प्रदेश अस्पतालका कर्मचारीले पाएनन् तलब, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी
फाइल तस्बिर

प्रदेश अस्पताल सुर्खेतमा कार्यरत करारका स्वास्थ्यकर्मीहरुले अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी दिएका छन् । तलब सुविधा नपाएको भन्दै कर्मचारीहरुले सेवा बन्द गर्ने चेतावनी दिएका हुन् । 

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट विशेषज्ञ सेवाको लागि पर्याप्त बजेट नआउँदा स्वास्थ्यकर्मीहरुले माघ महिनादेखिको तलब सुविधा पाएका छैनन् । आफूहरुको माघदेखिको तलब पाउने नपाउने अन्यौल भएको, अस्पतालले पनि कहिले करारलाई अवकाश दिने, कहिले निरन्तरता दिने भन्ने जस्ता कुराहरुले काम गर्ने वातावरण बिग्रँदै गएको उनीहरुले बताएका छन् । 

विशेषज्ञ सेवा अन्तर्गतका स्वास्थ्यकर्मीहरुले शुक्रबार अस्पतालका निर्देशक डा. डम्बर खड्कालाई ज्ञापन पत्र बुझाउँदै फागुन मसान्तभित्र तलब, भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन् । 

नागरिकको स्वास्थ्य सम्बन्धी हकको रक्षा तथा अस्पतालमा विशेषज्ञ सेवा अन्तर्गत कार्यरत जनशक्तिको मनोबल उच्च राख्न आवश्यक कारबाहीका लागि ज्ञापन पत्र बुझाइएको उनीहरुको भनाइ छ । फागुन मसान्तभित्र सुनुवाइ नभएमा चैत १ गतेदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।
 
करारका कर्मचारीहरुको सम्बन्धमा ठोस निर्णय लिनुपर्ने स्वास्थ्यकर्मी भक्तबहादुर बिसीले बताए । अस्पताल तथा प्रदेश सरकारबाट स्वास्थ्यकर्मीहरुमा काम गर्ने हौसला थप्दै जानुपर्नेमा निराशापन थपिदै गएको उनको भनाइ छ । 

प्रदेश अस्पतालका निर्देशक डा. खड्काले प्रदेशको सामाजिक विकास मन्त्रालयबाट पर्याप्त बजेट नआउँदा विशेषज्ञ करारका कर्मचारीलाई तलब सुविधा दिन नसकिएको बताएका छन् । 

‘चालु आर्थिक वर्षको विशेषज्ञ सेवाको लागि प्रदेश सरकारसँग २ करोड ५० लाख माग गरिएकोमा ५० लाख मात्रै आयो,’ डा. खड्काले भने, ‘मागेको २० प्रतिशत अर्थात ५० लाख रकमले दुई महिना मात्रै पुग्यो ।’



चालु आर्थिक वर्षको भदौमै बजेट अभाव भएपनि अस्पतालले विभिन्न स्रोतहरु जुटाएर पुससम्मको तलव सुविधा खुवाएको तर माघदेखि खुवाउन नसकिएको उनको भनाइ छ । 

‘स्वास्थ्यकर्मीको तलव सुविधाको लागि प्रदेश सरकारसँग पटक–पटक माग गरेपनि बजेट आउन सकेको छैन,’ उनले थपे, ‘अहिलेसम्म बजेटको व्यवस्थापन भएको छैन । स्वास्थ्यको क्षेत्रमा मन्त्रालय सचेत भएको बताए पनि बजेट व्यवस्थापन नहुँदा समस्या परेको छ ।’



कर्णाली प्रदेश सरकार गठन भएसँगै विशेषज्ञ सेवा बिस्तार निर्देशिकामार्फत प्रदेशका विभिन्न अस्पतालहरुमा करारमा विशेषज्ञ कर्मचारी राखेको थियो । जसअन्तर्गत प्रदेश अस्पताल सुर्खेतमा मात्रै ५८ जना विशेषज्ञ करार स्वास्थ्यकर्मी छन् । 

प्रदेश अस्पतालमा ३ सय २५ जनाको दरबन्दीमध्ये हाल २ सय ६८ जना मात्रै कार्यरत रहका छन् । जसमा ८७ जना मात्रै स्थायी दरबन्दी हुन् भने १ सय १५ जना करारका कर्मचारीहरु अस्थायी वा करार रहेका छन् ।

पर्याप्त स्वास्थ्यकर्मी नहुँदा अस्पतालमा विभिन्न व्यवस्थापकीय काममा समस्या हुने गरेको अस्पताल प्रशासनले बताएको छ । प्रदेश अस्पतालमा विशेषज्ञ करार सेवा अन्तर्गत चिकित्सक, स्टाफ नर्स, अनमी, हेल्थ असिस्टेन्ट, रेडियोग्राफर लगायतका थुप्रै तहका स्वास्थ्यकर्मीहरु छन् ।

  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार ११:४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया