दिल्ली पुगेपछि बाबुरामले भने : विदेशमा उपचार गराउन आउँदा लज्जित छु

उपचारका लागि भन्दै भारतको राजधानी नयाँदिल्ली पुगेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई आफू लज्जित भएको बताएका छन्। 

उपचारका लागि भन्दै आइतवार दिल्लीतर्फ उडेका उनी हाल त्यहाँस्थित नेपाली दूतावासमा बसिरहेका छन्। उनले उपचारका लागि विदेश आउनुपरेकोमा दुःख लागेको बताएका छन्। 

आइतबार स्वास्थ्योपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा यस्तो बताएका हुन्। ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिँदै गर्दा अत्यन्त लज्जित/दुखित छु,' उनले भनेका छन्, '२१औँ शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु। सामान्य नागरिकको के होला?’

उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली गएका थिए। उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित थिए। उनले उक्त रोगको ललितपुरस्थित निदान अस्पतालमा परीक्षण-उपचार गराइरहेका थिए। 

तर चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंकापछि दिल्ली जान सिफारिस गरेकाले उनी त्यसतर्फ गएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताएका छन्। 

पाण्डेका अनुसार भट्टराईको दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुनेछ। भट्टराईसँग पत्नी हिसिला यमी र पाण्डे पनि गएका छन्। 





  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार २२:४७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया