस्कँदै जनतामा दरिलो आशा र बिस्वासको बलियो आधार खडा गर्दै हामीहरुले काम गरिरहेका छौं।

दाजुभाइ तथा दिदी बहिनीहरू

जनताका सबै अपेक्षा, चाहना र मागहरु असीमित छन। तर स्रोतको सिमा सीमित छ। यस्तो अवस्थामा जनताका आकांक्षा र आवश्यकताहरुलाई प्राथमिकीकरण गर्दै सम्बोधन गर्दै जानु परेको छ। आगामी दिनहरूमा स्रोतका दायराहरु बढाउदै, आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै जनताका प्राथमिक आवश्यक्ता र मागहरुलाई सम्बोधन गर्दै लैजाने उद्धेश्य राखिएको कुरा यहाँहरुबीच राख्न चाहन्छु।

कोभिड हाम्रा लागि अनपेक्षित रुपमा आइलाग्यो र हामी झण्डै एक बर्ष थलिनु पर्यो। चार महिना लामो लकडाउनमा बस्नु पर्यो।

डरलाग्दो महामारीको सामना गर्नु पर्यो। यसरी कोभिड-१९ को महामारी हाम्रो प्रदेशमा उदयपुर जिल्लाको भुल्केमा देखापरेको थियो। तर हाम्रा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सक्रियता र चिकित्सकीय दक्षताले गर्दा त्यसलाई हामीले नियन्त्रण र व्यवस्थापन गर्न सफल भयौं। नियन्त्रण, रोकथामको नमुनाको रुपमा भुल्के मोडल नै भनेर बिकास गर्न हामी सफल भएका थियौं। जे होस सबैको साथ सहयोग र सक्रियताबाट हामीले कोभिडलाई धेरै हद सम्म प्रभावकारी ढंगबाट रोकथाम, नियन्त्रण र उपचार गर्न हामी सफल भयौं।

यसमा संलग्न, चिकित्सक, स्वास्थ्यकर्मीहरु, सुरक्षामा अहोरात्र खटिने सुरक्षाकर्मी, एम्बुलेन्स र शववाहन चालक, कर्मचारी, पत्रकार संचार क्षेत्र, राजनीतिक दल, उद्योगी, व्यापारी, व्यवसायी लगायत सबैमा बिशेष धन्यबाद भन्न चाहन्छु।

यतिबेला खोप आइसकेको छ। पहिलो चरणको खोप सकिएको छ र दोश्रो चरणको खोप शुरु गरिएको छ छिट्टै नै संघीय सरकारसँगको समन्वयमा यस प्रदेशमा सबै जनताका बीच खोप पुर्याइने कुरा यहाँहरु बीच राख्न चाहन्छु।

यतिबेला देशमा नयाँ परिस्थिति सिर्जना भएको छ। देश ताजा जनादेशका लागी निर्वाचनमा गएको छ। आगामी बैशाख १७ र २७ का लागी निर्वाचन मिति तय भै सकेको छ। निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरेको छ र कुनै न कुनै रुपमा सबै दलहरुले निर्वाचनको तयारी गरिरहेका छन।

यो निर्वाचन हाम्रो चाहना थिएन तर देशमा अराजकता सिर्जना गर्ने, अस्थिरता पैदा गर्ने, आफ्नै दलको दुइ तिहाई बहुमतको सरकार ढालेर, ६, ६ महिनामा सरकार बनाउने र ढाल्ने फोहोरी खेल तर्फ मुलुकलाई धकेल्ने लगातार प्रयास भएको कारणले त्यसबाट देशलाई जोगाउन सम्माननीय प्रधानमन्त्रीले सर्वोत्तम लोकतान्त्रिक विकल्पको रुपमा ताजा जनादेशमा जाने निर्णय लिनु भएको छ। र फेरी एक पटक अस्थिरता, अराजकताको विपक्षीमा, स्थिरता, शान्ति, सुशासन, बिकास र समृद्धिको पक्षमा आफ्नो अभिमत प्रकट गर्दै उभिनुपर्ने परिस्थिति सिर्जना भएको छ। न्यायोचित फैसलाको लागि सम्पुर्ण दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अपील गर्न चाहन्छु।

प्रदेशमा समेत अस्थिरता र अराजकता सिर्जना गर्ने, संघीयताको मुटुको रुपमा रहेको प्रदेश संरचनालाई कमजोर बनाउने र जनताको बिकास र समृद्धिको चाहनालाई तुसारापात गर्ने उद्धेश्यका साथ कदम चालिएको छ। प्रकट अभिव्यक्तिको रुपमा मुख्यमन्त्रीको विरुद्ध अविश्वासको प्रस्तावलाई सारिएको छ।

विधिसम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छ। सरकार भाग्न खोजेको छैन, तर्किन पन्छिन खोजेको छैन तर हामीले केही वैधानिक प्रश्नहरु उठाएका छौं।

ती हाम्रा पद र कार्यकालसँग सम्बन्धित छैनन नितान्त, संविधान, कानुन, र त्यसबाट निर्देशित दलीय कानुन, र दलीय वैधानिक व्यवस्थाहरुसँग सम्बन्धित छन।

तीनमा हामी लचिलो हुन सक्दैनौं। किनभने हामी प्रणाली स्थापित गर्न आएका हौं। संविधान कानुन नियम र विधि विधान मिच्ने कुरासँग हाम्रो सम्झौता हुन सक्दैन।

दुनियाँका लोकतान्त्रिक मुलुकहरुको संसदीय अभ्यासमा अनि हाम्रो संसदीय अभ्यासमा, त्यस अन्तर्गतको मुल्य मान्यता, दलीय ब्यवस्था र प्रणालीमा दल र त्यसका विधानहरू नै प्रमुख हुने गर्दछन्। दलीय व्यवस्थामा दलका सदस्यहरु लगाम बाहिर हुँदैनन्, स्वतन्त्र हुँदैनन् यो सार्वभौम सत्य कुरा हो।

हामीले यी कुराहरूको हेक्का राख्नु, जनताको बलिदानबाट प्राप्त ब्यवस्था र प्रणालीलाई संस्थागत गर्नु त्यसको रक्षा गर्नु, आजको औपचारिक नेतृत्व र जिम्मेवारीमा बसेका हाम्रो दायित्व हो। यसमा गम्भीर बन्नका लागी सम्बन्धित सबै पक्षलाई आग्रह गर्न चाहन्छु।

संसदीय अभ्यास, दलीय ब्यवस्था र स्थापित प्रणाली र प्रचलित मूल्यमान्यता, विधि विधान विपरीत गएर गलत अभ्यास र नजीरहरु स्थापित नहुन भन्ने कुराको राम्ररी हेक्का राखेर उठेका कानुनी र वैधानिक प्रश्नहरुको निरुपण गर्दै प्रदेशमा उत्पन्न अन्योलको चाडै अन्त्य गर्नका लागी सरकार तयार रहेको कुरा म स्पष्ट पार्न चाहन्छु।

प्रदेशको नामांकन गर्न बाँकी छ हामीले यसै अधिवेशनबाट नामांकन टुंग्याउनु छ सँगसँगै जनताका अपेक्षाहरुलाई सम्बोधन गर्दै स्वच्छ सुखी र समुन्नत प्रदेशको प्रादेशिक आकांक्षा सहित हामीले शुरु गरेका बिकास र समृद्धिका कामहरूलाई सम्पन्न गर्दै पनि जानुछ, प्रदेश संरचनालाई बलियो र प्रभावकारी संरचनाको रुपमा संस्थागत गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ त्यसैले सबैलाई गम्भीर बन्न र गहिरो जिम्मेवारी बोधका साथ भुमिका खेल्न समेत आजको यस अवसरमा म आव्हान गर्न चाहन्छु।

हामीले कही नचुकी, कही कतै नझुकी हाम्रा वीर सपुतहरूले देखेको सपना साकार पार्न सकेको खण्डमा मात्र उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुने मैले ठानेको छु। हामी सकारात्मक सोचका साथ, दृढ र बलियो इच्छाशक्तिका साथ देश र जनताप्रति इमान्दार भएर अगाडि बढन आजको दिनले हामी सबैलाई त्यही प्रेरणा मिलोस्।

अन्तमा, राष्ट्रिय प्रजातन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा राष्ट्रियता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रतालाई अझ बलियो बनाउँदै समग्र आर्थिक समृद्धि प्राप्तिसँगै स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणका लागि सहकार्य गर्न सबैलाई अपिल गर्दै राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु। धन्यवाद!

०७ फागुन २०७७

  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १२:४४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया