हरेक वर्ष नेपालीले कति खाना खेर फाल्छन् ? तथ्यांकसहित

हरेक वर्ष भोकमरीका कारण विश्वमा करिब ९० लाख भन्दा बढीको ज्यान जान्छ । नेपालका पनि हिमाली र सुख्खा क्षेत्रमा हरेक वर्ष खाद्यान्न अभावको समाचार सुन्दै आएका छौं । 

तर, हुने खाने परिवारले हरेक वर्ष कति खाना खेर फाल्छन् ? सुन्दै अचम्म लाग्दो छ । यदि खेर जाने खानालाई मात्र रोक्न सकिने हो भने, नेपालमा पनि कोही कसैले भोकमरीबाट प्रताडित बन्नुपर्दैन । 

यूएनले हालै एक रिपोर्ट सार्वजनिक गरेको छ । जसमा विश्वमा कति खाना खेर जान्छ भन्ने उल्लेख गरिएको छ । सन् २०१९ मा गरिएको अध्ययनको रिपोर्ट हालै सार्वजनिक गरिएको हो । 

जसमा विश्वका सबै देशका नागरिकले औषतमा कति खाना खेर फाल्छन् भन्ने सूची उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार हरेक नेपालीले एक वर्षमा करिब ७९ किलो खाना खेर फाल्छन् । यो दर भारत र चीनको भन्दा पनि उच्च हो । 

जहाँ वर्षमा नेपालमा २२ लाख ४९ हजार चारसय १२ टन खाना खेर फाल्दछन् । यति धेरै खानाले नेपालका खाद्यान्न अभाव हुने ठाउँमा वितरण गर्न सकेमात्रै खाद्यन्न अभावको समस्याबाट मुक्त हुन सकिन्छ । 



यस्तै, रिपोर्टमा सबै देशको तथ्यांक उल्लेख गरिएको छ । दक्षिण एसियामा सबैभन्दा बढी अफगानिस्तानका मानिसले खाना खेर फाल्दछन् । त्यहाँका हरेक नागरिकले एक वर्षमा करिब ८२ किलो खाना खेर फाल्छन् । हरेक वर्ष देशभरमा जम्मा ३१ लाख ९ हजार एकसय ५४ टन खाना खेर फाल्दछन् ।

त्यसपछि भुटानका नागरिक हरेक व्यक्तिले एक वर्षमा ७९ किलो, श्रीलंकाली नागरिकले ७६ किलो, पाकिस्तानका नागरिकले ७४ किलो, इरान र माल्दिभ्सका नागरिकले एक जना बराबर ७१ किलो, बंगलादेशकाले ६५ किलो र भारतका नागरिकले ५० किलो हरेक व्यक्तिबराबर खाना खेर फाल्ने गरेको यूएनको रिपोर्टमा उल्लेख छ । 



रिपोर्टमा विश्वभरमा सन् २०१९ मा करिब ९० करोड टन खाना खेर गएको उल्लेख छ । जो कूल खानाको करिब १७ प्रतिशत भन्दा बढी हो । उक्त रिपोर्टमा विश्वभरका मानिसलाई खाना खेर फाल्न रोक्न सके मात्रै पनि भोकमरी भएका देशका लागि पर्याप्त हुने सुझाव दिइएको छ । 

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम र साझेदार संगठन डब्लुआरीले ‘खाद्यान्न बर्बादी सूचकांक रिपोर्ट–२०२१’ जारी गरेको हो । यस रिपोर्टमा एकातर्फ जहाँ विश्वको आवादीको एक हिस्सा भोकमरीसँग जुधिरहेको र दोस्रोतर्फ करोडौं टनका हिसाबले खाना खेर गइरहेको बताइएको छ । 

कुल खेर जाने खानामध्ये जसमा ६१ प्रतिशत खाना घरबाट, २६ प्रतिशत फूड सर्भिस र १३ प्रतिशत खुद्रा क्षेत्रबाट खाना खेर गएको छ । एक अनुमान अनुसार खेर गएको खानालाई ट्रकमा भर्ने हो भने, ४० टन क्षेत्रमा भएका दुई करोड ३० लाख भरी ट्रक बराबर हुन्छ । 

यस्तै, अमेरिकाका एक नागरिकले हरेक वर्ष करिब ५९ किलो खाना खेर फाल्ने गरेको रिपोर्टमा बताइएको छ । यूएनइपीका कार्यकारी निर्देश इन्गर एडन्सनले भने, ‘यदि हामी जलवायु परिवर्तन, प्रकृति र जैविक विविधिताको क्षति र प्रदूषण जस्ता संकटबाट बच्न गम्भीर हुने हो भने, विश्वभरका मानिसलाई खाना बर्बाद गर्नबाट रोक्नुपर्छ ।’

रिपोर्टमा २०१९ मा विश्वका ६९ करोड मानिस भोकमरीबाट प्रताडित थिए । कोरोनाका कारण २०२० मा यो संख्या अझै बढ्ने आशंका गरिएको छ । रिपोर्टमा रिटेल आउटलेस, रेस्टुरेन्ट र घरमा खेर जाने खानाको हिसाब राखिएको छ । एक घरमा कूल उपभोग हुने खानाको करिब १० प्रतिशत घरबाट खेर जाने पाइएको छ ।

एडन्सनले खाना खेर फाल्ने प्रवृत्ति रोक्न हरेक व्यक्तिको जिम्मेवारी भएको बताएका छन् । सबैलाई यो अवस्था रोक्न इमान्दारीताका साथ भूमिका निभाउन आग्रह पनि गरेका छन् । यदि सबैले खाना खेर नफाल्ने प्रण गर्नसके विश्वमा हुने भाेकमरीको समस्याबाट पार लाग्न चुनौती नहुने बताएका छन् । एजेन्सीकाे सहयाेगमा
 

  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १५:५८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया