केपीको जन्मदिनमा प्रतिनिधिसभा फर्कियो, माधवको जन्मदिनमा नेकपा खारेज भयो

पुस पाँच गते संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने तयारी हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरे। सत्तारुढ नेकपाभित्र चुलिएको विवाद संसद् विघटनपछि विभाजनसम्म पुग्यो 

अन्ततः पार्टी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेता कार्यकर्ताहरूले ओलीविरुद्ध मोर्चा बन्दी गरेर सडक संघर्ष चर्काए। यसले नेकपा व्यवहारिक रुपमा दुई समूहमा बाँडियो।

आधिकारिक रुपमा पार्टी नफुटे पनि दुई समूहमा विभाजित भयो नेकपा। संसद् विघटनविरुद्ध सर्वोच्चमा मुद्दा पर्यो। करिब एक महिना लामो समयको बहसपछि फागुन ११ गते सर्वोच्चको फैसला आयो।

जतिबेला नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली आफ्नो जन्मदिन मनाउँदै थिए। केक काट्ने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई सर्वोच्चको फैसलाले ठूलै धक्का दियो।

सर्वोच्चले संसद् पुनःस्थापनाको फैसला गरे पछि हिजो कम्युनिष्ट आन्दोलनलाई बृहत रुप दिने भनेर सँगै हिँडेका नेपाल–दाहालले ओलीविरुद्ध आएको त्यो फैसलाका कारण खुसीयाली मनाए। 

अघिल्लो पटक प्रधानमन्त्री हुँदा नाकाबन्दीविरुद्ध कडा अडान लिएर नेकपा एमालेलाई पहिलो पार्टी बनाएका ओलीले कम्युनिष्ट आन्दोलनलाई बृहत् बनाउने भन्दै निर्वाचनमा प्रचण्डसँग गठबन्धन गरे। २०७४ को निर्वाचनमा गठबन्धनले बहुमत ल्यायो। त्यसपछि २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादीले एकता गर्दै नेकपा बनाए। 



ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा पार्टीभित्र अनेक विवाद उत्पन्न भए। ओलीले मनलाग्दी गरेको भन्दै एकीकरण प्रक्रिया पूरा नहुँदै नेकपाभित्र ठूलै विवाद उत्पन्न भयो। जसको फलस्वरुप दाहाल–नेपाल आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा लाग्न बाध्य भए। 

फागुन ११ गते आएको सर्वोच्चको फैसलाले देशभरिमा माधव–प्रचण्ड समूहका नेता कार्यकर्ताले दिप प्रज्वलन नै गरे। जन्मदिनको दिन नै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चको फैसला आएको भन्दै सामाजिक सञ्जालमा निकै चर्चा भयो। कतिले ओलीप्रति व्यङ्ग्य गर्दै लेखे, ‘जन्मदिनमा ओलीलाई सर्वोच्चको उपहार, संसद पुनःस्थापना’। 



त्यही दिन प्रचण्ड र माधव नेपालले संसद् पुनःस्थापना भएको खुसीयालीमा लड्डु बाँडे सबैलाई। आज फेरि सर्वोच्चले अर्को त्यस्तै खालको फैसला सुनाएको छ। फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएको छ। ऋषि कट्टेलको नेकपाले मान्यता पाउँदै गर्दा २०७५ जेठ ३ गते जन्मिएको नेकपा खारेजीमा परेको छ। 

सर्वोच्चको अर्को अर्थपूर्ण फैसला दिँदा फागुन ११ गते ओलीले जस्तै माधव नेपालले पनि आज जन्मदिन मनाइरहेका थिए। प्रचण्डसँग मिलेर ओलीविरुद्ध लागेका नेपालको आज जन्मदिन। संयोग कस्तो भने, ओली र नेपालको जन्मदिनकै दिन सर्वोच्चले यति ठूलो फैसला गरेको छ। फैसला आएसँगै सामाजिक सञ्जालमा ओलीको जन्मदिनमा लड्डु खाएका माधव नेपाल आज आफ्नै जन्मदिनमा आएको फैसलाले के खान्छन्। 

सर्वोच्चको फैसला अनुसार अब नेकपा रहेन। साविककै माओवादी र एमाले कायम हुने भएका छन्। नेकपा एमाले वरिष्ठ नेता र पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल चाहिँ अब कता जान्छन् त ? धेरैको प्रश्न छ। जन्मदिनकै दिन यति ठूलो उपहार पाएको भन्दै माधव नेपालप्रति सामाजिक सञ्जालमा व्यङ्ग्य गर्न थालिएको छ। 

  • प्रकाशित मिति : फागुन २३, २०७७ आइतबार १६:१०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया