वीरेन्द्रनगरमा बादी समुदाय : जग्गा नपाएसम्म मुख्यमन्त्री कार्यालय नछाड्ने

खेतीयोग्य जमिनको माग गर्दै बिगत चार दिनदेखि कर्णालीको बादी समुदाय वीरेन्द्रनगरमा छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्नामा बसिरहेका उनीहरुमा माग कर्णाली प्रदेश सरकारले जग्गा उपलब्ध गराइदियोस् भन्ने छ। 

सुरुमा दैलेखको डुगेश्वर गाउँपालिका–५ र दुल्लु नगरपालिका–१ का गरी करिब ४०० भन्दा बढी बादी समुदायका व्यक्तिहरु धर्नामा उपस्थिति थिए।

धर्नामा सामेल हुन आउने बादीहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ। पछिल्लो समय दैलेखका मात्रै नभएर सुर्खेत, जाजरकोट, कालिकोट लगायतका ठाउँबाट पनि बादी समुदायका मानिसहरु जग्गाको माग गर्दै वीरेन्द्रनगरमा आएका छन्। 

बुधबारसम्म सुर्खेतको झुप्रा खोला, मेहलकुना, छिन्चु, बाबियाचौर, रानीघाट, कालिकोट लगायतका ठाउँबाट आएका करिब ५०० जना थपिएका छन्। बिहीबार दैलेख र सुर्खेतका गरेर थपबादी वीरेन्द्रनगर आइरहेको बादी समुदायका अगुवा बिष्णुबहादुर बादीले बताए। 

‘यसअघि ४०० बढी भए पनि अहिले झण्डै एक हजारको हाराहारीमा हामी जम्मा भएका छौँ’ विष्णुबहादुरले भने।
सुर्खेतकै सिम्ता गाउँपालिकाको राकम, बोटेचौर, मेहलकुना, रानीघाट, जाजरकोटका विभिन्न ठाउँ र कालिकोटबाट पनि बादी समुदायका व्यक्तिहरु आउँदै गरेको उनले जानकारी दिए।



‘हाम्रो अन्तिम माग जमिन प्राप्ति हो। जमिन नदिएसम्म हामी यहाँबाट जाँदैनौं।’ 

हिजोआज उनीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पर्खिरहेका छन्। मुख्यमन्त्री शाही काठमाडौँमा रहेको र आउनेबित्तिकै आफ्नो मागहरु गम्भीरतापूर्वक राखेर जग्गाको माग गर्ने उनको भनाइ छ। 



मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको खुल्ला आकाशमुनि बसिरहेका उनीहरुले खानपानमा समस्या भएको बताएका छन्। सुत्नका लागि भने उनीहरुले कपडा बोकेर आएका  छन्। 

‘केही व्यापारी, समाजसेवीको सहयोगबाट पाएको खाद्यान्नले बाँचिरहेका छौँ, ‘धर्नामा रहेका सेते बादीले भने, ‘कर्णाली प्रदेश सरकारको शरणमा हुँदा कत्ति पनि सहयोग पाइएको छैन।’ खुल्ला आकाशमुनि रहेका उनीहरु बिरामी समेत पर्न थालेका छन्। 

बुधबार दिउँसो ३० बर्षीया फडेला (फ्याउटो)बादी बेहोस भएर ढलेपछि प्रहरीले उपचारका लागि प्रदेश अस्पताल कालागाउँमा लगेको थियो। उपचार पछि उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। 

कर्णालीका १० जिल्लामा ५ हजार बादी 

कर्णाली प्रदेशका १० वटा जिल्लामा गरी करिब ५ हजारको संख्यामा बादी समुदायको बसोबास छ। 

२०६८ सालको जनगणना अनुसार सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालले निकालेको तथ्यांक अनुसार कर्णाली प्रदेशमा ४ हजार ९५५ जना बादी समुदायका मानिसहरु रहेका छन्। 

जसमा सुर्खेतमा सबैभन्दा १ हजार ८५५ जना छन्। यस्तै सल्यानमा ७७३, रुकुम पश्चिममा ६५७, दैलेखमा ७९८, जाजरकोटमा एक हजार २१७, कालिकोटमा ९३, जुम्लामा २८, डोल्पामा ६, मुगुमा ६५ र हुम्लामा एक सय २० जना रहेका छन्। 

  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १९:६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया