माधव-झलनाथसँगको 'राजनीतिक डिभोर्स'पछि एक्लिए प्रचण्ड
नयाँको साथ पाएनन्, बादलसहित पुराना सहयोद्धा पनि गुमाए

शान्ति प्रक्रियापछि नेपाली राजनीतिमा सर्वाधिक सफल खेलाडीको रुपमा चित्रित हुँदै आएका व्यक्ति हुन् पुष्पकमल दाहाल 'प्रचण्ड'। गिरिजाप्रसाद कोइरालापछि नेपाली राजनीतिमा आफ्नो छुट्टै प्रभाव जमाएका पात्र प्रचण्ड नै हुन् भन्दा फरक पर्दैन। 

तर, सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै उनी निकै कमजोर बनेका छन्। उनीनिकट नेताहरुले नै केपी ओलीसँगको झगडाले प्रचण्डलाई झन् कमजोर बनाएको विश्लेषण गर्न थालेका छन्। अदालतले एकीकरण पूर्वको तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई अलग अलग अस्तित्वमा ल्याइदिएपछि प्रचण्डका सहयोगी झनै घटेका छन्। 

दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएपछि नेपाली राजनीतिमा फेरि एकपटक शक्तिशाली बनेका प्रचण्ड एकीकरणको विसर्जन भएसँगै निरीह जस्तै देखिन पुगेका छन्। नेकपाको शक्ति समीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्ल्याएर आफू शक्तिमान बनेका प्रचण्डले तत्कालीन अवस्थामा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र  झलनाथ खनालको साथ पाएका थिए। 

तर, अदालतले एकीकरण पूर्वकै अवस्थामा पुर्याइदिए पछि अहिले प्रचण्ड एक्लिएका छन्। एमालेतर्फको ठूलो समूहलाई आफूतर्फ राखेर शक्ति सन्तुलनमा अगाडि देखिएका प्रचण्ड एकीकरण विसर्जन भएपछि माओवादी पृष्ठभूमिकाले पनि छोड्दा कमजोर बनेका हुन्। 

अदालतको फैसलापछि पूर्वएमाले सबै एकैठाउँमा जम्मा भएका छन्। पेरिसडाँडामा सोमबार अन्तिम स्थायी कमिटी बैठक बसेर नेपाल, खनाललगायतका नेताहरु बिदा भए। तर, नेकपाको समीकरणमा ओली समूहमा लागेका पूर्व माओवादीका प्रभावशाली नेताहरु ओलीसँगै बसेपछि प्रचण्ड झनै एक्लिएका हुन्।

फागुन २३ गते अदालतले अलग अलग बाटो लाग नभनुञ्जेल प्रचण्ड समूह नेकपाको बहुमतमा थिए। तर, ऋषि कट्टेलले नेकपा आफ्नो बनाएसँगै प्रचण्डले खनाल-नेपालको साथ गुमाए। सँगसँगै माओवादीकै प्रभावशाली नेता रामबहादुर थापा बादलसहितका नेताको पनि साथ गुमाएका छन्।  



अदालतको फैसलापछि पनि पूर्व माओवादीका नेताहरु बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरीलगायतका नेताहरु ओलीसँगै एमालेमा बसेका छन्। मणि थापाले त जुनसुकै अवस्थामा ओलीको साथ नछोड्ने सार्वजनिक अभिव्यक्ति नै दिइसकेका छन्। 

छ महिने प्रचण्ड-माधव गठबन्धन



पार्टी एकीकरणपछि सुरुवातमा प्रधानमन्त्री ओलीसँगै निकटतामा रहेर प्रचण्डले शक्ति बाँडफाँटमा नेपाललगायतका नेतालाई कर्नर पार्न ओलीलाई नै सघाए। तर, बिस्तारै ओलीले एकलौटी गर्न थालेपछि बल्ल प्रचण्डले नेपाल, खनाललाई सम्झिए। ओलीले दोस्रोपटक किड्नी फेरेर आएपछि बल्ल प्रचण्ड ओलीसँग सजग हुन थाले। 

त्यसपछिको बैठकमा ओलीसँगै रहने गरेको प्रचण्डको कुर्सी तल्लो लहरमा झरेसँगै ओली र प्रचण्डबीच सम्बन्धमा दरार उत्पन्न भयो। जुन कालान्तरमा आरोप प्रत्यारोप र फुटसम्मै पुग्यो। जसकारण करिब ६ महिनाअघि प्रचण्ड र माधवबीच मोर्चाबन्दी मात्रै होइन, एउटै पार्टी सरह सहकार्य सुरु भएको थियो।

धुम्बाराही बैठकबाट अघि बढेको उक्त सहकार्य विभिन्न चरणमा भएका खुमलटार, कोटेश्वर र पेरिसडाँडा बैठकमा अझ प्रगाढ बन्यो। ओलीसँग कहिले मौखिक त कहिले लिखित रूपमा फरक मत राख्दै प्रचण्डसँगको निकटता झन् बढ्यो नेपालको। ओलीविरुद्ध दुई नेता गोप्य वार्तामा पनि सरिक भए। झम्सिखेलको अगेनो रेस्टुरेन्टमा भएको एउटा संवादले दुई नेताबीच मोर्चा बनायो। त्यसमा झलनाथ खनाल पनि सहभागी भए।

पुस ५ को कदम

विभिन्न आरोह अवरोहबीच प्रधानमन्त्री ओली करिब एक्लो अवस्थामा पुगेको देखिएपछि प्रचण्ड-माधव समूह उनीविरुद्ध अविश्वासको प्रस्ताव बोकेर संसद सचिवालयमा पुग्ने वातावरण बन्यो। जसको प्रतिउत्तरमा ओलीले संसद नै भंग गरिदिए। 

पुस ५ गते ओलीको प्रस्तावमा मन्त्रिपरिषद्ले संसद विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्यो। त्यसपछि पार्टीमा रहेको दुई धार औपचारिक विभाजनको चरणमा प्रवेश गरे। प्रचण्ड-माधव समूह प्रतिगमन भन्दै सडकमा ओर्लियो भने ओली बचाउमा लागे। 

त्यसलगत्तै पुस ७ गते बबरमहल बैठकले माधव नेपाललाई नेकपाको अध्यक्षमा चयन गर्यो। त्यसपछि प्रचण्ड-माधव साथसाथै भए। उनीहरुले बोल्ने मञ्चदेखि भाषासम्म एउटै हुनपुग्यो। दुई नेताबीच गहिरो दोस्ती देखियो। त्यसलाई प्रमाणित गर्न नेपालले आफूहरु जनयुद्धकालमा नै सम्पर्कमा रहेको र विचार मिलेको सम्म भने। 

पार्टीको आधिकारिकता दावीदेखि माइतीघर मण्डलामा हामी यहाँ छौँ भनेर बस्दासम्म प्रचण्ड शक्तिशाली देखिएका थिए, नेपालको पूर्ण साथका कारण। उनीहरुले ओलीको विरोध, सर्वोच्चलाई दवाव र आयोगलाई धम्कीपूर्ण शैलीमा आफूहरु आधिकारिक भएको भन्दै सबै मुद्दामा सँगै रहेका थिए। 

अदालतद्वारा संसद फिर्ता

यहीबीचमा अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदियो। त्यसपछि चितवनमा रहेका प्रचण्ड-माधवले एकअर्कालाई जितको खुसीमा लड्डु नै खुवाए। अबिरे जात्रा पन निकाले। चोकचोकमा बत्ती बालेर प्रदर्शन गरे। 

अदालतको फैसलासँगै प्रचण्ड-माधव समूहको मनोबल ह्वात्तै बढ्यो। सबैभन्दा शक्तिशाली प्रचण्ड बन्न पुगे। उनीहरुले ओलीविरुद्धको अविश्वास पास गर्ने र नयाँ सरकार बनाउने कसरतमा लागे। कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको अफर बोकेर दुवै नेताले बूढानीलकण्ठमा भेटे पनि।

यो समयसम्म प्रचण्ड सत्तारुढ नेकपामा शक्तिशाली नै थिए। त्यसैले ओलीलाई जसरी पनि हराएरै छाड्नेमा दुवै नेता दृढ थिए। नेपालको पूर्ण साथ पाएकाले प्रचण्डमा त्यो शक्ति भएको पनि विश्लेषणहरु भइरहेका थिए। 

विछोडको कथा

प्रचण्ड-माधव समूह बलियो भएको र ओली सत्ताको आयु सकिएको विश्लेषण भइरहेकै समयमा सर्वोच्चले फागुन २३ गते एउटा राजनीतिक मुद्दा फैसला गरिदियो। जसले प्रचण्डको वरिपरी घुम्ने अवस्थामा रहेको नेपाली राजनीति फेरी ओलीकै पोल्टामा पारिदियो।

अदालतले त्यसदिन नेपाल कम्युनिष्ट पार्टी नाम ऋषि कट्टेललाई दिने र ओली प्रचण्डको नेकपा बदर गरी पुरानै अवस्थामा फिर्ता गर्ने फैसला गरिदियो। अदालतले फेरि एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐनअनुसार गर्न पनि भनिदियो। जसअनुसार साविकको नेकपा एमाले र माओवादी केन्द्रको पुनःस्थापना भयो। 

२३ गते फैसला आउनुअघिसम्म प्रचण्ड-माधव समूह ओलीविरुद्धको अविश्वासको प्रस्ताव संसदमा नलगी बैठकको माहोल हेर्ने र प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्थामा मात्र अविश्वासको प्रस्ताव दर्ता गराउने रणनीतिमा थियो। यसबीचमा संसदीय दलको प्रमुख सचेतकबाट ओलीले हटाएका देव गुरुङको पुनर्बहाली पनि उनीहरुको एजेण्डा थियो। 

तर, संसद सचिवालयमा कानुनी आधार पेस गर्दै लडिरहेको अवस्थामा अदालतले नेकपा पार्टीबारे फैसला गरिदियो। अदालतको एउटा फैसलाले प्रचण्ड–माधवको युगल जोडीलाई ‘डिभोर्स’ गराइदियो। प्रचण्ड माओवादीतिर र माधव पुरानै घर एमालेमा फर्कन बाध्य भए। 

अनि एक्लिए प्रचण्ड !

सर्वोच्चले पुरानै अवस्थामा फर्काइदिएपछि माधव नेपाल र ओली एमालेमा बस्नुपर्ने भयो। प्रचण्ड माओवादी केन्द्रकै नेतृत्वमा फर्किए। तर, यसबीचमा ओली समूहमा लागेका नेताहरु माओवादीमा फर्कने आशामा रहेका प्रचण्डलाई ओली समूहमा लागेका नेताहरुले आफूहरु ओलीसँगै रहने भनेपछि झट्का लाग्यो। 

बलियो साथ पाएको नेपाल समूह एमालेमै रहने भएपछि प्रचण्ड राजनीतिक रुपमा एक्लिएको विश्लेषण हुन थाले। अदालतको फैसलाले एमाले त एकढिक्का नै रह्यो। तर, माओवादी अर्थात प्रचण्डले आफ्ना प्रभावशाली नेता तथा सहयोद्धा गुमाउन पुगे। 

प्रचण्डले अदालतको फैसलामार्फत सुदूरपश्चिमका कुशल कमाण्डर लेखराज भट्ट, मधेशमा प्रभाव जमाएका प्रभु शाह, सुदूरकै प्रभावशाली गौरीशंकर चौधरी, विश्वासपात्र मणि थापासहित सहयोद्धा बादललाई गुमाए। माओवादीको प्रचण्ड नेतृत्वको प्रभावशाली नेताहरु गुमाए सँगै अहिले प्रचण्डको पार्टी संसदमा पनि तेस्रो बन्न पुग्यो। 

अदालतको एउटा फैसलाले प्रचण्डलाई अत्यधिक बहुमतसहितको पहिलो पार्टीको अध्यक्षबाट तेस्रो पार्टीको अध्यक्षमा सीमित गरिदियो। सँगसँगै आफ्ना सहयोद्धाहरु पनि गुमाउन बाध्य बनाइदियो। यससँगै, नेपाली राजनीतिमा सफल खेलाडी सावित भएका प्रचण्ड कमजोर अवस्थामा पुग्न बाध्य भए। 

जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि ओलीले एकपछि अर्का सहयात्री गुमाएका छन्। मोहन वैद्य, सिपी गजुरेल र नेत्रविक्रम चन्द विप्लवलाई प्रचण्डले २०६९ सालमै गुमाए। त्यसबेला साथ छाडेका बादल पार्टीमा त फर्किए तर अहिले आएर ओलीका सहयात्री बनिदिए। अब उनी एमाले उपाध्यक्ष बन्दैछन्। 

अर्कातिर २०७२ मा आएर जनयुद्धका अर्का प्रभावशाली नेता डा. बाबुराम भट्टराईले पनि प्रचण्डको साथ छाडिदिए। एकपछि अर्को हस्तीले साथ छाड्दै गएपछि प्रचण्ड एक्लिएको मात्रै नभएर परिवारका सदस्यलाई मात्रै विश्वास गर्न थालेको आरोप लाग्न थालेको छ। 

  • प्रकाशित मिति : फागुन २६, २०७७ बुधबार १६:०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया