झा दम्पती बेपत्ता प्रकरण : घरमा रुवाबासी, गाउँमा त्रास
अपहरणमा परेका दम्पत्ती । तस्बिर : फरकधार

महोत्तरीबाट अपहरणमा परेका एक दम्पतीको खोजबिन प्रहरीले तिव्र बनाए पनि अहिलेसम्म कुनै सुइँको पाउन सकेको छैन ।

महोत्तरीको पिपरा गाउँपालिका ५ का एक दम्पतीको सोमबार मध्यरातमा अपहरण भएको घटनामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिई सोछपुछ जारी राखेको छ ।
घरमा सुतिरहेका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवी झाको अपहरण भएको थियो ।

घरको तल्लो तल्लामा सुतेकी झाकी कान्छी बुहारी उषा झा र नातिनातिना भने सकुशल छन् । बुहारी उषाले भनिन्, ‘आफू बिहान उठ्दा घरमा रगतका छिटाहरू देखें, बुवाआमा सुतेको ठाउँमा गएर हेर्दा त्यहाँ उहाँहरू दुवैजनालाई नदेखेपछि मैले छिमेकीलाई खबर गरें ।’

छिमेकीले प्रहरीलाई तत्कालै खबर गरे पनि प्रहरी भने डेढघण्टापश्चात् घटनास्थल पुगेको स्थानीयले बताए । घटनास्थलमा महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसी र प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट सहितको टोली पुगेर अनुसन्धान गरेका छन् । घटनास्थलमा तालिम प्राप्त कुकर पनि लगिएको थियो ।

गायव भएका दम्पतीको घरमा अहिले रुवावासी चलिरहेको छ । झा दम्पती अलग–अलग कोठामा सुत्थे । मुसाफिर पुरानो घरमा सुत्थे भने गीता देवी नवनिर्मित पक्की घरमा । नवनिर्मित घरमा ढोका लगाइएको छ भने झ्यालहरू लगाउन बाँकी नै छ । 

घटनाको प्रकृति हेर्दा घरको पर्खाल नाघेर दुवै दम्पतीलाई ओछ्यानसहित घिसार्दै अपहरण गरिएको प्रहरीले जनाएको छ । गीता देवी सुनेतको कोठा वरिपरि रगतका छिटा समेत देखिएको छ । घर पुग्न पिसिसी ढलान गरिएको गल्लीमा समेत रगतका छिटा जस्तै टाटा देखिएका छन् । यसकारण दम्पतीको हत्या समेत भइसकेको हो कि भन्ने प्रहरीको आशंका छ ।



अपहरित दम्पतीका दुई बुहारी रातभरि जाग्राम बसेरै रात बिताउँछन् ।



अपहरित मुसाफिरका बहिनी शान्ति देवीले भनिन्, ‘दाइ भाउजूको लाशै भए पनि हामीलाई बुझाएको भए सन्तोष हुन्थ्यो तर उनको कुनै खबर अहिलेसम्म नआएकाले हामी बेचैन छौँ । दुवैजनाको स्वभाव एकदमै सरल थियो, सबैसँग सुमधुर सम्बन्ध राख्ने प्रयास गर्थे । तर खोई कसको आँखा लाग्यो । दाइ–भाउजूको अपहरणसँगै परिवार नै छिन्नभिन्न भएको छ ।’

बहिनी शान्तिका अनुसार मुसाफिरको पछिल्लो समय स्वास्थ्य एकदमै कमजोर बन्दै गइरहेको थियो । उनलाई खाना नपच्ने समस्या थियो, त्यसैले उनी खाना पनि राम्ररी खान छाडेका थिए । मुसाफिर साक्षी बसेको मोही जग्गाको विवादको सम्बन्धमा फैसला आएलगत्तै उनलाई उपचारका लागि वीरगञ्ज लाने योजना परिवारको थियो ।

बुवाको अपहरणको खबर पाए लगत्तै माइत पुगेकी छोरी बेबी मिश्रले भनिन्, ‘मेरा बुवाले कसको के बिगारेका थिए र यो अवस्था आयो ? आमाबुवाको अवस्था अज्ञात हुँदा हामी पनि डरका बीच बाँचिरहेका छौँ ।’ उनले बुवाआमाको अवस्था चाँडै पत्ता नलागे समाजलाई लिएर कडा आन्दोलन गर्ने चेतावनी दिइन् । गाउँमै अपहरणका घटना भएकाले स्थानीयमा समेत त्रासको माहोल छ । 

जग्गा विवादका कारण अपहरण भएको त होइन ?

अपहरित मुसाफिर झा महोत्तरीको लोहारपट्टी नगरपालिका १ बगरामा रहेको एक मोही जग्गाको साक्षी बसेका थिए । मंगलबार सोही जग्गा विवादसम्बन्धी फैसला जिल्ला अदालत महोत्तरीले सुनाउने तयारी गरेको थियो । तर, सोमबार राति नै सासू–ससुराको अपहरण भएको जेठी बुहारी अंशु झाले बताइन् ।

अंशु भन्छिन्, ‘बगरामा रहेको ४ बिघा मोही जग्गा विवादमा मेरो ससुरा साक्षी बसेका थिए, बगराका रामजी भन्ने एक व्यक्ति उनलाई भेट्न पटक–पटक आउँथे । त्यो दिन पनि आएका थिए, मंगलबार फैसला आउने भएकाले उनीसँगै मेरो ससुरा बाहिर गएका थिए ।’

अंशुका अनुसार त्यो दिन मुसाफिर घर फर्केर पनि आए । सबै ठीक थियो । तर, राति सासू ससुराको अपरहण भएको सुइँको समेत मैले पाइनँ जबकि ससुरा सुतेको छेउकै कोठामा म सुतिरहेकी थिएँ । 

ती दम्पतीको अपहरण हुनुभन्दा एक दिन अगाडि गाउँकै एक व्यक्तिसँग गीता देवीको विवाद भएको थियो । बुहारी अंशुका अनुसार त्यो विवाद पनि जग्गालाई नै लिएर भएको थियो । त्यो विवाद भने साक्षी बसेको मोहीको जग्गालाई लिएर नभई उनीहरूले बेचेको जग्गाका कारण भएको थियो । 

पुरानो घर फुसको थियो त्यसैले पक्की घर बनाउनका लागि १० धुर जग्गा उनीहरूले बेचेका थिए अंशुले बताइन् । त्यो जग्गा गाउँकै एक व्यक्तिले लिएका थिए । ७ लाख ५० हजार रुपैयाँमा त्यो जग्गा बिक्री गरिएको थियो । जग्गा किन्ने व्यक्तिले सुरुमा ५ लाख रुपैयाँ दिने र बाँकी रुपैयाँपछि दिने भन्दै जग्गा रजिस्ट्रेसन गरिदिन दबाब बनाए जुन कुरो मेरो सासूले मान्नु भएन र विवाद भयो बुहारी अंशु बताउँछिन् । विवाद भएकै दिन मध्यरातमा उनीहरूको अपहरण भएको थियो । 

मालपोतका अवकाश प्राप्त कर्मचारी थिए मुसाफिर

अपहरित मुसाफिर मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् । उनी खरिदार हुँदै नायब सुब्बासम्म पुगेर १० वर्ष अगाडि अवकाश भएका थिए । ‘दाजुको स्वभाव एकदमै सरल थियो’, भाइ विजयकान्त झाले बताए, ‘सीधा सादा तथा इमान्दारीपूर्वक जीवन व्यतित गर्ने मेरो दाइको कसैसँग दुश्मनी हुनसक्छ जस्तो मलाई लाग्दैन ।’ 
उनी मालपोतको पूर्व कर्मचारी भएकाले जग्गासम्बन्धी कुनै समस्या हुँदा वा विवाद हुँदा उनलाई समाधानका लागि खोजी हुने गथ्र्यो र उनले सकभर सबैलाई सहयोग गर्ने प्रयास समेत गर्ने गर्थे । 

प्रहरी ‘क्लु’ खोज्नमा व्यस्त

अपहरण भएको ५ दिनसम्म पनि अवस्था अज्ञात रहेकाले यो घटना प्रहरी प्रशासनका लागि समेत चिन्ताको विषय बनेको छ । प्रहरीको टोली दैनिक सहोडवा पुगेर अनुसन्धानलाई तीव्रता दिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसी स्वयं त्यहाँ पुगेर यस घटनाको अनुसन्धान गरिरहेका छन् । यद्यपि प्रहरी प्रशासन अझै अपहरणको क्लु खोज्नमै व्यस्त रहेको प्रहरी उपरीक्षक केसीले बताए ।

यता प्रदेश २ प्रहरीका प्रमुख धीरज प्रताप सिंहले यो घटनाको अनुसन्धानको क्रममा २० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरिएको जानकारी दिए । उनले ३ जनालाई अनुसन्धानकै लागि हिरासतमा राखिएको बताए । यो घटनाको क्लु खोज्न अझै हामी व्यस्त छौँ, डीआइजी सिंहले भने, ‘प्रदेश प्रहरी, जिल्ला प्रहरी तथा इलाका प्रहरीको संयुक्त टोली अपहरणको क्लु खोज्न व्यस्त छन् ।’

डीआईजी सिंहले झा दम्पतीबारे अहिलेसम्म केही खुल्न नसकेको बताएका छन् । उनले भने, ‘घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीब्र रूपमा भइरहेको छ । घरमा रहेकी उनकी बुहारी र स्थानीयसँग समेत यस विषयमा प्रहरीले सोधपुछ गरिरहेको छ ।’

  • प्रकाशित मिति : फागुन १५, २०७७ शनिबार १३:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया