चैत दोस्रो सातादेखि काठमाडौंका घर घरमा मेलम्चीको पानी
सुरुङबाट सुन्दरीजलमा आइपुग्यो पानी

सरकारले आगामी चैत दोस्रो सातादेखि काठमाडौंबासीका घर घरमा सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको पानी वितरण गर्ने भएको छ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा हालिएको पानी सुन्दरी जल आइपुगेपछि आगामी चैत दोस्रो साताबाट वितरण तयारी गरिएको हो।

शनिबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर मेलम्चीको पानी सुन्दरीजलमा खसाले। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मणिचन्द्र थापाले आगामी चैत दोस्रो सातादेखि काठमाडौंबासीको घरमा मेलम्चीको पानी वितरण गरिने बताए। 

'काठमाडौंमा मेलम्चीको पानी प्रवेश गरेको यो क्षण साँच्चिकै गौरवमय छ। हामीलाई यो सपना पूरा गर्न २२ वर्ष लागेको छ', उनले भने, 'यी २२ वर्षमा काठमाडौंबासीले धैर्यता देखाए। कृष्णप्रसाद भट्टराईको पालामा सुरु भएको आयोजना केपी ओलीको पालामा सम्पन्न हुँदैछ।'

उनले सबैको अथक मिहिनेत र टिम स्परिडका कारण पानी आएको बताए। 'सुरुङको सफल परीक्षणले चैत दोस्रो सातादेखि मेलम्चीको पानी खाने उपत्यकाबासीको सपना पूरा भएको छ', उनले भने, 'आवश्यक परीक्षणपछि हामी वितरणको चरणमा जानेछौँ।'

गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो। त्यसअघि तत्कालीन खानेपानी मन्त्री बीना मगरका पालामा गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो। तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालक बगाएको थियो। 





  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १८:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया