नेकपा प्रमुख सचेतकमा विशाल भट्टराई, देव गुरुङ बर्खास्त

काठमाडौं : विभाजित नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी  शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त गरेका छन्।

खोटाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भट्टराईलाई पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकमा शुक्रबार नियुक्त गरेका हुन्। 

ओलीले भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेसँगै यसअघिका प्रमुख सचेतक देव गुरुङलाई बर्खास्त गरेका छन्। 

प्रधानमन्त्री ओलीले शुक्रबारै संसदीय दलका उपनेता सुवास नेम्वाङको उपस्थितिमा भट्टराईलाई प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन्। भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन्। अनेरास्ववियुको राजनीतिबाट एमालेको राजनीतिमा आएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियु सभापति भएका थिए।

नेकपा संसदीय दलको विधान अनुसार नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गर्ने व्यवस्था छ। नेकपा विभाजनले अझै पनि कानुनी मान्यता पाइसकेको छैन। यस्तो अवस्थामा नेकपा कानुनी रुपमा एकै छ। अर्कातिर नेकपा संसदीय दल पनि अहिलेसम्म एउटै छ। यसअघि नेकपा प्रमुख सचेतकमा गुरुङ र सचेतक शान्ता चौधरी थिए। गुरुङ दाहाल-नेपाल समूहतिर छन् भने चौधरी ओलीतिर छिन्। यस्तोमा सचेतक चौधरीलाई यथावत कायम गरिएको छ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै नेकपा व्यवहारिक रुपमा विभाजित छ। यस्तोमा दाहाल–नेपाल समूहले संसदीय दलको छुट्टै भेला डाकेर पुष्पकमल दाहाल प्रचण्डलाई नेता छानेको छ।



सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि दाहाल-नेपाल समूह अलमलमा छ। ओलीलाई दलको नेताबाट पहिले हटाउने या संसदमा अविश्वास प्रस्ताव लैजाने कुरामा यो समूह अलमलिएको छ।



  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १५:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया