अन्तत: नेत्रविक्रम चन्द, मोहन वैद्य र सिपी गजुरेल एकै ठाउँमा
संयुक्त रणनैतिक मोर्चालाई सक्रिय बनाइँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लवको करिब चार वर्ष लामो भूमिगत जीवन टुङ्ग्याइदिएको भोलिपल्टै एउटा संयोग देखिएको छ। त्यो के भने हिजो एकसाथ जनयुद्ध लडेका मोहन वैद्य किरण, सिपी गजुरेल 'गौरव' र नेत्रविक्रम चन्द एकै ठाउँ आइपुगेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरिदिएपछि त्यसविरुद्ध संयुक्त आन्दोलनका लागि गत पुस १४ गते किरण, विप्लव, ऋषि कट्टेल र विश्वभक्त दुलाल 'आहुति' मिलेर रणनैतिक संयुक्त मोर्चा बनाएका थिए। 

जसले पुस १४ यता देशका मुख्य सहरमा संयुक्त प्रदर्शन पनि गरेको थियो। यो मोर्चामै आवद्ध भएपछि विप्लव खुला राजनीतिमा आउने बुझिएको थियो। शुक्रबार राष्ट्रियसभा गृहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग शान्ति प्रक्रियाका लागि एक वर्षदेखि वार्ता भएको खुलासा गरेका थिए। 

वार्ता टोली सदस्य डा. राजन भट्टराईले साउन/भदौमा गम्भीरतापूर्वक अघि बढेको वार्ता बीचमै भाँडिएर फेरि मंसिरदेखि गति लिएर शुक्रबार भएको ३ बुँदे सहमतिमा टुंगिएको जानकारी दिएका थिए। विप्लवले सरकारसँग वार्ता अघि बढिरहेका बेला खुला राजनीतिमा आउने माध्यमका रूपमा रणनैतिक संयुक्त मोर्चालाई पनि उपयोग गरेका थिए।

जनआधार कमजोर भएका किरण, आहुति र कट्टेल सडकमा निस्किँदा विप्लवले आफू समर्थक नेता कार्यकर्तालाई उनीहरुको साथ लगाएर सडकमा उतारेका थिए। विप्लवले एकातिर यो प्रयास गरिरहेका थिए भने सरकारसँग भित्रभित्रै वार्ता पनि गरिरहेका थिए। प्रधानमन्त्रीको निर्देशन अनुसार खटिएका गृहमन्त्री रामबहादुर थापा बादलले विप्लवनिकट नेताहरुसँग मन्त्री निवाससहित विभिन्‍न स्थानमा पटक पटक वार्ता गरेका थिए। 



सरकारसँगको वार्ताले निचोड लिँदै गर्दा रणनैतिक संयुक्त मोर्चामार्फत आफ्ना नेता कार्यकर्तालाई सडकमा उतारेका विप्लव अन्तत: शुक्रबारदेखि आफैं खुला राजनीतिक मैदानमा होमिएका छन्। 



उनको यो कदमलाई प्रधानमन्त्रीले साहसिक र बहादुरीपूर्ण भन्दै विप्लव कुशलतापूर्वक पौडिन सक्ने टिप्पणी गरेका थिए। 'एउटा कार्यदिशामा अघि बढिरहेका कार्यकर्तालाई अर्को कार्यदिशामा मोड्न जोकसैले सक्दैन', प्रधानमन्त्रीले भनेका थिए, 'विप्लवजीले एउटा साहसिक निर्णय लिनुभएको छ। मलाई विश्वास छ, उहाँ कुशलतापूर्वक खुला राजनीतिमा पौडेर उत्रिन सक्नुहुनेछ।'

तीनैजना एकै ठाउँ 

पुस १४ माग गठित संयुक्त रणनैतिक मोर्चाले त्यसयता प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदमविरुद्ध सडक प्रदर्शन गर्यो। प्रतिनिधिसभा पुन:स्थापित भइसकेपछि पनि त्यो मोर्चा अझै क्रियाशील छ। 

उक्त मोर्चाको बैठक शुक्रबार मात्रै खुला राजनीतिमा आएका विप्लवको उपस्थितिमा अहिले काठमाडौंमा बसिरहेको छ। त्यस बैठकमा हिजो प्रचण्डसँग जनयुद्धका तीन सारथि वैद्य, विप्लव र गजुरेल भेट भएका छन्। वैद्य र विप्लव रणनैतिक मोर्चाका सदस्य हुन् भने त्यसमा गजुरले पनि जोडिन पुगेका छन्। उनीहरु तीनसहित कट्टेल र आहुतिको समेत उपस्थितिमा मोर्चाको बैठक बसेको हो। 

यो मोर्चालाई उनीहरु एउटै शक्ति भएर अघि बढ्ने आधारका रुपमा उपयोग गर्ने रणनीति उनीहरुले बनाएका छन्। अर्थात्, उनीहरु भोलिका दिनमा एउटै पार्टी खडा गरेर वैकल्पिक कम्युनिष्ट शक्तिका रुपमा देखिन सक्ने छन्। सत्तारुढ नेकपा दुई चिरा भएको अवस्थामा खुला राजनीतिमा आएका विप्लव पनि शक्ति आर्जन गरेर अन्य दललाई चुनौती दिने योजनामा छन्। 

यही रणनीति अनुसार विप्लवले सबैभन्दा पहिले प्रचण्डतर्फ लागेका नेता कार्यकर्ता आफूतिर तान्ने गरी प्रारम्भिक रणनीति तय गरेको उनीनिकट एक नेता बताउँछन्। यो रणनैतिक मोर्चाले करिब २ महिना एउटै व्यानरमुनि आफूलाई सक्रिय बनाएकाले यसलाई अझै प्रभावकारी बनाउने गरी आजको बैठक राखिएको दाबी सहभागी एक नेताले गरेका छन्। 

संयुक्त रणनैतिक मोर्चाको बैठकमा जुटेका वैद्य, विप्लव र गजुरेल २०६९ सालदेखि टाढिन थालेका थिए। त्यसयता वैद्य नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), गजुरेल देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र विप्लव भूमिगत बसेर नेपाल कम्युनिष्ट पार्टीलाई हाँकिरहेका थिए। यी तीनैजना शनिबार संयुक्त रणनैतिक मोर्चाको फोरममा एकै ठाउँ भएका हुन्। 

कसरी छुटेका थिए?

१० वर्ष जनयुद्ध लडेको माओवादी २०६९ सालमा आएर विभाजित भएको थियो। त्यसबेला मोहन वैद्य, रामबहादुर थापा बादल र नेत्रविक्रम चन्द विप्लवसहितले प्रचण्डको साथ छाडेर नयाँ समूह बनाएका थिए। २०७२ असोजमा आएर डा. बाबुराम भट्टराईले पनि प्रचण्डलाई छाडेर नयाँ शक्ति पार्टी बनाए। 

त्यसबेला वैद्यले पार्टी विभाजन रोक्न खोजे पनि विप्लव र बादल प्रचण्डसँग बस्न मानेन्। विभाजित पार्टीको नेता वैद्य भए। १० वर्षे जनयुद्ध एकसाथ लडेका प्रचण्ड, वैद्य, बाबुराम, बादल, गजुरेल र विप्लवको अहिले छुट्टाछुट्टै राजनीतिक समूह छ। बादल अहिले ओली समूहमा पुगेका छन्। यस्तोमा वैद्य र गजुरेल सबैभन्दा कमजोर समूह बनेका छन्। जनयुद्ध सँगै लडे पनि उनीहरूबीच राजनीतिक वैचारिक कुरामा भइरहने चर्को विवादले नै विभाजन ल्याइदियो।

विप्लवले यसरी छाडे

२०६९ असार २ मा वैद्य, गजुरेल, बादल, नेत्रविक्रम चन्दहरूले राजधानीको बौद्धमा राष्ट्रिय भेला गरेर नेपाल कम्युनिस्ट पार्टी–माओवादी घोषणा गरे। त्यससँगै जनयुद्ध लडेको माओवादी विभाजित भयो। अनि प्रचण्ड एक्लिँदै गए। त्यसकै कारण २०७० को संविधानसभा निर्वाचनमा माओवादी नराम्ररी पछारियो।

बौद्ध भेलामा पार्टी विभाजनका एकजना सूत्रधार विप्लव नै थिए। २०६९ असार ५ गते प्रचण्डलाई पेरिसडाँडामा छाडेर वैद्यको नेतृत्वमा बादल, विप्लवलगायत बुद्धनगरतिर हिँडे।

त्यसदेखि २०७१ मङ्सिर ७ सम्म विप्लवले वैद्यलाई साथ दिइरहे। तर पार्टी बनेको दुई वर्ष बित्दा पनि वैद्यले एकीकृत जनक्रान्तिको आधार तयार गर्न नसकेको आरोप विप्लवले लगाइरहे। विप्लवले त्यसबेला वैद्य यथास्थितिमा फसेर प्रचण्डलाई छाड्नुको औचित्य पुष्टि गर्न नसकेको आरोपसहित विप्लव अर्को बाटो लागे। २०७१ मंसिर ८ गते विप्लवले वैद्यलाई पत्र बुझाएर अलग बाटो रोजेको खबर सुनाए।

वैद्य र बादलको साथ छाडेका विप्लवले नेकपा माओवादी गठन गरे। उनले जनयुद्धको उद्‍गम थलो रोल्पाको थवाङमा महाधिवेशन गरे। उक्त आठौँ महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा झुन्डिएको ‘माओवादी’ शब्द झिकेर नेकपा कायम गरे। त्यसयता एकीकृत जनक्रान्तिको कार्यदिशा लिएका उनले हाललाई शुक्रबारबाट विश्राम लिएर खुला राजनीतिमा आएका छन्। 

विभिन्न फौजी गतिविधि गरेर दुई वर्षमा आफ्ना १६ कार्यकर्ता गुमाएका विप्लवले तत्काललाई शान्तिको बाटो रोजेसँगै वैद्य र गजुरेलसहितसँग मिलनको सम्भावना बढेको हो। त्यसो त उनले दुई नेतासँग सम्वाद गर्नुअघि बादलसँग वार्ता गरिसकेका छन्। 

  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १७:४९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया