सीमामा नेपाली यातायात व्यवसायीले नै लुट्छन् नेपाली कामदारको पसिनाकाे कमाइ
फाइल तस्बिर

धनगढीबाट नेपाली यातायात व्यवसायीहरुले भारतको विभिन्न सहरमा सेवा सुविधा दिँदै आएका छन् । भारतीय यातायात व्यवसायीबाट लुटिने, पिटिने गुनासो आएपछि नेपालको धेरै यातायात व्यवसायीले धनगढीबाट भारतको विभिन्न सहरमा सेवा सुरु गरेका हुन् । तर, भारतमा मजदुरी गर्दै आएका नागरिकहरुले नेपालीबाट नै ठगिने गरेको गुनासो गरेका छन् ।

विभिन्न बहानामा यातायात व्यवसायीहरुले दुःख दिने गरेको अछाम बान्नीगढी जयगढ गाउँपालिका–६ बस्ने पदम थापाले बताए । ‘पछिल्लो समयमा धनगढीबाट धेरै यातायात भारतको विभिन्न सहरमा पुग्छन्’, उनले भने, ‘उनीहरुको नियत पनि ठीक छैन् ।’ 

यही फागुन २३ गते भारतको पुनाबाट छुटेको बसमा मध्यप्रदेश र राजस्थान बोर्डरमा चोरी भएको थापाले बताए । पुनाबाट छुटेको ४९५० नम्बरको बागेश्वरी टुर्स ट्राभल्सको बसमा ५ लाख बराबरको सामग्री गाडी चालककै संलग्नतामा लुटिएको उनले आरोप लगाए । उक्त बसमा थापा लगायत ६ जनाको धनमाल चोरी भएको हो । हिक्मत थापा, महेन्द्र विष्ट लगायत ६ जनाको धनमाल चोरी भएको हो । 

‘दिनेश खत्री र विष्णु जोशीले हाम्रो डिलक्स बसमा सुरक्षित साथ धनगढी पुर्याउछौँ भन्दै आफू सञ्चालक भएको गाडी नम्बर ४९५० मा पुनाबाट यात्रा सुरु भएको हो’ बसमा सामान लुटिएका अर्का व्यक्ति हिक्मत थापाले भने । भारतको पुनाकाट गाैरीफण्टासम्मको भाडा १ हजार ६०० रुपैयाँ भारु भएपनि २ हजार ३०० रुपैयाँ लिएको उनले बताए । 

धनमाल चोरी भएको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीलाई समेत जानकारी दिएको नागरिक तथा शान्ति समाज नेपाल संस्थामा कार्यरत मदन साउदले बताए । उनले नेपाली यातायात व्यवसायीबाट पटक–पटक ठगिने गरेको बताए । 

‘भारतको विभिन्न सहरबाट आउने क्रममा नेपालीहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, आर्थिक मानसिक र भौतिक पीडा समेत दिने गरेका छन् ।’ साउदले भने, ‘नेपाली यातायात व्यवसायीबाट यात्रुहरु रुष्ट छन् । यसमा सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।’



धनगढी बसपार्क, भन्सार रोड र दशगजामा रहेको डोके बजारबाट सञ्चालित विभिन्न नेपाली ट्राभल्स एजेन्सीले नै नेपाली कामदारबाट बढी रकम असुल्ने मात्रै नभएर यात्रुलाई बाटोमै अलपत्र पार्ने र ठगी गर्ने गरेका छन् । केही महिना अगाडि धनगढी बसपार्कस्थित बर्ददेवी टुर एन्ड ट्राभल्सको टिकटमा भारतीय बस व्यवसायीले लैजान नमानेपछि नेपाली कामदारबीच बाटोमा अलपत्र परेका थिए ।

भारतबाट आउनेहरु मात्र होइनन्, जानेहरु समेत ठगिने गरेका गुनासाहरु आउने गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । एजेन्सीहरूले बसपार्क र विभिन्न जिल्लाबाट आउने बसहरूमा नेपाली कामदारलाई सम्पर्क गरेर भारत पठाउने गरेको खुलेको उनले जानकारी दिए । 



‘पछिल्लो समय त गाउँगाउँसम्म एजेन्सीहरूले आफ्नो सञ्जाल बिस्तार गरिसकेका छन्,’ डिएसपी बिष्टले भने, ‘उनीहरूलाई नेपालमै टिकटको भाडा उठाएर पठाउने गरेका छन् ।’

विष्टका अनुसार एजेन्सीहरूले यात्रु अरूको सम्पर्कमा नआउन् भनेर होटलमा लुकाएर राख्ने, होटलमै टिकट काट्ने र अर्को दिन सिधै नाका कटाएर बसमा बसाउने गरेको समेत पाइएको छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश नागरिकहरु रोजगारका लागि भारत जाने गरेका छन् । स्वदेशमा रोजगारीको अवसर नपाउँदा बाध्य भएर नेपाली नागरिकहरु भारतमा रोजगारीका लागि जाने गरेका हुन् ।

  • प्रकाशित मिति : फागुन २९, २०७७ शनिबार ११:१३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया