अबको राजनीति निर्वाचन केन्द्रित हुने : कांग्रेस नेता रिजाल

कांग्रेस नेता मीनेन्द्र रिजालले अबको राजनीति निर्वाचनकेन्द्रित हुँदै गएको बताएका छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि संसद पुनर्स्थापना कि निर्वाचन भन्नेमा दुई धारमा नेपाली राजनीति बाँडिएको छ ।  

नेता रिजालले संसद पुनर्स्थापना भए पनि अबको राजनीतिको केन्द्रमा निर्वाचन नै रहने बताए । संविधान रक्षाका लागि प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नरहेको भन्दै उनले कांग्रेस संसद पुनर्स्थापना गराएर निर्वाचनमा जाने पक्षमा उभिनुपर्ने बताए । 

कांग्रेसमा सभापति शेरबहादुर देउवा निर्वाचन र वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनर्स्थापनाको पक्षमा वकालत गरिरहँदा नेता रिजालले सभापति र वरिष्ठ नेता दुवै सही भएको बताए । संसद पुनर्स्थापना नभए वर्तमान संविधान नै समाप्त हुने खतरा रहेको र निर्वाचन पनि आवश्यक रहेको उनको भनाइ छ । 

सोमबार ‘वर्तमान राजनीतिक चुनौती र अवसर : नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा रिजालसहितका कांग्रेस नेताले पार्टीको आन्तरिक एकतामा जोड दिएका थिए । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले त्यसलाई असंवैधानिक भन्दै विरोध गरेका थिए । 

तीन चरणको विरोध कार्यक्रम गरिसकेको कांग्रेसमा प्रतिनिधिसभा विघटनलाई लिएर दुई धार देखिएका बेला नेता रिजालले पार्टीसम्बद्ध युवाहरुसँग सोमबार छलफल गरेका हुन् । उनले सभापति र वरिष्ठ नेतालाई एक ठाउँमा उभिन पनि आग्रह गरे । ‘बाहिरी हल्ला भएजस्तो मतभेद पनि छैन,’ रिजालले भने, ‘केही मात्रामा फरक विचारचाहिँ छ, तर त्यसलाई एक बनाउनुपर्छ ।’ 

कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेकाले पुनर्स्थापनाको पक्षमै जानुपर्ने र त्यसपछि निर्वाचनमा जाने रिजालले बताए । 



नेपालमा कम्युनिस्टहरुले पञ्चायतकालदेखि गणतन्त्रसम्म आइपुग्दा कांग्रेसलाई भारतीय दलालको आरोप लगाउने गरेको, तर उनीहरुमा राष्ट्रप्रेम नरहेको उनले बताए । उनले नेपालमा भएको हरेक राजनीतिक समस्याको निकास कांग्रेसकै अग्रसरतामा भएको भन्दै वर्तमानमा पनि देखिएको समस्या कांग्रेसकै अग्रसरतामा समाधान हुने बताए । 
 
कार्यक्रममा नेपाल तरुण दलका पूर्वसभापति विनोद कायस्थ, प्रदेश ३ की सांसदद्वय बिजुला बर्मा र राधा घले, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, धमेन्द्र झा, महासंघका वर्तमान उपाध्यक्ष विपुल पोखरेल, महासविच रमेश विष्ट लगायत सहभागी थिए । 

कार्यक्रममा दीपा शिवाकोटी, रमेश महत, लिपेन्द्र विष्ट, मिथलेस मिश्र, खगेन्द्र कर्ण, सूर्यराज लामिछानेसहित चार दर्जन युवाले वर्तमान राजनीतिक सन्दर्भमा कांग्रेसको भूमिकाबारे सुझाब दिए ।  



वक्ताहरुले कांग्रेस आन्तरिक रुपमा बलियो हुनुपर्ने, कम्युनिस्टहरुसँग टाढै रहेर अघि बढनुपर्ने, सरकारका गलत कामको भण्डाफोर गर्दै अघि बढनुपर्नेमा जोड दिएका थिए । 

  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १९:१९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया