प्रधानमन्त्री ओलीको साइबर सेना बन्ने राष्ट्रिय युवा संघको निर्णय

नेकपा ओली समूह निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको बताएका हुन् । समाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने पनि प्रष्ट पारे । आफूलाई बुद्धिमान ठान्नेहरूले सरकार र कम्युनिस्ट पार्टीबारे जनतालाई दिग्भ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकाले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताए। 

यस्तै अध्यक्ष सिंहले आगामी चैत मसान्त भित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरु र वडाहरूमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको समेत बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पूरा गर्न र पार्टीलाई सहयोग गर्न बर्दी बिनाको सेनाका रुपमा ५ लाख सदस्यता वितरण गर्ने पनि सिंहले बताए । 

प्रचण्ड–माधव समूहको सत्ता मोहका कारण जनतामा निराशा छाइरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीले जनतालाई निरुत्साहित हुन नदिने समेत अध्यक्ष सिंहले बताए । आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनमा युवा संघ नेपाल केन्द्रित हुने पनि उनले बताए । सरकारलाई गरिएको घेराबन्दीलाई चिरफार गर्दै राष्ट्रिय युवा संघ नेपालमा कुनै धार, गुट र समूह बन्न नदिने पनि अध्यक्ष सिंहले बताए ।





  • प्रकाशित मिति : फागुन ८, २०७७ शनिबार १८:३७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया