गायक सन्तोष लामाको ‘शब्द’ अस्वीकृत भएपछि...
भन्छन्– टिकटकमा हिट हुन गाएको होइन

‘गीतकारज्यू, प्रोड्युसरसाप भित्र गार्डेनमा पर्खिरहनुभएको छ । जानुस् त्यहीँ गएर आफ्नो सिर्जना सुनाउनुस् है ।’
 
घरबाहिर पर्खिरहेकाे गीतकारलाई म्युजिक भिडियो प्रोड्युसरका सहयोगीले भन्छ । 

गार्डेनमा आगो र ब्रान्डेड रक्सी दुवैको न्यानोपनमा मग्न प्रोड्युसरलाई गीतकार आफ्नो सिर्जना देखाउँछ । 

‘म चित्र हेरेर दृश्य कोर्न थालेँ,’ एक लाइन पढेर गीतका रचनाकार सन्तोष लामालाई निरुत्साहित गर्दै प्रोड्युसर भन्छ, ‘के हो भाइ यो ? के लेख्या यस्तो ?’

गीतकारको रचनालाई पूरा पढ्न पनि आवश्यक ठान्दैन, प्रोड्युसर । लगत्तै ऊ दोस्रो पाना पल्टाउँछ र फेरि उसै गरी दोस्रो पानाको पहिलो लाइन मात्र पढेर भन्न थाल्छ, ‘अलिकति तडक–भडक लेखन, रिलिज हुनेबित्तिकै ट्रेन्डिङमा जाओस् । भाइरल हुने केही सोच्नुपर्यो । यस्तो कसका लागि लेख्छौ भाइ तिमी ? धत्, अलि झटक–मटक लेख्नुपर्यो नि !’

प्रोडियुसर यतिमै रोकिँदैन, गीतकारलाई अझै निरुत्साहित गर्दै भन्छ, ‘यो भएन । यस्तो गीत कसरी गाउँछौँ,’ गीतकारलाई सोध्छ, ‘गाउन आउँछ ? गाएर सुनाऊ त ।’

गीतकार विवश छ । आफ्नो सिर्जनाको यति अपमान गर्दा पनि ऊ गाउन अभिशप्त हुन्छ र गाउन थाल्छ । 



आँखा चिम्लिँदा एक आँखा खुल्छ 

स्वतन्त्रताले फेरि मलाई थुन्छ...



गीत सकिन्छ । गीत सुनेर प्रोड्युसर रनभुल्लमा पर्छ । गीतकारको सिर्जनाको झनै अपमान गर्दै ऊ भन्छ– के थियो, के हो भाइ, केही बुझिएन । बरु खाएको जति सबै उत्रियो । त्यही पनि छाडिराख, म हेरिदिउँला । 

प्रोड्युसरको अपमानरुपी बाँडबाट छुटेको पहिलो तीरले गीतकारको स्वाभिमानलाई घाइते बनाइसकेको थियो । अब भने उसलाई सह्य हुँदैन । 

‘तपाईं जस्तालाई मेरो सिर्जना दिनुभन्दा त म आजै यसको दाहसंस्कार गरिदिन्छु ।’ आफ्नो सिर्जनाको अपमानको प्रतिकारमा खरो देखिन्छ, गीतकार । दन्किरहेको आगोमा आफ्नो सिर्जना जलाइदिन्छ र त्यहाँबाट फर्किन्छ । 

प्रस्तुत कथा बिहीबार सार्वजनिक गायक सन्तोष लामाको ‘शब्द’ बोलको गीतको भिडियोको कथा हो । लामाको स्वर र संगीत रहेको ‘शब्द’को भिडियोमा उनकै अभिनय  छ । भिडियोमा उनले गीतकारको भूमिका निभाएका छन् । डा. मनीष वशिष्ठको शब्द र भिडियो कन्सेप्ट रहेको यो म्युजिक भिडियोमा प्रोड्युसरको भूमिकामा देखिएका छन्, सफर पोखरेल ।

भिडियोमा देखाएको कथा फगत कथा मात्र होइन, यो वास्तविकता हो, संघर्षरत अधिकांश गायक, संगीतकार र लेखकको । 

गायक लामाले पनि यस्तै मानसिकता भएका प्रोड्युसरको सामना धेरैपल्ट गर्नुपरेको छ । उनले त करिअरको पहिलो खुट्किलोमै यस्तो भोग्नुपर्यो । 

सन् २००७ । नेपालको त्यो समयको बहुचर्चित ‘सिंगिङ रियालिटी सो’ नेपाली ताराको दोस्रो संस्करणको विजेता भइसकेपछि लामा एल्बमको तयारीमा जुटे । आठवटा गीतको एल्बम लिएर उनी म्युजिक कम्पनीमा गए । 

म्युजिक कम्पनीले उनलाई भन्यो– यी गीत कमर्सियल भएनन् । एल्बममा कम्तीमा तीनवटा कमर्सियल गीत हुनुपर्यो । 

सन्तोष कमर्सियल्ली जान बाध्य थिए । कारण, उनी करिअरको एकदमै सुरुवाती दिनमा थिए । केही महिना लगाएर तीनवटा गीत तयार पारेर फेरि कम्पनीमा गए । 

‘एक–दुईवटा गीत त साँच्चिकै कलात्मक हुनुपर्छ भन्ने लाग्यो,’ लामाले सम्झे, ‘त्यसमा बटुवालाई राखेँ । बटुवा सुरुमा बनाएका आठवटा गीतमा थिएन, पछि बनाएको हुँ ।’

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र सिर्जनामुखी कम बजारमुखी ज्यादा हुँदै गइरहेको लामाको आरोप छ । गायक र सर्जकलाई पहिले–पहिले म्युजिक कम्पनीले बजारमुखी बन्न दबाव दिन्थे भने अहिले निर्माताले दिइरहेका छन् । आर्थिक रुपमा कमजोर गायक र सर्जकले आफूले चाहेजस्तो गीत र म्युजिक भिडियो बनाउन नसकिरहेको उनको तर्क छ ।

‘प्रोड्युसरले टिकटकमा जम्मै गीत हिट हुने र भिडियो ट्रेन्डिङमा आउने तरिकाले गीत बनाऊ भनेर दबाब दिन्छन्,’ पछिल्ला केही वर्ष नेपाली सांगीतिक क्षेत्र हिँडिरहेको बाटोलाई इंगित गर्दै उनले भने, ‘बजारमखुी मात्र भइरहँदा साँच्चिकै राम्रो गीत–संगीत बाहिर आउन सकिरहेको छैन ।’

लामालाई आफ्नो गीत हिट होला नहोला, ट्रेन्डिङमा जाला–नजाला भन्ने आदि–इत्यादिले कुनै फरक पर्दैन । उनी हरसमेसा सकेसम्म स्तरीय दिन सकियोस् भन्ने कोसिसमा हुन्छन् । पैसा कमाउन मात्र संगीतमा नआएकाले आफू कहिल्यै बजारमुखी नहुने उनको प्रण छ । 

लामा र वशिष्ठ दुवैजना गीत गर्ने योजना बनाउँदा नै प्रस्ट थिए– यो गीत विशुद्ध संगीतप्रेमीका लागि हो । यो गीत टिकटकमा हिट हुँदैन ।

आफूले गरेको काममा कला र सिर्जनाप्रधान हुनुपर्छ भन्ने मानेमा लामा र डा. वशिष्ठ दुवैको मत समान छ । पेसाले चिकित्सक वशिष्ठ पनि आफूजस्तै आफ्ना सिर्जना भाइरल होऊन् भन्ने हेतुले नलेख्ने सन्तोषले बुझेका छन् । 

‘मनीषको धार नै यही हो, अफबिट । उनका यसअघिका सबै गीत अफबिटमै छन्, यो गीत त झनै अफबिटमा छ,’ लामाले सुनाए, ‘मैले उनले खोजेको चाहेको कुरालाई बुझेँ र त्यसैअनुरुप काम गर्न थालेँ ।’

वशिष्ठले लामालाई ‘शब्द’ भिडियोसहित एकवर्ष अघि पठाएका थिए । लामाले ६ महिना लगाएर यसलाई कम्पोज गरे । गीतको पहिलो खाका पठाए । डा. वशिष्ठलाई पहिलो खाका नै मन पर्यो । 

‘हामी दुवैले गर्न चाहेजस्तै यो गीतको कम्पोजिसन रेगुलरभन्दा फरक छ,’ लामाले गीतबारे भने, ‘यो एउटा प्रयोग पनि हो ।’

‘शब्द’बाट उनीहरु दुवैलाई धेरै अपेक्षा छैन । दुवैका दुई मात्र अपेक्षा छन् । पहिलो, भिडियोको अन्तिममा भनिएजस्तै स्रष्टाको सिर्जनाको कदर होस् । र, दोस्रो, नेपाली सांगीतिक क्षेत्रमा एउटा स्तरीय संगीत दिन सकियोस् । 

गीतबाट पाइरहेका प्रतिक्रियाले दुवैलाई दंग भने बनाएको छ ।

  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १७:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया