डढेलोको जोखिममा सुदूरपश्चिमको वन

हरेक वर्ष प्रायः फागुनदेखि जेठ महिनासम्म वन डढेलोको जोखिम रहने गर्दछ । डढेलो नियन्त्रणका लागि चाहिने आवश्यक सामग्री र दक्ष जनशक्तिको अभावका कारण डढेलोबाट हरेक वर्ष सुदूरपश्चिम प्रदेशको वन मासिँदै गएको छ ।

तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा वन अतिक्रमणका कारण भन्दा डढेलोका कारण बढि वन विनाश भइरहेको छ । सामुदायिक वन उपभोक्ता समिति, कैलालीका अध्यक्ष डण्डिराज सुवेदीले डढेलोका कारण बर्सेनि वन क्षेत्र मासिँदै गइरहेको बताए ।

उनले भने, ‘वन क्षेत्रमा डढेलो लागेपछि नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री र दक्ष तथा तालिमप्राप्त जनशक्तिको अभाव भएका कारण बर्सेनि ठूलो नोक्सान भइरहेको छ ।’

विपद् जोखिम नियन्त्रणका लागि अति जोखिम, जोखिम र न्यून जोखिम क्षेत्र पहिचान गरि त्यस अनुसार नियन्त्रणका लागि कार्यक्रम तय गरिन्छन् । डढेलोलाई सरकारले विपद् माने पनि त्यसअनुसार तयारी भने गर्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले भने, ‘हामीले कुन क्षेत्र कति जोखिममा रहेको छ । त्यो बारे पहिचान गरेका छैनौं र यसबारे अध्ययन पनि भएको छैन ।’

उनका अनुसार मन्त्रालय र मातहतका कार्यालयहरूले जनचेतना मुलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छन् । नौ वटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्ला डढेलोको उच्च जोखिममा रहेका छन् । कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीको वन क्षेत्र डढेलोको जोखिममा छन् । 



सूचना अधिकारी श्रेष्ठले भने, ‘हिमाली क्षेत्रमा सुख्खा कम हुँदा डढेलोको जोखिम पनि कम रहन्छ ।’ प्रदेशमा १० लाख १९ हजार आठ सय ७५ हेक्टर क्षेत्रफल वन क्षेत्रले ओगटेको छ । गर्मीयाम सुरु भएसँगै यसवर्ष डढेलोको थप जोखिम बढेको जनाइएको छ । उनले मन्त्रालय र मातहतका कार्यालयले डढेलो लाग्न नदिन नै प्राथमिकताका साथ लागिरहेको बताए । 

प्रदेश वन तथा वातावरण मन्त्रालयले डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री खरिद र अग्नि नियन्त्रणका लागि भनेर बजेट विनियोजन गरेको छ । मन्त्रालयले सामग्री खरिदका लागि ४८ लाख रुपैयाँ विनियोजन गरेको छ भने विभिन्न जनचेतनामूलक कार्यक्रमका लागि ३९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।



मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले भने, ‘अहिले डढेलो नियन्त्रणका लागि आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढेको छ भने सञ्चार माध्यमबाट प्रचार–प्रसारका कार्यक्रम अघि बढाइएको छ ।’ 

डढेलो नियन्त्रणका लागि जिल्ला तथा स्थानीय स्तरमा जोखिम नियन्त्रण समिति गठन गरि परिचालन गर्ने प्रक्रिया अघि बढाएको जनाइएको छ । मन्त्रालय तथा मातहतका कार्यालयहरूले वन भित्र सुकेका झारलाई एक्ल्याउने, अन्तरक्रिया गर्ने, पर्चा पम्पलेट बाँड्ने, टोली परिचालन गर्ने लगायतका कार्यक्रम अघि बढाउने तयारीमा रहेको जनाइएको छ ।

किन छ डढेलोको जोखिम ?

सुख्खा याममा वन डढेलोको जोखिम हुनु सामान्य हो । तर, यस वर्ष सरकारले ढलापडा रुखहरू पनि संकलन गर्न दिएको छैन । जसका कारण झारपातदेखि ती ढलापडा रुखमा आगोले छिटो समाउँछ । 

यसले गर्दा डढेलोले यसवर्ष जोखिम निम्त्याउने मन्त्रालयले आंकलन गरेको छ । मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले भने, ‘हावाहुरीले रुखहरू ढलेका छन् । त्योसँगै सुकेका पातहरू पनि फैलिएका छन् । सामान्य आगो लागे पनि डढेलो फैलिन्छ । सडक नपुगेको क्षेत्रमा नियन्त्रण गर्न सकिँदैन ।’

डढेलोको मुख्य कारण मानविय गतिविधि नै हो । मानिसले चुरोट खाएर जथाभावी फ्याक्ने, पिक्निकका लागि जाँदा बालेको आगो ननिभाउने लगायतका कारण वनमा डढेलो हुने गरेको छ । 

प्राकृतिक कारणले न्यून रुपमा वनमा डढेलो हुने गरेको वन विज्ञ रमेश चन्द बताउँछन् । उनले भने, ‘प्राकृतिक भन्दा पनि मानवकै कारण वनमा डढेलोको जोखिम बढी हुन्छ ।’ 

तराईमा बढि जोखिम 

कैलालीमा गत वर्ष कुल क्षेत्रफलको ४० प्रतिशत वन क्षेत्रमा डढेलो फैलियो । गत वर्ष धेरै गर्मी नभएका कारण वन क्षेत्रमा डढेलोले धेरै नोक्सान गर्न पाएन र समयमै नियन्त्रणमा आएको थियो । तर, यस वर्ष यहाँ थप जोखिम रहेको छ ।

मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले भने, ‘वन अतिक्रमण गरेर मानिस बसेका छन् । जहाँ मानव वनसँग जोडिन्छ त्यहाँ डढेलोको जोखिम हुन्छ ।’ आर्थिक वर्ष २०७५/७६ मा डढेलोका कारण ४० प्रतिशत वन सखाप भएको थियो ।

 

  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १३:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया