नेप्सेमा आउट साइडर ट्रेडिङ : कारबाही प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

पछिल्लो ८ दिनसम्म लगातार १० प्रतिशतले बढेको निफ्राको सेयरमा हिजो मंगलबार नेगेटिभ सर्किट लागेको थियो । यस्तै निफ्राको  सेयर आज (बुधबार) इतिहासमै पहिलो पटक १०० प्रतिशतले घट्न पुगेको नेप्सेको तथ्यांकले देखाएको छ ।

नेप्सेकै तथ्यांकलाई आधार मान्ने हो भने निफ्राको सेयर प्रतिकित्ता ५९४ रुपैयाँ ऋणात्मकमा कारोबार भइरहेको छ । जबकि नियमत: कुनै पनि कम्पनीको सेयर एक दिनमा १० प्रतिशतभन्दा बढीले घटबढ हुन सक्दैन ।

लामो समयदेखि लगानीकर्ताले नेपालको सेयर बजारमा इन्साइडर ट्रेडिङ (भित्री गोप्य सूचनाको आधारमा कारोबार) भइरहेको बताउँदै आएकोमा आजको नेप्सेको कारोबार प्रणालीले आउट साइडर ट्रेडिङ (बाहिरी रूपमै सूचना बेचेर गरिने कारोबार) भइरहेको पुष्टि गरेको लगानी कर्ताहरूको भनाइ छ ।

‘अहिले लगानीकर्ताले नेप्सेको तथ्यांकमा हेरेर जसरी सेयर कारोबार गरिरहेका छन् यो सरासर गलत र भ्रम मात्रै हो,’ लगानी कर्ता नवराज घिमिरेले भने, ‘वास्तविक रूपमा कम्पनीको सेयर बढेको हुन्छ तर नेप्सेले देखाउने तथ्यांकमा घटेको देखाइन्छ ।’ जसका कारण नेप्सेले देखाउने इन्डेक्स तथा बजार पुँजीकरण माथि नै प्रश्न उठेको र त्यसरी देखाइएको तथ्यांक नै अविश्वसनीय रहेको उनको आरोप छ । 

पछिल्लो समय नेप्सेको लापरबाही, गैरजिम्मेवारी र मनपरी तन्त्र मौलाउँदै गएको र यस विषयमा नियामक निकाय धितोपत्र बोर्ड मौन बस्दा लगानी कर्ताहरू थप मारमा परेका छन् । नेप्सेले कुनै गल्ती गर्‍यो वा त्यस विषयमा उजुरी गर्‍यो भने नियामक निकाय धितोपत्र बोर्ड पत्र काटेर स्पष्टीकरण सोधेर पन्छिँदै आएको छ ।  

‘सेबोनले लाखौं लगानी कर्ताको लगानी रहेको तथा ३५ खर्बको पुँजीकरण भएको सेयर बजार बचाउन सो सम्बन्धमा विस्तृत छानबिन गरेर नेप्सेलाई कारबाहीको दायरामा ल्याउने कि पत्र काटेर पन्छिने ? अर्का एक लगानीकर्ताले प्रश्न गरे । 



साथै नेप्सेले सीमित लगानी कर्ताको स्वार्थमा लाखौं लगानी कर्तालाई मारमा पार्दै तथ्यांक नै तलमाथि पारेर सेयर कारोबार गराउँदै आएको समेत लगानीकर्ताको आरोप छ । पछिल्लो समय बढ्दो बजारमा केही समयअघि प्राथमिक सेयर (आईपीओ) जारी गरेको निफ्राको सेयरमा दोस्रो बजारमा लगानीकर्ताको आकर्षण देखिएको थियो ।

दैनिक १० प्रतिशतले बढेको बजारमा मंगलबार केही समयको अन्तरालमा २० प्रतिशतको घटबढ हुनपुग्यो । नेप्सेको तथ्यांकलाई आधार मानेर सेयर कारोबार गर्दा भित्री तथ्यांक भने अर्कै रहेका कारण पछिल्लो समय लगानी कर्ताहरू मारमा पर्ने गरेको सम्बद्ध लगानी कर्ताको आरोप छ ।



यता नियामक निकाय धितोपत्र बोर्डले भने नेप्सेका कारण लाखौं लगानी कर्ता मारमा परेको भन्दै नेप्सेलाई चिठी नै काटेर कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । ‘नेप्सेले डाटामा म्यानुपुलेसन गरेर सिस्टम नै बिगार्‍यो भन्ने गुनासो आएपछि हामीले लिखित रूपमै पत्र काटेर स्पष्टीकरण सोधेका छौं,’ बोर्ड उच्च स्रोतले भन्यो, ‘नेप्सेका कारण लाखौं लगानी कर्ता मारमा परेको देखियो थप छानबिन गरेर कारबाही गर्नेछौं ।’

नेप्सेको साइटमा पटक–पटक समस्या आएको भन्दै तथ्यांकमा खेलेर लगानी कर्ता मारमा पारेका कारण अब नयाँ स्टक एक्स्चेञ्ज चाहिएको सम्बद्ध सरोकारवालाहरू बताउँछन् ।

‘नेप्सेले जहिले पनि तथ्यांकमा म्यानुपुलेसन गरेर बजारमा खेलबाड गर्छ अनि गुनासो गर्‍यो वा नियामक निकायले स्पष्टीकरण सोध्यो भने सफ्टवेयरमा समस्या आएको भन्दै पन्छिँदै आएको छ,’ एक लगानीकर्ताले भने, ‘नेप्सेले आफ्नो स्वार्थमा तथ्यांकमा थिम्यानुपुलेसन गर्दा लाखौं लगानीकर्ताले अर्बौं रकम गुमाएका छन् त्यसको क्षतिपूर्ति कसले दिन्छ ?’ बजारमा स्वच्छता ल्याएर पारदर्शी र प्रतिस्पर्धी बनाउनका लागि समेत नयाँ स्टक एक्स्चेञ्जको आवश्यकता रहेको लगानीकर्ताहरू बताउँछन् ।

पुनः सुरु भयो निफ्राको कारोबार

नेपाल इन्फ्रस्टक्चर बैङ्कको सेयर कारोबार पुनः सञ्चालनमा आएको छ  ।

नेप्सेले आज साइटमा समस्या आएको भन्दै निफ्राको कारोबार निलम्बन गर्दै रोक्का गरेको थियो । प्राविधिक समस्याका कारण बन्द भएको निफ्राको सेयर कारोबार फेरि सुरु भएको छ । समस्या सामाधानसँगै सेयर कारोबार खुलेको हो ।

निफ्राको सेयर कारोबार खुलेपछि नेप्से सूचक पनि हरियो देखिएको छ । निफ्राको सेयर मूल्य शतप्रतिशत घट्दा रातो भएको नेप्से सूचक समस्या सामाधानसँगै हरियो देखिएको हो ।

  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १४:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया