मेलम्चीको पानी आएपछि ओलीले भने : लड्डु यस्तो बेला खाने हो नि!

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एक पटक पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन्। बहुप्रतिक्षित मेलम्चीको खानेपानी सुन्दरीजलमा झरेपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले दाहाल-नेपालमाथि कटाक्ष गरेका हुन्।

फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापित गरिदिएपछि प्रचण्ड-नेपालले चितवनमा रहँदा लड्डु खाएर खुसी साटेका थिए। सोही प्रसङ्गलाई लिएर ओलीले कटाक्ष गर्दै भने, 'जतिबेला पायो त्यति बेला लड्डु खाने होइन, यस्तो बेला खाने हो नि! खुसी त यस्तो बेला हुनुपर्छ।' 

उनले लामो प्रतीक्षापछि मेलम्चीको पानी सुन्दरीजलमा झारिएको बताए। 'ठूलो मिहिनेतपछि मेलम्चीको पानी काठमाडौंमा आइपुगेको छ। कोसी ब्यारेज हुँदै बग्ने पानी अब बागमतीमा बग्ने छ। बागमती प्रदेश हुँदै यो पानी प्रदेश २ मा पुग्नेछ।'

उनले सम्बोधनका क्रममा सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राईको प्रशंशा गरे। 'मलाई सम्झना छ, शेरबहादुर तामाङजीले हाम्रो चेली काठमाडौंलाई दिँदैछौँ भन्नु भएको थियो', उनले भने, 'यो पानीले काठमाडौंको तिर्खा मात्रै मेट्दैन, अब बागमती नदी पनि शुद्ध हुन्छ। अबको शिवरात्रिमै हामी नुहाउने गरी बागमती सफा बनाउँछौँ।'

नेपालको इतिहासमा पहिलो पटक डाँडापारिको अर्कै खोलाको पानी डाँडा छिचोलेर आएर प्रयोग हुन लागेको उनले बताए। उनले आफू फागुन १० गतेदेखि देश विकासको काममा लागेको लाग्यै रहेको बताए।

'म यसअघि माधव-प्रचण्डले काम गर्न दिएनन् भनिरहेको थिएँ', उनले भने, 'तपाईंहरुले देख्नु भयो नि! काम गर्न नदिएको अब त प्रमाणित भयो नि!' 





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १८:३९:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया