१२ दिन बिते पनि अझै भेटिएनन् झा दम्पती

महोत्तरीका मुसाफिर झा र श्रीमती गीतादेवी झा बेपत्ता भएको १२ दिन बितेको छ । प्रहरीले खोजबिन तीव्र बनाएको भनिए पनि अझैसम्म कुनै सुइँको समेत पाउन सकेको छैन । 

महोत्तरीको पिपरा गाउँपालिका ५ सहोडबाका झा दम्पती फागुन ११ गते सोमबार राति घरमै सुतिरहेको ओछ्यान सहित बेपत्ता भएका थिए । उक्त घटनामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिई सोधपुछ जारी राखेको छ । बेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन्द्र ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको हो । 

यस सम्बन्धमा प्रदेश २ का प्रहरी नायब महानिरीक्षक (डिआइजी) धीरजप्रताप सिंहले खोजबिनका क्रममा फागुन १४ गते एक पोखरीमा दम्पतीले प्रयोग गर्ने दुइटा झुल बरामद भएपछि मारेर पोखरीमै फालिएको हुनसक्ने आशंका गरेका छन् । उनले हालसम्म सर्च अभियान अन्तर्गत महोत्तरी र धनुषाका ५० भन्दा बढी पोखरीमा जाल फालेर छान्ने, ‘बोटिङ्ग’ मार्फत् खोजबिन गर्ने कार्य गरिएको जानकारी दिए ।

उनले भने,‘प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । अहिलेसम्म घटनामा उल्लेख्य कुनै ‘क्लु’ भेटिसकेको छैन, दम्पतीको अवस्था हालसम्म अज्ञात छ । जिउँदो वा मृत कुन अवस्थामा छन् भन्ने कुरातर्फ अनुसन्धान केन्द्रित भएको छ । अहिलेसम्म २५-२६ जनासँग सोधपुछ गरिसकेका छौं । चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

उनले गीताको ओछ्याननजिकै र उनको घरदेखि झण्डै १५ मिटर परसम्म देखिएका रगतका नमुना परीक्षणका लागि काठमाडौं लागिएको बताए । पक्राउ परेका चारै जनाको पोलिग्राफ टेस्ट गरिएको र उनीहरु मध्ये हरेन्द्र र रामबाबुले कतिपय कुरा झुठो बोलेको डिआइजी सिंहले बताए ।

गायव भएका दम्पतीको घरमा अहिले पनि रुवावासी चलिरहेको छ । झा दम्पती अलग–अलग कोठामा सुत्थे । मुसाफिर पुरानो घरमा सुत्थे भने गीता देवी नवनिर्मित पक्की घरमा । नवनिर्मित घरमा ढोका लगाइएको थियो भने झ्यालहरू लगाउन बाँकी नै छ । 



घटनाको प्रकृति हेर्दा घरको पर्खाल नाघेर दुवै दम्पतीलाई ओछ्यानसहित घिसार्दै अपहरण गरिएको प्रहरीले जनाएको छ । गीता देवी सुतेको कोठा वरिपरि रगतका छिटा समेत देखिएको छ । घर पुग्न पिसिसी ढलान गरिएको गल्लीमा समेत रगतका छिटा जस्तै टाटा देखिएका छन् । यसकारण दम्पतीको हत्या समेत भइसकेको हो कि भन्ने प्रहरीको आशंका छ ।



  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १६:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया