logo-img

‘ओली तिमीले रोक्न सक्दैनौँ मेरो भाषा’
भाषामा प्रतिगमनविरुद्ध नागरिक मार्च

ए मगर, तामाङ, मैथिल, लिम्बु,
ए नेवार लौ
ए उपेक्षित जाति सारा
लड्न लौ तयार हौ 
हैन एकै जातिको यो देश
पेवा कसैको हैन है 
जाति–भाषा मार्नु हो 
रेट्नु घाँटी देशकै !

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाली राजनीतिक वृत्तमा ठूलो तरंग उत्पन्‍न भयो । ओलीको यो कदमले राजनीतिक क्षेत्रसँगै समाजका फरक फरक आयामलाई पनि छुन पुग्यो।

समाजमा पनि यसले विभाजन र विघटन ल्यायो । जनतामाझ पनि विग्रह देखिन थाल्यो। जनता दुई कित्तामा विभाजित भए । एक समूहले ओलीको कदम ठीक भन्दै समर्थन गरे। अर्को समूहले असंवैधानिक भन्दै विरोधमा उत्रिए । यी दुईबीच बलियो हुने होडबाजी नै चल्यो।

जनता दुई खेमामा विभाजित भएका बेला एउटा यस्तो समूह पनि थियो, जो तटस्थ बस्यो । त्यसलाई हामीले नागरिक समाजका रुपमा चिन्‍न सक्छौँ।

नागरिक समाजको एउटा समूह संसद विघटनको विरोधमा पुस ११ गतेदेखि सडकमा उत्रियो । यो समूहले संसद विघटनलाई नै प्रमुख मुद्दा बनाएर सडक आन्दोलन सुरु गरेको थियो। संसद विघटनलाई नागरिक समाजले असंवैधानिक मात्रै भनेन, प्रतिगमन समेत भनेर आन्दोलन चर्कायो। तर उसको आन्दोलन प्रतीकात्मक थियो।

रोकिएन आन्दोलन



नागरिक समाजको नजरमा संसद विघटन मात्रै प्रतिगमन थिएन। उसले समाजका हरेक क्षेत्रको प्रतिगमनविरुद्ध आन्दोलन गर्यो । त्यहीकारण फागुन ११ गते सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि पनि नागरिक आन्दोलन अझै जारी छ।

नागरिक समाजले हरेक क्षेत्रका बेथितिविरुद्ध आवाज उठाइरहेको छ। टुँडिखेल मार्च, टियु मार्च, महिला मार्च, बालुवाटार मार्च, बालाजु-बाइपास मार्च र शुक्रबार मात्रै मातृभाषा मार्च यसका ज्वलन्त उदाहरण हुन्। 



नागरिक समाजले ‘मातृभाषा मार्च’ गरेर राज्यले मातृभाषामाथिको विभेद अन्त्य गर्नुपर्ने आवाज उठायो। उसले सबै मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनु पर्ने भन्दै पुल्चोकदेखि पाटन दरबारसम्म मार्च गर्यो।

मार्चमा उपस्थित प्रदर्शनकारीका हातमा विभिन्‍न मातृभाषा लेखिएका ब्यानर थिए। पुल्चोकबाट दिउँसो साढे दुई बजे हिँडेको मार्चका सहभागीले पाटन परिसर नपुग्दासम्म सडकभरी सामाजिक अभियन्ता तथा कवि दुर्गालाल श्रेष्ठको ‘जातिको ज्यान हो भाषा’ शीर्षको कवितालाई नारा बनाए । 

बढ्दो आक्रोश

कार्यक्रमका प्रस्तोता राजेन्द्र महर्जनले आ-आफ्नो भाषामा कविता तथा मन्तव्य प्रस्तुत गरिदिन एकपछि अर्को गर्दै कवि तथा वक्ताहरूलाई बोलाए । 

पहिलो वक्ताका रुपमा मञ्चमा उक्लिएका सामाजिक अभियन्ता तथा ‘नेवा देय दबु’ ललितपुर जिल्ला अध्यक्ष हीराकाजी महर्जनले बालाजुमा नियोजित ढंगले मातृभाषामाथि दमन गरिएको भन्दै आक्रोश पोखे । 

उपत्यका सडक विस्तार विरोधी अभियन्ता सुमन सायमीले मातृभाषा बोलेकै कारण आफूलाई प्रहरीले पक्राउ गरेको भन्दै दुःख व्यक्त गरे। ‘सरकारले हाम्रो भूमि मात्रै लगेन, हामीले नेवा: बोलेकै कारणले गिरफ्तार गर्यो,’ सायमीले गुनासो गरे।

उनले सरकारको अत्याचार बढिरहेको गुनासो गरे।‘यहाँका जनजाति र रैथानेमाथि त यति अत्याचार हुन्छ भने काठमाडौं बाहिरकालाई झन् कति अन्याय होला?,’ उनले अनुमान लगाए।

कार्यक्रममा शोभा सुनुवारले सुनुवार, अंकला बरामले बराम, अन्जु राजवंशीले राजवंशी, मुक्तान थेबाले तामाङ, राकेश बुडाले मगर, सोना याङ्कीले मुगाली, इम्तियाज वफाले र राजभाइ जकःमीले उर्दु भाषाका कविता सुनाए । 

कार्यक्रममा सांसद गोपाल ठाकुरले पनि गीत गाए । ‘हाम् ढोलक हार्मोनियम बजाते रहेँ’ बोलको गीतबाटै ठाकुरले ओलीलाई ठाडो चुनौती दिए । उनले भने, ‘ओली तैँले मेरो भाषा रोक्न सक्दैनस्।’

कार्यक्रममा लक्ष्मी महर्जन देवकोटाले सांकेतिक भाषामा मन्तव्य दिइन् । देवकोटाले सांकेतिक भाषामा बोलेका कुराहरुलाई सहभागीसम्म पुर्‍याउन लक्ष्मी पौडेलले दोभाषेको भुमिका निभाइन् । 

‘सांकेतिक भाषा मात्र बुझ्नेहरूलाई एकदमै गाह्रो छ,’ देवकोटाले सांकेतिक भाषामै भनिन्, ‘हरेक ठाउँमा दोभासे हुन जरुरी छ ।’

सभामा सबैले आ-आफ्नै समुदाय र भाषालाई प्रतिनिधित्व कविता, गीत, मन्तव्य गरे। उनीहरुको भाव एउटै थियो, आशय एउटै थियो-सबै मातृभाषालाई सम्मान गरौँ । 

आज प्रदर्शनकारीले मार्चमा वाचन गरेको दुर्गालाल श्रेष्ठको ‘जातिको ज्यान हो भाषा’ कविताको पुरा अंश ।

जातिको ज्यान हो भाषा

मर्छ भाषा किन त्यसै ए, 
जातिको यो ज्यान हो, 
देश जप्दै नित्य फाल्ने
फूल हो अम्लान यो 

जाति–फूलै फुल्न वञ्चित 
देश यो शमशान हो 
शान्ति पनि आफै छ बोल्दो
यो त केवल भान हो
तर थिचोस् जति नै 
उठ्नु प्रगतिको इतिहास हो,
बाँच्नुको आधार पनि ता हो,
यही विश्वास हो 

ए मगर, तामाङ, मैथिल, लिम्बु,
ए नेवार लौ
ए उपेक्षित जाति सारा
लड्न लौ तयार हौ 
हैन एकै जातिको यो देश
पेवा कसैको हैन है 
जाति–भाषा मार्नु हो 
रेट्नु घाँटी देशकै !

  • प्रकाशित मिति : फागुन २८, २०७७ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया