नयाँ राजनीतिक परिदृश्य : एउटै मञ्चबाट प्रधानमन्त्री ओली र विप्लवको सम्बोधन

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लागेको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै आज विप्लव भूमिगत राजनीति त्यागेर सार्वजनिक हुँदैछन् । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो । 

आज सार्वजनिक हुँदै गरेका विप्लवले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँगै राष्ट्रिय सभागृहमा एउटै मञ्चबाट सम्बोधन गरेर खुला राजनीतिको दोस्रो इनिङ्गको सुरुवात गर्न लागेका हुन् । 

आज दिउँसो २ बजे सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले विशेष सभालाई सम्बोधन गर्दै विप्लवले मूलधारको राजनीतिमा आएको घोषणा हुने गृहमन्त्रालयले जनाएको छ । हिजो बिहानको वार्तापछि सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएको थियो । 

तर, सहमतिका बुँदाहरु भने आज सोही मञ्चबाट मात्रै सार्वजनिक हुनेछ । आजको सम्बोधनमा विप्लवले आफ्नातर्फबाट धारणा राख्नेछन् । तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई रिहाइ गर्न हिजै सर्कुलर जारी गरेको छ । 

सरकार र विप्लव समूहबीच विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने तथा विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ । 

सहमतिपछि मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । उक्त विषयमा सहजीकरण भइरहेको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । 



प्रहरीका अनुसार २७ फागुन २०७५ मा प्रतिबन्ध लागे यता विप्लव समूहका २०९८ जना नेता कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये १२६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना अझै हिरासतमै छन् ।

गृह मन्त्रालयले विप्लव समूहका नेता कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ ।



  • प्रकाशित मिति : फागुन २१, २०७७ शुक्रबार ७:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया