उपमहानगरकै बासिन्दा आधारभूत सेवाबाट वञ्चित

कैलालीको धनगढी उपमहानगरपालिका १९ को लग्गाभग्गा गाउँका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित छन् । कैलालीलाई खुला दिसामुक्त गरिसक्दा समेत २२ घर परिवारको बसोबास रहेको यो गाउँमा एउटा पनि शौचालय छैन।

खानेपानी, बिजुली, विद्यालय, स्वास्थ्य सेवा, बाटोघाटो केही छैन । ‘यो ठाउँमा बसोबास गरेको २५ वर्ष भइसक्यो, सरकारले केही दिएको छैन’, भलमन्सा दुखीराम चौधरीले भने, ‘यो ऐलानी क्षेत्र हो । २५ वर्षअघि बालुवा नै बालुवा थियो । अहिले खनजोत गरी खेती गर्ने खालको भएको छ ।’ दुखीरामका अनुसार एउटा परिवारले डेढ बिघाका दरले उपभोग गरिरहेका छन् । 

‘गाउँमा विद्यालय छैन, भारत पढ्न पठाउन गाह्रो छ, नेपालतिर नदी पार गर्नै समस्या’, उनी भन्छन्, ‘मोहना नदीमा झोलुंगे पुल बनाइदिए हाम्रा बालबालिकाले स्कुल पढ्न पाउने थिए ।’ यस क्षेत्रमा बलौटे जमिन भएकाले उब्जनी पनि राम्रो हुँदैन । जसले गर्दा यहाँका बासिन्दा भारतमै मजदुरी गर्न जाने गरेका छन् । ‘बालबालिका पनि घरायसी काम गर्न भारत जान्छन्’, स्थानीय जोखोन चौधरी सुनाउँछन् । उनीहरूले उपभोग गरिरहेको जमिन पनि आफ्नो नाममा छैन । वर्षौं हुँदा पनि लालपुर्जा नपाएको उनीहरू गुनासो छ ।

केही समयअघि धनगढी उपमहानगरले एउटा ‘ह्यान्ड पम्प’ जडान गरिदिएको छ । त्यसमा पनि आर्सेनिकयुक्त पानी आउने गरेको जोखोन चौधरीको भनाइ छ । सरकारी कार्यालय धाए पनि कसैले वास्ता नगरेको उनको दुखेसो छ ।

यहाँको जीवनचर्या भारतीय बजारमा निर्भर छ । दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार सुडा जानुपर्छ । उक्त बजार पुग्न दुधवा टाइगर रिजर्भ पार गर्नुपर्छ । ‘सुडा यहाँबाट सात किमि टाढा छ, तीन किमि त जंगलै–जंगल हिँड्नुपर्छ’, स्थानीय ठगनीदेवी चौधरीले भनिन्, ‘फेरि जंगली जनावर उस्तै डर हुन्छ ।’

केटाकेटीलाई पढाउन नपाएको गुनासो स्थानीय बालकिसन पनि सुनाउँछन् । ‘नेपालतिर पठाउन नदीको समस्या भारततिर स्कुल टाढा । हाम्रा छोराछोरी नपढी हामी जस्तै हुने भए’, उनले भने, ‘टाढै भए पनि पठाउन हुन्थ्यो स्कुल भर्ना गर्न रासन कार्ड, नागरिकता वा जन्म दर्ता प्रमाणपत्र चाहिन्छ । हामीसँग केही छैन, कसरी पढाउनू ।’ 



केहीले भने छोराछोरी पढाउनका लागि भारतीय किसानको जमिन अधियाँ जोतेर रासन कार्ड बनाएको उनी बताउँछन् ।

अर्का स्थानीय आइते चौधरी पनि नातिनातिनालाई स्कुल पढाउन नपाएको पीडा सुनाउँछन् । उनका १० जना नातिनातिना छन् ।



यहाँका स्थानीय घरमा शौचालय नहुँदा शौच गर्न सीमापारिको भारतीय जंगलतिर लाग्छन् । ‘घरमा ट्वाइलेट छैन, गाउँमा जंगल पनि छैन, अर्को स्थानीय मनिराम चौधरी भन्छन्, ‘भारततिर जंगल छ, त्यसैले उतै जान्छौँ ।’ मनिराम चौधरीलाई सजिलो लागे पनि लग्गाबग्गाकै मनकुमारी रानालाई भने समस्या हुन्छ । ‘विवाह भएर आउँदा एकदमै गाह्रो हुन्थ्यो । आजभोलि त बानी परिसक्यो, तैपनि कोही मान्छे आउँछन् कि भनेर गाह्रो लागिराख्छ’, मनकुमारी भन्छिन् ।

त्यति मात्रै होइन, जंगली जनावरको पनि डर हुन्छ । जंगलमा शौच बसिरहेका बेला डर लाग्ने गरेको उनी बताउँछिन् । ‘शौच गर्न जाँदा बँदेल, हात्ती भेटिन्छन् । आजभोलि त बाघ पनि देखिन थालेका छन्’, उनी सुनाउँछिन् । बाघ देखिनु पनि स्वाभाविक हो । हिम्मतपुरपारिको उनीहरूले शौच गर्न जाने जंगल भारतको दुधवा टाइगर रिजर्भ हो । यो रिजर्भमा ६९ वटा बाघ रहेको तथ्यांक छ । यहाँ अन्य जंगली जनावर पनि अत्यधिक रहेका छन् ।

उपमहानगरको वडा नम्बर १९ का वडा अध्यक्ष तिलुराम चौधरीले मोहना पारीको क्षेत्र भएकाले समस्या भएको बताए । उनले मोहनामा झुलेङ्गे पुलका लागि पहल भइरहेको बताए ।

  • प्रकाशित मिति : चैत ४, २०७७ बुधबार १५:१९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया