निर्वाचन तयारी पूरा : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि आन्तरिक तयारी पूरा भएको बताएका छन्  ।

शुक्रबार पाँचौं निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनका लागि आन्तरिक तयारी पूरा गरेको बताएका हुन् । फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदान स्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाइ छ । निर्वाचन सामग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरुको खरिद योजना तयार गरिएको बताएका छन्  ।

निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताए । उनले भने,  ‘आउँदो निर्वाचनको शिलशिलामा पनि हामीले निर्वाचनको आन्तरिक तयारी लगभग पूरा गरेका छौँ । यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ । देशभरि मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिनेछ ।

त्यसलगत्तै हाम्रा निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्नेछन् । हामीले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र विशेषत: सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति नै तर्जुमा गरेका छौँ । रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ । निर्वाचनका सामग्रीको आन्तरिक बन्दोबस्त भइसकेको छ । विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरु तयार गरी अगाडि बढिराखेका छौँ ।’

निर्वाचन कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुनुहुँदैन र निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधै अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । निर्वाचन खर्चिलो र भड्किलो बन्दै गएको प्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि बताए ।

आगामी निर्वाचनलाई मितव्ययी बनाउनका निम्ति आयोग सचेत रहेको बताए । उनले भने,  ‘हामी आउँदो निर्वाचनमा आचारसंहिताको माध्यमबाट निर्वाचनलाई कसरी मितव्ययी, कम खर्चिलो र प्रभावकारी ढंगले लान सकिन्छ भन्ने विषयमा सचेत छौँ ।’



निर्वाचन स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको थपलियाले बताए । उनले आगामी निर्वाचनमा अत्यन्त उल्लासमय वातावरणमा जागरुक भई आफ्नो प्रतिनिधि छान्न आम मतदाता सरिक हुनेमा विश्वास समेत व्यक्त गरे ।

निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम विसं २०१५ साल फागुन ७ गते मतदाताहरूले आम निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेको दिनलाई स्मरण गर्दै विसं २०७३ सालमा निर्णय गरी फागुन ७ गतेको दिनलाई निर्वाचन दिवस मनाउन थालिएको हो ।



 

  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १४:३९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया