इज्जत जोगाउनका लागि भए पनि राजीनामा दिन प्रधानमन्त्रीलाई झाको सुझाव

नेकपा प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन् ।

उक्त समूहले बुधबार जनकपुरधाममा निकालेको विजय जुलुसपछिको कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री झाले प्रधानमन्त्री ओलीलाई इज्जत जोगाउनका लागि पनि राजीनामा दिन सुझाव दिएका हुन् । 

नेता झाले नेपाली जनताले प्रतिगामी शक्तिलाई एक पटक फेरि परास्त गरेर देखाएकाले प्रधानमन्त्री ओलीलाई नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । उनले अब नेपाली राजनीतिमा ओलीको कुनै काम नरहेकाले राजनीतिबाट सन्यास लिनुपर्ने सुझाव समेत दिए ।

झाले भने, ‘पार्टीले तपाईंलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । इज्जत जोगाउन भए पनि राजीनामा दिनुस्, बालकोट गएर भुजा फाँक्नुस् ।’ उनले ओली जस्तो नेताको नेपाली राजनीतिमा कुनै काम नरहेको समेत बताएका छन् ।

नेता झाले पार्टीमा चोर डाँका तथा फटाहाहरुको कुनै काम नरहेकाले त्यस्ताहरुलाई पार्टीमा स्थान दिन नहुने बताए । उनले भने, ‘नेपाली जनताको यो जितपछि अब पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउनु पर्छ, त्यसैले पार्टीबाट चोर, डाँका, फटाहाहरुलाई बाहिरको बाटो देखाउनु पर्छ ।’

नेता झाले प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई समेत दुई दिनभित्र जनकपुरधाम छोड्न चेतावनी दिएका छन् । उनले भने, ‘दुई दिनभित्र तपाईं स्वयं जनकपुरधाम छोडेर गइहाल्नुस्, नभए हामी कालोमोसो लगाएर लखेटेर भगाउने छौं ।’



कोणसभा अघि दाहाल नेपाल समूहको जनकपुरधामस्थित पार्टी कार्यालयबाट निस्केको विजय जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनकचोकमा पुगेको थियो ।



  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १६:५२:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया