कांग्रेसले कसरी हेरिरहेकाे छ प्रचण्डलाई ? कसरी बुझेको छ ओलीलाई ?

गत पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित हुन पुगेको नेकपाका कारण कांग्रेस निर्णायक भूमिकामा छ । यद्यपी कांग्रेस तत्काल कसैको पक्षमा नखुल्ने निती अख्तियार गर्ने निर्णय गरेको छ । गत बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले औपचारिक रुपमै नेकपा विभाजन नहुन्जेलसम्म कांग्रेस तटस्थ बस्ने निर्णय गर्यो ।

नेकपाभित्र घरझगडा चलेकाले कांग्रेस नेताहरुले कसैलाई उचालेर नहिँड्ने निष्कर्ष निकालेको बताएका छन् । पदाधिकारी बैठकमा सहभागी एक नेताका अनुसार कानुनी रुपमा नेकपा दुई नभएकाले तत्काल कांग्रेस कसैको पक्षमा नजाने सर्वसम्मत विचार प्रकट भएको थियो । 

जसको पछाडी कांग्रेसको आफ्नो दीर्घकालीन रणनीति देखिन्छ । गत निर्वाचनपछि बहुमतमा आएको कम्युनिष्ट पार्टी  विभाजन हुने निश्चित देखिएपछि कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरेर बलियो रणनीति बनाउनुपर्नेमा नेताहरुले जोड दिएका छन् । 

सह–महामन्त्री डा. प्रकाशशरण महतकै भनाइमा अहिले अपरिपक्व ढंगले नेकपाको कुनै एक पक्षमा कांग्रेस देखिए पनि भोली केही कारण दुवै खेमा एक भएको खण्डमा कांग्रेस मूर्ख खेलाडी सावित हुने देखिन्छ । 

यही कारण पनि अहिले कांग्रेस नेकपाको विभाजित कुनै पनि खेमाको पक्षमा नउभिने निष्कर्ष निकालेको नेता महतले बताए । २३ गते बस्न लागेको पुर्नस्थापित प्रतिनिधिसभाको बैठकमा कांग्रेस के गर्छ ?  नेकपाको कुन पक्षको साथमा उभिन्छ ? वा कसैको साथ नदिएरै तटस्थ बन्छ भन्ने चासो अहिले चौतर्फी छ । 

प्रमुख नेताहरु तटस्थ हुने पक्षमा भए पनि कांग्रेसभित्रका केही नेताहरु भने अहिले पनि फरक फरक मत राख्दै आएका छन् । प्रतिनिधिसभा विघटनपछि फरक फरक धारणा राख्दै आएका कांग्रेस नेताहरु पछिल्लो समय नेकपाको घरझगडाभित्र नमुछिने निर्णयमा पुगेका छन् । आम मानिसका लागि कांग्रेस कसको पक्षमा उभिन्छ भन्ने चासो भने बढिरहेको छ । 



प्रचण्डबारे कांग्रेसको बुझाई 

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि नेकपाको एउटा समूहको नेतृत्व गरिरहेको प्रचण्ड र माधव नेपालले सार्वजनिक रुपमै कांग्रेसलाई आगामी सत्ताको नेतृत्व गर्न अफर गरिरहेका छन् । 



प्रचण्ड–नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेरै पनि संयुक्त आन्दोलनदेखि संयुक्त सरकारसम्मको अफर गरेका थिए । तर, देउवा टसमस भएनन् ।

११ फागुनमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गरेपछि १२ फागुनमा प्रचण्ड र नेपाल पुनः देउवाकहाँ पुगेर सत्ता साझेदारीका लागि आग्रह गरे । तर, देउवा तयार भएनन् । आखिर प्रचण्ड र नेपाल पक्षको बारेमा के छ कांग्रेसको बुझाई ? 

०७२ असोज ३ मा संविधानसभाले नयाँ संविधान जारी गर्दा प्रचण्ड तत्कालीन एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री ओलीले सत्तासमीकरण बनाए । उक्त समीकरणबाट ओली प्रधानमन्त्री बने । तर, सहमती अनुसार एक वर्षपछि ओलीले प्रचण्डलाई सत्ता नेतृत्व सुम्पिन तयार नदेखिएपछि प्रचण्डले कांग्रेससँग नयाँ समीकरण बनाए ।

कांग्रेससँग समीकरण बनाएर प्रचण्ड प्रधानमन्त्री बने । त्यही समीकरणले नयाँ संविधानपछि मुलुकमा तीन तहको निर्वाचन सुरु भयो । स्थानीय तहको निर्वाचन प्रचण्डको नेतृत्वमा भयो भने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कांग्रेस सभापति देउवाको नेतृत्वमा । 

निर्वाचनमा मात्रै होइन, निर्वाचनपछिको सत्ता सहयात्राबारे कांग्रेसलाई वचन दिएका प्रचण्ड प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा ओलीले नेतृत्व गरेको तत्कालीन एमालेसँग मिल्न पुगे । चुनावी  गठबन्धन मात्र नभइ पार्टी एकीकरणसम्मको समीकरण बनाए । 

स्थानीय तहको निर्वाचनमा कांग्रेसले अनौपचारिक रुपमा आफ्नो गढ मानिने चितवनको भरतपुरमा प्रचण्डको छोरीविरुद्ध उम्मेदवारी दिएन । जसका कारण कांग्रेस सभापति देउवाले पार्टीभित्र तीव्र आलोचनासमेत खेपे ।

यसरी निर्वाचनमा कांग्रेसको उपयोग गरेर प्रचण्डले धोका दिएकाले पनि देउवा प्रचण्डसँग सशंकित छन् । पुनः निर्वाचन आउँदै गर्दा सत्ता समीकरणमा गए पनि प्रचण्डले धोका दिने त होइनन् भन्ने आशंकामा छन् ।

पार्टीभित्रैबाट नेपाल–दाहालको बलियो समूहसँग समीकरण गरेर ओलीविरुद्धको मोर्चामा सामेल हुनुपर्ने बलियो आवाज उठे पनि देउवाले विगतलाई सम्झेर सकारात्मक बन्न सकेका छैनन् । 

ओलीबारे कांग्रेसको बुझाई  

प्रचण्ड र नेपालसँग मिलेर संयुक्त आन्दोलनमा नगएपछि पार्टी भित्रै र बाहिर पनि कांग्रेस नेतृत्वमाथि प्रधानमन्त्री ओलीप्रति सकारात्मक रहेको आरोप लागिरहेको छ । यद्यपी प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि कांग्रेसले त्यसलाई असंवैधानिक भनेको थियो । 

पछि केन्द्रीय समिति बैठकले विरोध मै जाने निर्णय गर्यो । प्रधानमन्त्रीको कदमविरुद्धमा तीन चरणको आन्दोलन पनि भयो । कांग्रेसभित्र र बाहिर सभापति देउवाको इच्छाविपरित उक्त आन्दोलन भएको टिप्पणी आए ।

तर, गत बिहीबार बसेको पदाधिकार बैठकमा सभापति देउवाले नै तत्कालै प्रम ओलीसँग पनि जान नसकिने बताए । दाहाल–नेपाल समूहको पक्षमा नदेखिएका देउवा ओलीलाई साथ दिने पक्षमा पनि नभएको कांग्रेस नेताहरु बताउँछन् ।

प्रतिनिधिसभा विघटनपछि सार्वजनिक रुपमा प्रधानमन्त्री ओलीले कमाएको आलोचनालाई कांग्रेसले बोक्न नसक्ने देउवा निकट नेताहरुले बताएका छन् । 

‘बरु कांग्रेस निर्वाचनमा जान तयार हुनसक्छ,’ देउवा निकट एक नेताले भने, ‘तर, ओलीलाई बोकेर आलोचनाको खाडलमा फस्ने पक्षमा हामी छैनौं ।’ प्रधानमन्त्री ओलीसँग कांग्रेस नजाने अर्को कारण आउँदो निर्वाचन पनि हो । 

बहुमत प्राप्त भएपछि गठन भएको सरकारबाट जनता अहिले सन्तुष्ट छैनन् । ओलीकै नेतृत्वमा सरकार आलोचित भएपछि अहिल्यै ओलीको समीकरणमा जाँदा जनताको असन्तुष्टि कांग्रेसमाथि पनि पोखिनेमा कांग्रेस सजक देखिन्छ ।

सरकारप्रतिको वितृष्णालाई नै कांग्रेसले आफ्नो भोट ल्याउने अस्त्रका रुपमा हेरेको छ । त्यही भए पनि अहिलेको माहोल कांग्रेसले बिगार्न चाहेको छैन । 

  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १८:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया