४ महिना बाँकी रहँदा ५८ प्रतिशत बजेट खर्च गर्दै संघीय सरकार

चालु आर्थिक वर्षको ४ महिनामा मात्रै समय बाँकी रहँदा कुल बजेटको ५८.२५ प्रतिशत बजेट खर्च गर्ने सरकारको तयारी रहेको छ । सरकारले चालु आवको ४ महिनामा ७ खर्ब ५८ अर्ब रुपैयाँ खर्च गर्न लागेको हो । विगतका वर्षजस्तै अन्त्यमा आएर बजेट खर्च गर्ने प्रवृत्तिलाई चालु आवमा पनि निरन्तरता दिँदै सरकारले उक्त रकम खर्च गर्न लागेको हो ।

सरकारले चालु आवका लागि कुल १४ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यद्यपि अर्धवार्षिक समीक्षामार्फत् सरकारले बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब रुपैयाँमा झारेको छ । विगत ३ वर्षदेखि कम्युनिस्ट सरकारले बजेट खर्च प्रणालीमा सुधार ल्याइएको दाबी गर्दै आए पनि खर्चको प्रवृत्ति हेर्दा परिणाम भने निकै कमजोर देखिएको छ । 

सरकारी खर्चको अभिलेख राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले नै सरकारी खर्चको अवस्था सन्तोषजनक नरहेको देखाएको छ । चालु आवको ८ महिनामा सरकारले संशोधित कुल बजेटको ४१ प्रतिशत मात्रै खर्च गरेको महालेखाको तथ्यांकले देखाएको छ । बितेको ८ महिनामा कुल संशोधित बजेटमध्ये सरकारले ५ खर्ब ६१ अर्ब मात्रै खर्च गरेको देखिन्छ । यसरी हेर्दा अबको चैत, वैशाख, जेठ, असार अर्थात् (४ महिना) को अवधिमा सरकारले ७ खर्ब ५८ अर्ब खर्च गर्नुपर्ने दायित्व छ ।

८ महिना सकिँदा सरकारले विकास बजेटभन्दा पनि चालु बजेट धेरै खर्च गरेको छ । फागुन मसान्तसम्ममा सरकारले चालुतर्फ ४ खर्ब ७० अर्ब बजेट खर्च गरिसकेको छ भने विकास खर्चको अवस्था गत आवको भन्दा पनि कमजोर छ । गत आवको यस अवधिमा ९२ अर्ब ७७ करोड विकास खर्च गरेको सरकारले चालु आवमा ७९ अर्ब मात्रै खर्च गरेको देखिन्छ ।

यसरी हेर्दा सरकारले अबको ४ महिना अवधिमा चालुतर्फ ४ खर्ब ६४ अर्ब, पुँजीगततर्फ २ खर्ब ९ अर्ब र वित्तीयतर्फ १ खर्ब ९ अर्बभन्दा बढी बजेट खर्च गर्नुपर्नेछ । मध्यावधि बजेट समीक्षामार्फत् सरकारले चालु आवमा कुल बजेट ९१ प्रतिशतभन्दा बढी खर्च हुने बताएको थियो । लक्ष्य भेट्न भए पनि सरकारले आगामी ४ महिनामा ठूलो मात्रामा बजेट खर्च गर्दै छ ।

अर्थविद विश्वम्भर प्याकुरेलका अनुसार आर्थिक वर्षको अन्त्य नै पारेर हुने बजेट खर्च प्रभावकारी हुने गरेको छैन । बजेट लक्षित कार्यक्रमका लागि नीतिगत व्यवस्थापनमा नेतृत्व चुक्दा खर्च सुस्त हुने गरेको उनको बुझाइ छ ।



यता, अर्थ मन्त्रालयका अनुसार आगामी दिनमा बजेटको प्रभावकारी कार्यान्वयन गर्न बजेट कार्ययोजना संशोधनको प्रक्रिया अघि बढिसकेको छ । ‘कार्ययोजना प्रभावकारी कार्यान्वयन लगेर अनुशासित ढंगले बजेट खर्च गरिनेछ,’ बजेट महाशाखाका एक अधिकारीले बताए ।

उनका अनुसार बजेट खर्च दुरुपयोग हुन नदिन अनुगमन तथा मूल्याङ्कनलाई समेत मन्त्रालयले तीव्र पार्दै लगेको छ । चालु आवमा मेलम्ची खानेपानी, सिक्टा सिँचाइ, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र तामाकोशी जलविद्युत् आयोजना सम्पन्न गर्ने गरी नै काम अघि बढेकाले आर्थिक वर्षको अन्त्यमा खर्च बढ्ने अर्थका अधिकारीहरूको भनाइ छ ।



  • प्रकाशित मिति : चैत १, २०७७ आइतबार १५:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया